रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पले बारम्बार गर्दै आएको दाबीमा सहमति जनाएका छन्।
अलास्कामा ट्रम्पसँग तीन घन्टा वार्ता गरेपछि पुटिनले सन् २०२२ मा अमेरिकी सत्ता ट्रम्पको नेतृत्वमा हुन्थ्यो भने युक्रेनसँग युद्ध नै नहुने बताएका हुन्।
'राष्ट्रपति ट्रम्पको भनाइलाई समर्थन छ। २०२२ मा सत्तामा ट्रम्प नै हुनुहुन्थ्यो भने रूसले युक्रेनमा आक्रमण गर्दैनथ्यो,' पुटिनले संयुक्त पत्रकार सम्मेलनमा भने।
ट्रम्पले रूस-युक्रेन युद्ध सुरू हुँदादेखि नै त्यतिबेला सत्तामा रहेका जो बाइडेनको आलोचना गर्दै आफू राष्ट्रपति भएको भए दुई देशबीच युद्ध नै नहुने बताएका थिए।
पछि चुनावी कार्यक्रमदेखि राष्ट्रपतिको पदभार ग्रहण गरिसिकेपछिका धेरै कार्यक्रमहरूमा ट्रम्पले त्यही अभिव्यक्ति दोहोर्याउँदै आएका छन्।
उनले आफू राष्ट्रपति बनेपछि चौबीस घन्टामा युद्धविराम गर्ने भनेका थिए। तर ६ महिना बितिसक्दा पनि युक्रेनमा युद्धविराम हुने देखिएको छैन।
शुक्रबार ट्रम्प र पुटिनले तीन घन्टा कुराकानी गर्दा पनि त्यसबारे ठोस समझदारी नभएको भनिएको छ।
पुटिनले पनि बाइडेन नेतृत्वको अघिल्लो सरकारसँग रूसको सम्बन्ध निकै कठिन भएको बताए।
'अघिल्लो समय दुई देशबीचको सम्बन्ध निकै कठिन भयो। स्पष्ट भनौँ भने, शीतयुद्धपछिकै सबैभन्दा तल्लो स्तरमा पुग्यो। यो न त हाम्रो देशका लागि राम्रो हो, न विश्वका लागि। त्यसैले ढिलो–चाँडो यो अवस्थालाई सुधार्नु, द्वन्द्वबाट संवादतर्फ बढ्नु अपरिहार्य थियो,' पुटिनले भनेका छन्।