खासमा यो लेख मैले अलि अगाडि नै लेख्ने विचार गरेको थिएँ — जति बेला कांग्रेस नेता गगन थापाको निधारमा दैनिक देखिने टीकामाथि सामाजिक सञ्जालमा निकै धेरै टिकाटिप्पणी भइरहेका थिए।
सार्वजनिक वृत्तमा जे जसरी त्यो विषयमा टिप्पणीहरू भए, मेरो मनमा प्रश्न आयो — के मान्छेको निजी आस्थामाथि सार्वजनिक चियोचर्चो र आलोचना ठीक हो?
थापा त एक विम्ब मात्र हुन्। जसरी केही मान्छेहरू धर्मको विरोध गरेर आफू खाँटी प्रगतिशील भएको प्रमाणित गर्न चाहन्छन्, के प्रगतिशील हुन धर्मको विरोध गर्नैपर्छ?
यो मूल प्रश्नसँगै जोडिएर आउने आस्तिकता र नास्तिकताको अर्थ के हो? र, उदार समाजले यस्ता विषयमा कसरी सोच्नुपर्छ?
आज म यिनै प्रश्न र यस वरिपरि बसेर केही विमर्स गर्न चाहन्छु।
विषय प्रवेशः
कुनै बेला यस्तो पनि थियो — हाम्रा कम्युनिस्ट नेताहरू जुत्तै लगाएर आफ्ना प्रियजनको चितामा अग्नि दिन्थे। मन्दिरलाई सामन्ती शोषणको विम्ब मान्थे। दसैं बहिस्कार गर्थे। संस्कृतका पुस्तक जलाउँथे। धर्मलाई पाखण्ड मान्थे र आस्तिक हुनु उनीहरूका लागि अन्धविश्वासी र परम्परावादी हुनु थियो।
उनीहरू समाजको यसरी 'इञ्जिनियरिङ' गर्न चाहन्थे, जहाँ धर्म, अध्यात्म, यज्ञ वा आस्तिकताको नामनिसान नहोस्। मन्दिर नहोऊन्, देवता नहोऊन्। शास्त्रहरू नहोऊन्। मात्र होऊन् य त मार्क्स या त माओ!
उनीहरू भौतिकवादी र नास्तिक भन्नमा गर्व गर्थे।
उनीहरू भन्थे — जो भौतिकवादी, मार्क्सवादी र नास्तिक छ, उही खाँटी प्रगतिशील वा अग्रगामी हो।
खासमा यो कम्युनिस्टहरूको मात्र कुरा होइन, नेपालमा तीन खाले स्कुलहरू व्यक्तिको धार्मिक आस्थामाथि टिप्पणी गर्न सधैं जागरूक देखिए।
पहिलो, कम्युनिस्ट वा मार्क्सवादी स्कुल।
दोस्रो, पहिचानवादी स्कुल।
तेस्रो, कट्टर हिन्दुवादी र सम्वर्द्धनवादी स्कुल।
यी अलग अलग समूहले धर्ममाथि गर्ने आलोचना र पूर्वाग्रहका कोण, अभिष्ट र प्रवृत्ति फरक होलान्, तर यी यस्ता स्कुल हुन्, जो आफ्नोभन्दा भिन्न आस्था र मतमाथि सधैं असहिष्णु देखिन्छन्। र, ठाउँ पाउनासाथ आफूभन्दा फरक आस्था र व्यवहारमाथि चर्को आलोचना गरिहाल्छन्।
उनीहरू ठान्छन्— उनीहरू जसरी सोच्छन्, दुनियाँ त्यसरी नै चल्नुपर्छ।
त्यसैले पुष्पकमल दाहाल 'प्रचण्ड' को भैंसी पूजादेखि गगन थापाको निधारको टीकासम्म उनीहरूको चर्चाको विषय बन्छ।
अझै पनि कम्युनिस्टहरू ठान्छन्— जो धर्म मान्दैन र नास्तिक छ, ऊ नै वास्तविक प्रगतिशील हो।
यसको ठीक विपरीत, आफूलाई कट्टर हिन्दुवादी ठान्ने जमातलाई लाग्छ— नास्तिक हुनु, ईश्वरलाई इन्कार गर्नु वा धर्मनिरपेक्ष बस्नु, सनातन सभ्यता र हिन्दुत्वमाथिको प्रहार हो।
पछिल्लो समय हिन्दुत्वको राजनीति गर्नेहरूमा यतिसम्म विरोधाभास देखिन्छ कि, ह्वाइट–हाउसमा अमेरिकी राष्ट्रपतिले दिपावली मनाउँदा यता यिनीहरूको मन त्यसै प्रफुल्ल हुन पुग्छ। यहाँ कसैले क्रिसमस मनायो भने, उनीहरूलाई लाग्छ — डलरले हाम्रो धर्मको सत्यानाश गर्यो!
