कर्मकल्चर
भ्यानको लुकिङ ग्लासमा मैले चालकका आँखा राता देखेँ। हो कि होइन, फेरि गडेर हेरेँ। रसिला पनि रहेछन्।
मनमा चिसो पसेको मैले आफ्नो पहिलो लहरको सिटका सहयात्री साथीलाई तत्काल भनिनँ।
चालकले ढोका खोलेर आसन लिएपछि हामी परिस्थितिअनुसार मनस्थिति बदल्न व्यस्त भयौं। डिजेल, पेट्रोल, मोबिलको गन्ध नआउने सफा वाहनमा म पहिलोपल्ट राजमार्ग यात्रा गर्दै थिएँ।
कोटेश्वरबाट भक्तपुरतिर रमाना हुनासाथ गाडीको गति हतारको मानिसको मतिजस्तो लाग्न थाल्यो।
'भाइको निद्रा त राति मज्जाले पुग्या होला नि, हगि?' मैले खसखस रोक्न नसकी अगाडि कोल्टिँदै सोधेँ।
उनले एउटा सानो प्याकेट कतैबाट फुत्त तानेर दाँत गाडे। चुच्चो कोतरेपछि एउटा हातले मुखमा तेर्स्याएर क्वाप्प पारे।
कसले बुझेको छैन र निन्द्रा भगाउन उनीहरू कति जुक्ति लगाउँछन्!
'यस्तो ठाउँ रोकिदिनू जहाँ स्वाट्ट कफी घुट्की लाउन पाइयोस् है,' मैले भनेँ।
'भैहाल्छ नि,' उनले ढुक्क पारे।
कोदारी र बिपी राजमार्ग छुट्टीभिन्न हुने दोबाटोनेर हाम्रो भ्यान एउटा क्याफेमुन्तिर अडियो। हातमा कप लिएर पैसा तिर्न वाइफाइ जोड्न लाग्दा कसैसँग मेरो आँखा जुध्यो। नमस्कार, सञ्चै हुनुहुन्छ? के छ खबर? भन्दाभन्दै मैले धुलिखेलको प्रगति सोधेँ।
कसलाई भनुँ कसलाई सुनाउँ भएजस्तो गर्दै उनले खुसी साटे, 'हामी एसियाकै दोस्रो स्वस्थ सहर बन्यौं नि।'
पुरस्कार?
'पाँच हजार डलर।'
विश्व स्वास्थ्य संगठनको भर्खरको घोषणाले हौसिएका ती तन्नेरी थप प्रकाश पार्न खोज्दै थिए, आफूलाई यात्राको हतार थियो। त्यो पहाडी सुरम्य नगरले बाजी मारेको बसोबास योग्यताका सफलताका सूचकहरू भन्न भने उनले भ्याए।
उनलाई त्यस्तो नगरवासी भएकोमा बधाई छ भन्दै तातो कप लिएर भ्यान पुगीवरि चालकसँग खुसामद गरेँ। भ्यान गुड्यो। उनले यात्रुको हात र ओँठ नपोलोस् भनेर खाल्डाखुल्डीबाट जोगिँदै र गति सीमित गर्दै बुझ्झकी सारथीको सूचकांकमा आफ्नो नाम दर्ता गरे।
एक मिनट रोकिँदा पनि कफीसँगै एउटा सूचना भेटियो भनेर म दंग परेको साथीहरूलाई सुनाएँ। तर को हुन् त त्यस्ता प्रसन्न नगरवासी सोध्न बिर्सिएँ।
बिर्सेको होइन, त्यस्तो बेला टाउको कन्याउँदै कता भेटेजस्तो लाग्यो भनी कोट्याउने तरिका नसम्झेको।
कति हुन्छ नि, चिने-चिने जस्तो लाग्छ तर चिनिहाल्न्न सकिन्न र मैले त चिनिन नि भन्न पनि सकिन्न। चिनेको हो तर को हो-को हो भनेर दिमागमा बसिराख्ने व्यक्ति अरू कोही नभएर नगर प्रमुख अशोक ब्यन्जु आफै थिए! (उनको परिचित अनुहारले दिमागमा पछ्याइरहेपछि मैले केही दिनमा गुगल गरी आफूलाई हलुका पारेँ।)
मैले त्यो कुरा सुनाउनु के थियो, मेरो आडमा बसेका साथी, जसले आफ्नो थर नै साथी राखेका छन्, शैलका लागि आफ्नो अभियानकै कुरा उप्काइदिए सरह भयो। सहरहरू कसरी बसोबासयोग्य हुन्छन् भन्ने रनाहाले दीगो विकासको वकालत गर्ने उनी खासमा कारमुक्त काठमाडौंको कल्पनाका लागि कस्सिएका अभियन्ता हुन्।
हाँडीगाउँलाई साताको एकदिन सवारी साधनमुक्त गर्ने अभियानमा हाल बढी सक्रिय रहेका उनी अब कसरी हुन्छ राजधानीभित्रको त्यो प्राचीन राजधानीमा सहरी पर्माकल्चर अभियान सुरू गर्ने सोचमा छन्। समुदाय मिलेर खाली जग्गामा सामुदायिक खेती!