यही समूहभित्र केही मान्छे यस्ता छन्, जो अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको गोजीमा हनुमानको मूर्ति देख्दा संसार जितेझैं गर्छन्। तर यता, कसैले बाइबल छोयो मात्र भने, उनीहरूको आकाश खस्छ।
उनीहरू यतिसम्म संकीर्ण छन् कि, उता बेलायतमा प्रधानमन्त्रीले श्रीमद्भगद्–गीतामाथि हात राखेर शपथ खाँदा, यता उनीहरूमा हर्षबढाइँ चल्छ। तर यता कसैले मातृभाषामा शपथ मात्र लियो भने पनि उनीहरू तीनहात उफ्रेर धारेहात लगाउँछन्।
कट्टर पहिचानवादीको समस्या चाहिँ के छ भने, ऊ एकात्मक राज्य वा मूलधारको राजनीतिलाई गाली गर्ने नाममा, व्यक्तिमा निहित विपरीत आस्था होच्याउन हरदम उद्यत रहन्छ।
ऊभित्र विरोधाभास के देखिन्छ भने, यो सबै गरिरहँदा ऊ आफ्नो परम्परागत संस्कृतिलाई पहिचानको मानक ठान्छ। मूलधारका धार्मिक र सांस्कृतिक आस्थाहरूलाई भने अन्धविश्वास र सामाजिक अहंकारको रूपमा व्याख्या गर्छ।
हाम्रा कतिपय राजनीतिक स्कुल यस्ता छन्, जहाँ पढाइन्छ — संसारमा मात्र दुई खाले मान्छे हुन्छन्ः एक भौतिकवादी, अर्को अध्यात्मवादी। र, संसार भन्नु नै यिनै दुई चिन्तनहरू बीचको घनघोर संघर्षको रंगशाला हो।
उनीहरूलाई लाग्छ — मान्छेको जीवन आफू अध्यात्मवादी हो कि भौतिकवादी हो भनेर हिसाब गर्दैमा सकिन्छ। र, त्योभन्दा असली काम दुनियाँमा अर्को कुनै छैन।
यी सबै प्रवृत्तिहरूको साझा समस्या के छ भने, यिनीहरू मान्छेको धार्मिक स्वतन्त्रतालाई अवहेलना गर्छन्। अझ भनौं, आलोचनाको बलमा मान्छेको आस्थालाई नियन्त्रण गर्न चाहन्छन्। जो निकै जड, उग्र र आफैमा संकुचित कुरा हो।
धर्म र राजनीतिको साइनो
प्रश्न आउँछ — के हो धर्म भनेको? के प्रगतिशील हुन धर्मको विरोध गर्नैपर्छ?
प्रारम्भिक कालमा, हाम्रा पुर्खाहरूले आकाश, नदी र पहाडतिर हेर्दै त्यसको रहस्य बोध गर्ने कोसिस गरे। उनीहरूले सृष्टिलाई नियाले। जन्म र मृत्युको सांसारिकता बोध गर्ने प्रयत्न गरे।
उनीहरूले जब संसारका आश्चर्यजनक चिज देखे र त्यसको भव्यता बोध गरे, त्यो आफैमा अदभूत थियो।
त्यसपछि सायद उनीहरूको मनमा प्रश्न आयो होला, कसले बनायो यो अदभूत चिज? कसरी बन्यो होला यो ब्रह्माण्ड? कसले बनायो मान्छे? र, मान्छे मरेपछि कहाँ जान्छ?
यावत प्रश्नको उनीहरूसँग कुनै सुविचारित उत्तर थिएन। न वैज्ञानिक खोज थियो, न थिए तर्क र प्रमाण। अतः उनीहरू यी सबै प्रश्नको जबाफ खोज्न कल्पनाको अनन्त आकाशमा उडे। तर त्यहाँ पनि प्रमाणित उत्तरहरू थिएनन्।
परिणाम — उनीहरूले सृष्टिको रहस्यलाई अलौकिक शक्तिको जिम्मा लगाइदिए।
बिस्तारै बिस्तारै मान्छेले आफ्नो कल्पनाको त्यो अलौकिक शक्तिलाई आकार दिँदै लग्यो। चित्र बनाउँदै लग्यो। नाम दिँदै गयो। कसैले त्यसलाई परमात्मा भने, कसैले प्रकृति। कसैले त्यसलाई अल्लाह भने, कसैले ईश्वर भने। कसैले त्यसलाई प्रभु परमेश्वर भने।
मान्छेले आफूले कल्पना गरेको अलौकिक शक्तिको नाममा प्रार्थना सुरू गर्यो। आराधना सुरू गर्यो। कथाहरू लेख्यो। स्तोत्रहरू बनायो। यो अर्थमा सृष्टिको कल्पना गर्नु, रमाउनु र त्योसँग एकाकार हुन खोज्नु मान्छेको जीवन पद्धति बन्यो। संस्कार र संस्कृति बन्यो। जब सृष्टिका अनेक रहस्यहरूलाई मान्छेले अनुसन्धानभन्दा माथिबाट विश्वास गर्न थाल्यो, तब धर्म बन्यो।
यसरी प्रारम्भिक कालमा धर्म अनेकौं लौकिक प्रश्नहरूको अलौकिक जबाफ थियो।
यो विज्ञान थिएन, थियो मनको कुरा। थियो आत्माको कुरा। थियो भावनाको कुरा।
बिस्तारै धर्मको पवित्रतामाथि राजनीति सुरू भयो। सनै सनै 'धर्म' राज्यको पहिचान बन्यो। पश्चिमा समाजमा चर्चहरूले राजनीति थाले। र, यो खास वर्गको वर्चश्वको साधन बन्यो।
कतिपय राज्यहरू स्वयं धर्मराज्यका रूपमा देखापर्दै गए। पण्डित, पादरी र मौलानाहरू सत्ताको महत्त्वपूर्ण हिस्सा बने।
भारत वर्षमा मनुवाद लेखियो। कर्मकाण्ड आयो। पाप र पुण्य, स्वर्ग र नर्कका विधानहरू बनाइए। परत्रको कल्पना गरियो। पूर्वजन्म र पुनर्जन्मका आख्यानहरू लेखिए।
यसरी धर्मले पण्डित, पादरी वा मौलानाहरू जन्मायो। शास्त्रहरू लेखिए। धर्म विधान बने। त्यसैका आधारमा विभेद जन्मिए। त्यसैका आधारमा वर्णभेद आयो। त्यसैले लैंगिक हिंसालाई संस्थागत गर्यो। शास्त्रहरूले राज्यको कानुनी प्रबन्धनमा उच्च स्थान पाए। धर्मले राज्यको चरित्रलाई निर्देशित गर्न थाल्यो।
धर्म शासकहरूको शासकीय हतियार बन्यो र करोडौं मान्छेहरू सीमान्तकृत भए।
त्यसपछि, धर्म विधानमाथि विरोध सुरू भयो। प्रतिरोध सुरू भयो। इन्कारी सुरू भयो। ठूला ठूला धार्मिक युद्ध र रक्तपातहरू भए। धर्मले भोकको उपचार गरेन। र, धर्मले भोकाहरूलाई विद्रोह गर्न प्रेरित पनि गरेन। बरू उल्टो यसले राजनीति गर्यो र मान्छेलाई विभाजित गर्दै लग्यो।
जब धर्मलाई जीवनको उदात्त कल्पना र आख्यानभन्दा परबाट शासक वर्गको सेवामा लगाइयो, यसभित्र संकटहरू देखापर्न थाले। जब धर्मसँग राजनीति जोडियो, यो पक्षपाती हुँदै गयो। जब धर्मसँग राजकाज जोडियो, यो निर्मम र निरंकुश हुँदै गयो।
परिणाम — धर्मका मामिलामा, मार्क्सले असाध्यै चर्को टिप्पणी गरे र भने, 'धर्म अफिम हो।'
उनको टिप्प्णी युरोपमा चर्चहरूले गरेको राजनीतिक भूमिकाबाट प्रभावित थियो। जुन विचार पूर्वी युरोपमा निकै लोकप्रिय भयो। बीसौं शताब्दीमा, मार्क्सवाद र वैज्ञानिक तर्कवादले धर्ममाथि प्रश्न उठाए, जसको जगमा नास्तिकताको उदय भयो।
मार्क्सवादको विस्तारसँगै धर्मको आलोचना विश्वभर फैलियो। र, यो नेपालमा पनि आइपुग्यो। जसरी धर्म राजनीतिको साधन बन्दै थियो, धर्मको निन्दा पनि राजनीतिको अभिन्न अंग बन्यो। अन्ततः मार्क्सवादीहरूले जे सिकाए, हामीले त्यही दोहोर्यायौं र भन्यौं — धर्म अफिम हो!