हामी आफै पर्माकल्चर प्रशिक्षणको साताव्यापी शिविरका लागि सिन्धुलीतिर यात्रारत् थियौं।
यी साइकल अभियन्तासमेत रहेका साथी काठमाडौंबाहिर हिँड्दा पैदलै हुन्छन्। जुत्ताचप्पल घरमै छाडेर माटो टेक्न आएका उनका नांगा खुट्टा चल्न थालिसकेका थिए। औंला चलाउँदै मलाई अर्थ्याउँदै थिए, पुराना सहरहरूको मौलिकता फर्काउन सकियोस्, तिनको वास्तुकला होस् कि पाककला वा परिकार, जहाँ समुदायको सामूहिक भावना प्रवर्द्धन गर्न टोल छिमेक मिलेर खेती गर्ने प्रबन्ध बनोस्, ताकि सांस्कृतिक महोत्सवहरू सधैं सुचारू भैरहून्।
केटाकेटीलाई स्वावलम्बन, सिर्जना, संस्कृति र सामूहिकताको शिक्षा सानैदेखि समाजबाटै मिलोस्!
त्यसरी सहरी सोचाइको खाका सुनिरहेको बेला भ्यान चिया खाजाका लागि एउटा कुइनेटामा रोकियो। भिरालोमा नयाँ बनेको टहरा के पक्की घर नै थियो। यात्रुको खान्कीसँगै भ्यान आफै पनि बिजुली पिउने मेसिनमा जोडियो।
खाजाघर होस् कि खानाघर, चार्जिङ स्टेसन अनिवार्य हुँदै गएको राजमार्ग मेरा लागि नौलो अनुभव हुँदै थियो। चालकले भनेअनुसार पेट्रोल-डिजेल गाडीको एकचौथाइ बिजुली खर्चले काम चल्ने इभी धेरै किफायती हो। मर्मत खर्च पूरै बच्छ!
त्यही भएर त यो राजमार्गमा इभी नै इभी देख्नुहुन्छ नि भन्दै उनले थपे, 'ब्याट्री फेर्ने बेला नयाँ गाडी किन्याजस्तो महंगो नहोस् भन्ने मात्र हो!'
'तीनवटा मेसिन राख्नुभएछ, जम्मा कति खर्च लाग्यो नि?' मैले त्यहाँ उभिएर टाठो पल्टिएका कसैलाई सोधेँ।
'घुस छाडेर पन्ध्र लाख,' उनले ठाडै भने।
'घुस?'
'नत्र काम हुन्छ?' उनले मलाई कस्तो उल्लू रहेछ भनेजस्तो दृष्टि दिँदै सोधे, 'नेपालाँ?'
घुसले घर गर्दै आएको देशमा नयाँ प्रविधि भित्र्याउँदा झन् किन महल नबनाओस्! आखिर देशमा घुसखोरी के आर्थिक लुटपाट रोक्न पनि त दीगो संस्थागत पहल भएका छन् र? त्यस्ता पहलबारे जनमानस अवगत छन् र? आश्वस्त छन् र? बरू ठूला घुसले भाषा बदलेर दानको भेष लिएका छन् भन्ने जनता दिनदहाडै सडकमा डुक्रिरहेका हुन्छन्। होइन र?