तर नेपालको धर्म परम्परा तीन कारणले युरोपको भन्दा नितान्त भिन्न थियो। र, यो भारतको जब्बर हिन्दु सनातनी परम्पराभन्दा पनि अलग रह्यो।
पहिलो, यहाँ युरोपमा जस्तो धार्मिक संस्थाहरूको राजकाजमा प्रत्यक्ष संलग्नता थिएन। न त भारतमा जस्तो शक्तिशाली मठ र शंकराचार्य परम्परा नै यहाँ थियो।
नेपालमा धर्म, धार्मिक संस्था वा मठमन्दिरले राजनीतिलाई प्रभावित गर्ने तागत कहिल्यै आर्जन गरेनन्।
दोस्रो, यहाँको धार्मिक परम्परा कट्टर र पूर्वाग्रहपूर्ण थिएन। त्यसको खास कारण के भने, यहाँ जे जस्ता जाति, कुल, गोत्र र वंशहरू बसाइँसराइको लामो प्रक्रिया हुँदै दक्षिण र पश्चिमबाट नेपाल भित्रिए, उनीहरूको मौलिक धर्म पनि बसाइँसराइको प्रक्रियासँगै परिमार्जन हुँदै आयो। त्यसैले यसमा कट्टरता हराउँदै गयो र सामाजिक सदभाव प्रवर्द्धित हुँदै आयो।
तेस्रो, हाम्रो धार्मिक परम्परा यस कारण अन्यत्रको भन्दा भिन्न छ कि, यहाँको सभ्यता हिन्दु, बुद्धिष्ट र किरात भावधाराहरूको एकीकृत प्रतिरूप हो। यहाँ मान्छेमा निहित धार्मिक भावना र अभ्यासहरू एकअर्कासँग जोडिएका छन् र बनेको छ, विशिष्ट हिमाली सभ्यताको एक अदभूत प्रतिरूप।
जहाँसम्म हाम्रोमा हिन्दु धर्मको आडमा जातीय विभेद, लैंगिक विभेद र हिन्दुत्वकरण गरिएको परिस्थिति थियो, सुखद कुरा के भने, हाम्रो राजनीतिले त्यसलाई प्रारम्भदेखि नै स्वीकार गरेको थियो। त्यसैले हामीले धर्म निरपेक्ष राज्यको कल्पना गरेका हौं। जसले मान्छेको धार्मिक स्वतन्त्रताको रक्षा र राज्यको धर्मनिरपेक्षताको प्रवर्द्धन गर्ने संकल्प गरेको छ।
यसरी हेर्दा नेपालमा धर्म 'संस्कृतिको हिस्सा' हो, राजनीतिको हिस्सा होइन। यहाँका मन्दिर, गुम्बा र चाडपर्वहरूले सामुदायिक एकता र सदभावलाई प्रोत्साहन गर्छन्, विभाजन होइन। त्यसैले नै, यहाँ हिन्दुहरू साकेला नाच्छन्। बुद्धिष्ट र हिन्दुहरू मिलेर सँगै पूजा आराधना गर्छन्। र, दसैंमा किरातहरू समेत रमाउँछन्।
आम रूपमा हाम्रो साझा (र, संवैधानिक) मान्यता छ कि, राज्यको कुनै धर्म हुँदैन। तर व्यक्ति धर्म मान्न, निरपेक्ष बस्न वा सापेक्ष हुन स्वतन्त्र छ। अतः कसैको धार्मिक भावना र आस्थालाई लिएर आलोचना र दुराग्रह राख्नु नितान्त असामाजिक, अमर्यादित र अमानवीय काम हो।
यो अनैतिक त हो नै, असंवैधानिक र गैरकानुनी काम पनि हो।
स्पष्ट हुनुपर्ने कुरा के छ भने, जसरी धर्मको राजनीति खराब हुन्छ, त्यसरी नै धर्मलाई निन्दा गर्ने राजनीति पनि खराब हुन्छ। तर आफू प्रगतिशील हुने नाममा वा धर्मको राजनीतिलाई इन्कार गर्ने नाममा केही मान्छेहरू जसरी व्यक्तिका निजी आस्था र मान्यताहरूमाथि निन्दा बर्साउँछन्, त्यो आफैमा विवेकहीनता र राजनीतिक संकीर्णता हो।
अर्थात्, न त धर्मको अति समर्थन उपयुक्त कुरा हो, न धर्मको निन्दा नै।
जहाँसम्म मान्छे भौतिकवादी हो कि अध्यात्मवादी भन्ने प्रश्न छ, यसमा सबै मान्छेलाई उसको अभिमत रक्षा गर्ने स्वतन्त्रता छ। तर विज्ञानभन्दा पर उभिएर मान्छेलाई मानवीय भावबाट हेर्ने हो भने लाग्छ — मान्छेको जात न त कहिल्यै पूर्णतः भौतिकवादी हुन सक्छ न त अध्यात्मवादी।
जस्तो, रकेट विज्ञानमा काम गर्ने वैज्ञानिक अवश्य नै भौतिकवादी हुन्छ। तर उसले बनाएको रकेट जब मंगल ग्रहको फन्को मारेर पृथ्वीमा फर्किन्छ, ऊभित्र एक अव्यक्त भाव प्रवाहित हुन्छ र ऊ ब्रह्माण्डतिर फर्केर परमशक्तिलाई धन्यवाद दिँदै आँशु झार्छ। यस्तो बेला ऊ भौतिकवादी मात्र कसरी हुन्छ?
जगजाहेर छ, मान्छे कल्पना गर्छ, सपना देख्छ, लोभ गर्छ, माया गर्छ, रून्छ, हाँस्छ। अर्थात्, जहिलेसम्म भावनाले मान्छेलाई प्रभावित गरिरहन्छ, ऊ भौतिकवादी मात्र हुँदैन।
जस्तो हेरौं त, एक जना मान्छे जो मृत्यु निश्चित छ भन्ने सत्य जान्दा जान्दै पनि डराउँछ, ऊ कसरी भौतिकवादी मात्र हुन्छ?
वैज्ञानिकहरू भन्छन् — संसार भौतिक पदार्थको एकता, टकराव र सम्मिलनबाट बन्दै, भत्किँदै र बन्दै आयो। अवश्य नै संसार भौतिक ऊर्जाको एकीकृत स्वरूप हो। तर मान्छे भौतिक मात्र होइन। किनभने ऊसँग मन छ, भावना छ, संवेग छ।
महत्त्वपूर्ण कुरा, मान्छेभित्र भौतिक जगतका रहस्यहरूलाई जान्ने विज्ञानभन्दा परको चिन्तन, साधना, आख्यान र कल्पना पनि सँगसँगै छ। अतः ऊ भौतिकवादी मात्र हुँदैन। यसैगरी, जब मान्छेसँग लोभ, मोह र महत्वाकांक्षा साथमा छ, ऊ शुद्ध अध्यात्मवादी मात्र पनि हुँदैन।
त्यसो भए कुरा के हो त?
अवश्य नै संसारका रहस्यहरू विज्ञानले समाधान गर्दै लैजाला। तर मान्छे आफू उभिएको विन्दुबाट अगाडि हेर्दा जहाँनेर अनुत्तरित हुन पुग्छ र जुन स्थानमा कल्पनाको एक अदभूत उज्यालो उपस्थित हुन्छ, त्यो उज्यालोले ओतपोत मान्छे कहिले भौतिकवादी हुन्छ, कहिले अध्यात्मवादी। र, मान्छे जहिलेसम्म स्वयंसँगका प्रश्नरूको बीचमा रहन्छ, ऊ न त पूर्ण भौतिकवादी हुन्छ, न पूर्ण अध्यात्मावादी हुन्छ। बरू हुन्छ त्यसको बीचमा।
त्यसो भए आस्तिक र नास्तिक हुनु भनेको चाहिँ के हो?