इभी भ्यानले बिपी राजमार्गलाई बदल्दै गरेको बेला थियो र त्यो हाम्रो यात्रा अस्तिताकको बाढीको विध्वंसभन्दा ठिक्क अगाडि परेको थियो। रोशी र सुनकोशीले गति छाडेपछि त्यस भेगमा जति जन क्षति भयो, त्यति त त्यति झरीले गर्न सक्ने नै होइन। तर खोलाखोल्सी र नदीनालामाथि जारी घुसखोरीजन्य व्यवस्थाले हामीलाई प्रकोपको प्रक्षेपण गर्न नसक्ने बनाइदिएको छ।
प्रकृतिको दोहन र उत्खनन् गर्ने क्रसर कारखानाहरू किन यति साह्रो अन्धाधुन्ध चल्न दिएको, कोही किन नबोलेको भनेर मैले विध्वंसपछि सिन्धुलीका एक साथीलाई सोधेको, जबाफ दिए, 'यस्तै नदीमाथि ज्यादति रोक्न खोज्दा धनुषाका दिलिप महतो टिपरट्रकबाट सहिद भए, त्यसले यस क्षेत्रमा गहिरो असर गरेको छ!'
सडक कति धेरै भत्केको छ भने निशानाशून्य बनेको छ। वरपर कामचलाऊ बाटो उधिनेर जति गाडी चलाउन थालिए पनि सजिलो सडक चाहिने इभी भ्यान फेरि ब्युँताउन भने समय लाग्नेछ।
हाम्रो यात्रा बेला नदी शान्त थियो जसको किनारमा सेताम्मे काँस फुल्न थालेको थियो। फाँटभरि धान खेत हरियाली थियो। (पछि त पाक्नै लाग्दा डुबाइहाल्यो।) मकैका ढोडको कुनिया कति लश्करै थिए भने त्यस्ता आकृति हेर्नुछ भने बिपी राजमार्ग जानू भनेर लेख्ने विचार साँचेको थिएँ!
मेरो सुर्ता भने चालकतिरै थियो। त्यसै त एक लेनको सडक, उसमाथि घुम्ती र घुमाउनी। मैले नसम्झाए उनले गाडी हुत्त्याइहाल्थे।
'तपाईंको हँकाइ तगडा छ, तर मलाई भिडिओ गेम हेर्याजस्तो भएर सम्झाएको है।'
'तपाईंकै लागि मैले ढिलो गरेको छु।'
'यो ढिलो गति हो?'
'यहाँ त टाइम कार्ड लाग्छ नि,' उनले भने। कतै गाडी रोकियो भने चौकीमा टिपोट गराउन गए भन्ने बुझियो। घरि घरि रोक्ने, हाँक्दा भने हुइँक्याउने!
'यो टाइम कार्डको व्यवस्था किन गर्या होला?'
'लोकल पसलहरू चलून् भनेर होला,' उनले भने।
'रमाइलो ठाउँ सुविस्तासाथ हेर्दै जाऊ भनेर हो कि!'
'आज त तपाईंकै कारण म डेढ घन्टा ढिलो हुने भइसकेँ।'
चालकको फोन फेरि बज्यो। उनी कसैसँग च्याँठ्ठिए। कुरा के हो थाहा भएन। एक छिनपछि फेरि फोन बज्यो। उनले घरि सुन्ने घरि सुनाउने गरे। कुरा बुझिएन। आज कता खाना खुवाउने होला भन्ने सोध्नुपर्ने थिएन।
खाना खाने ठाउँ त्यसमा हुन्थ्यो, जहाँ चार्जिङ बुथ खाली थियो। मानिस र मेसिनले बराबर समय लगाएर खायौं।
'खाना मीठो छ, तर लोकल त केही छैन जस्तो छ,' मैले साहुनीसँग काउन्टरमा उभिएर सोधेँ।
'खुर्सानी चैं यतैको हो।'
'अरू कताबाट बेसाउनुभयो त?'
'तराईबाटै हो, सबै आउने।'
'तरकारी पनि गाउँको छैन?'
'अचार चाहिँ होला।'
'माछा नि?'
'तलबाटै आउँछ।'
'नदीमा माछा पाउँदैन?'
'जसले मार्छन् तिनैले खान्छन्।'
'यहाँ धान त राम्रो फलेको देखिन्छ नि।'
'हा, हामी गर्दैनौं,' उनले भनिन्, 'जसले गर्ने हुन् तिनले आफै खान्छन्।'
लोकल पसल चल्छन् तर लोकल माल चल्दैनन् भन्ने निष्कर्ष त्यहाँ निकाल्न जरूरी थिएन। त्यो त तपाईं देशको कुनै पनि दिशा समात्नुस्, कुनै पनि राजमार्ग ताक्नुस्। बिजनेस मोडल एउटै हो!
हामी हेर्दा हेर्दै ऐना उकालो लाग्यौं। ऐना नै ऐना लहरै पहराभरि राखिएको किन हो सोध्नु थियो। मन्दिर बनिसकेको थियो, जहाँ पूजा गर्न गाडी रोकेकाहरू हातमा फूलको थाली समात्दै थिए। ऐना गनिसाध्य थिएन, अर्को साल कति थपिने होलान्!
चालकले भनेअनुसार, राजमार्ग बनेको केहीपछि यो भीरबाट ४६ जना सबैको ज्यान जाने गरी बस खस्यो। कसैले त्यहाँ देवी स्थापना गर्नू, ऐना चढाउनू, नत्र अर्को दुर्घटना हुन्छ भनेको सुनियो, कुनै झाँक्रीले भनेको हुनुपर्छ, नभन्दै अर्को दुर्घटना भयो।
'त्यसपछि यहाँ यो ऐनाको विकास भएको हो,' उनले भने, र फेरि हेर्नुस् न, मन्दिर बनाएयता यो घुम्तीभीरको उकालो सुरक्षित भएको छ।'
ऐनै ऐना पो रहेछ यो हाम्रो... गीत फुर्ला जस्तो हुँदैथ्यो, चालकको फोन फेरि बज्यो।
'थानामा राख्या छ?' उनले चर्को सोधेको हो कि कसैलाई सुनाएको हो बुझिएन। उनलाई फोन आएको हो कि उनको फोनबाट गएको पनि थाहा भएन। तर कुरा आदानप्रदान जारी रह्यो सिन्धुलीगढी उकालोभरि। त्यसपछि सिन्धुलीमाढीतिरको ओरालो लाग्न थालेपछि उनको तनाव केही कम भयो।
'भएको के हो भाइ?'
'साथीको भ्यानले मोटरसाइकललाई हिर्काइदिएछ। ड्राइभरतिर बाटै। हात भाँचेको छ रे।'
हाम्रो लहरपछडि दुई महिला थिए जो अब चालकसँग मिलेर कुरा गर्दै थिए। एउटीले भनिन्, 'भाग्न नहुने।'
'त्यहीँ रोकिएर फोटो खिचेको भए बीमा पाउन सजिलो हुन्थ्यो,' चालकले भने, 'लाइसेन्स पनि बोकेको रहेनछ। बाइकवालाले प्रहरीलाई फोन गरी नम्बर टिपाएको रहेछ, पक्राउ परिहाल्यो।'
'घाइतेलाई धुलिखेल राख्नुपर्ने नि, उपचार सस्तो पर्थ्यो,' महिलाले थपिन्।
'बिएन्डबी पुर्याएछन्, यस्तो मौकामा चौका हान्न्ने त हो,' चालकले सही थापे, 'घाइतेलाई आजन्म हेर्नुपर्ने पनि हुन सक्छ।'
'मर्या भा बरू ६ लाखले काम चल्थ्यो,' महिलाले भनिन्।
त्यो सुनेपछि सिन्धुलीमाढीको गर्मी तर रमाइलो उपत्यका प्रवेश गरेका के थियौं चालकले हामीलाई कुनै अर्को लोकल भ्यानमा हालिदिए। हामी ढिलो आयौं, मलाई फर्किने हतार भयो भन्दै उनी विदा भए।
लोकल भ्यानमा बस्नासाथ इभीको गन्धरहित यात्राको ख्याल भयो। काउछेमा हामीलाई पर्खिरहेका सामूहिक अर्गानिक खेतीका नाइके हाम्रा साथी माधव ढुंगेल एउटा नयाँ संरचनानेर उभिएका थिए। जस्ताले छाएको त्यो रित्तो भवन के को हो मैले सोधेँ।
'चार्जिङ स्टेसन बन्दैछ,' उनले भने।
हाम्रो प्रशिक्षणका सहपाठीहरूसँग पहिलो साँझ मैले इभीको लहर के भन्दै थिएँ, वातावरण र विज्ञानका साथीहरू उफ्रिए, बिजुली गाडीले धुवाँ फाल्दैन, हाम्रो र पृथ्वीको फोक्सो बचाउँछ पक्का हो, तर पेट्रोलियम खानीभन्दा ब्याट्रीको लिथेनियम खानी खोतल्नु झन् खराब हो, प्रकृतिको दोहन नै हो!
विचार मन्थन हामी के गर्दै थियौं, खाली खुट्टा माटो छुन पाएर दंग शैलले थप्न पाए, 'त्यही भएर त मैले भन्या, सबभन्दा राम्रो सवारी साधनमुक्त सहर हो!'
***