यो प्रश्नमा ओशोको एउटा भनाइ बहुतै सुन्दर छ।
'आस्तिक शब्द र त्यसको अर्थ ईश्वर मान्ने वा नमान्नेसँग सम्बन्धित छैन। आस्तिक त्यो हो, जो जीवनलाई स्वीकार गर्छ। जो जीवनमा अपरिमित आस्था राख्छ। जो जीवनलाई समग्रतामा अंगीकार गर्छ। आस्तिक त्यो हो, जो जीवनको कण कणमा, रङ रङमा भावत्ताको बोध गर्छ। अवश्य नै, ऊ मन्दिर मस्जिद जाँदैन, किनभने उसका लागि सर्वत्र मन्दिर छ। ऊ पत्थरको मूर्तिसँग झुक्दैन, किनभने उसलाई सर्वत्र परमात्माको बोध हुन्छ।'
ओशोलाई सुनेपछि मलाई लाग्यो, बुद्ध आस्तिक थिए। यद्यपि उनले ईश्वरलाई इन्कार गरे। सायद मार्क्स पनि आस्तिक थिए, किनभने उनको समाजवादमाथि अपरिमित आस्था थियो। आस्तिक हुनु भनेको आफ्नो विश्वासमाथि आस्था राख्नु हो।
जस्तो कुनै मान्छे भौतिकवादमाथि विश्वास गर्छ, कुनै अध्यात्मवादमाथि। यी दुवै आस्तिक हुन्।
वेदमाथि आस्था राख्ने चाहिँ आस्तिक र मार्क्सवादमाथि आस्था राख्ने चाहिँ नास्तिक कसरी हुन्छ?
मान्छे आस्तिक हुनुपर्छ तर अन्धविश्वासी होइन। आस्तिक हुनु र अन्धविश्वासी हुनु फरक कुरा हो।
मान्छेले जीवनको मूल्य, मान्यता, निष्ठा, नैतिकता र गरिमामाथि आस्था राख्नुपर्छ। कतिपय मान्छेहरू प्रकृति र मान्छेको सम्बन्धलाई आस्थाका रूपमा स्वीकार गर्छन्। कोही सत्यमाथि आस्था राख्छन्। कोही ज्ञान र साधनामा आस्था राख्छन्। यी सबै आस्तिक हुन्।
अतः परम्परागत भाष्यमा जे भनिएको छ, आस्तिक हुनु अन्धविश्वासी हुनु होइन। न नास्तिक हुनु स्वतः वैज्ञानिक हुनु हो।
विचार गरौं त, हाम्रो समाजमा मन्दिरहरू भएनन् भने? वेद, त्रिपिटक र मुन्धुम भएनन् भने? अथवा मान्छेले चराचर जगत र सृष्टिमाथि आस्था राखेन भने? मान्छेले आफू उभिएको जमिन र सभ्यतामाथि आस्था राखेन भने? त्यसो भयो भने हाम्रो सभ्यता निकै निरस, रूढ र बेरसको हुन्थ्यो होला। किनभने, आस्तिक हुनु स्वयंमाथि विश्वास गर्नु हो। र, विश्वास निकै सुखद कुरा हो।
अन्त्यमा चार वटा कुरा भन्न चाहन्छु।
पहिलो, धर्मलाई राजनीतिबाट अलग गर्नुपर्छ।
दोस्रो, राज्य धर्मनिरपेक्ष हुनुपर्छ।
तेस्रो, जति धर्मको राजनीति अस्वीकार्य छ, त्यति नै व्यक्तिका निजी आस्थाहरूमाथिको निन्दा पनि अस्वीकार्य हुनुपर्छ। अर्थात्, 'धर्मको राजनीति र धर्मको निन्दा गर्ने राजनीति' दुवै हानिकारक छन्।
चौथो कुरा के भने, व्यक्ति धार्मिक हुन, आध्यात्मिक हुन, आस्तिक हुन वा नास्तिक हुन पाउँछ। यो उसको निजी छनोट हो। मान्छेले स्वयंलाई कसरी हेर्छ र दुनियाँलाई कसरी हेर्न चाहन्छ, त्यो (अरूलाई हानि छैन भने) उसको व्यक्तिगत कुरा हो। यसमा कसैले खिसिट्युरी गर्नु स्वयंका लागि लज्जाको कुरा हो।
अतः एउटा उदार र लोकतान्त्रिक समाजमा मान्छेले आफ्नै लयमा बाँच्न पाउनुपर्छ। आखिर उदार र लोकतान्त्रिक हुनु भनेको यही नै हो!
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab