बिजुलीबाट चल्ने गाडीको कुरा गर्दा चिनियाँ ब्रान्डहरूको नाम धेरै सुनिन्छ। काठमाडौंको भृकुटीमण्डपमा हालै सम्पन्न 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' मा पनि धेरै चिनियाँ ब्रान्डका इलेक्ट्रिक गाडीहरू प्रदर्शनीमा राखिएको हामीले देख्यौं।
तर आज हामी कुरा गर्दै छौं भारतीय ब्रान्ड 'महिन्द्रा' को।
आजभन्दा करिब ८० वर्षअघि सन् १९४५ मा स्थापना भएको यो कम्पनी भारतको सबभन्दा ठूलो अटोमोबाइल निर्मातामध्ये एक हो। यसले एसयुभी गाडीदेखि पिकअप, इलेक्ट्रिक कार, ट्रयाक्टर, ट्रक र दुईपांग्रे सवारीसमेत उत्पादन गर्दै आएको छ। महिन्द्राका गाडी १०० भन्दा बढी देशमा निर्यात हुन्छन्।
नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले भृकुटीमण्डपको एक्स्पोमा तीनवटा गाडी सार्वजनिक गरेको थियो। त्यसमा दुइटा इलेक्ट्रिक (बिइ–६ र एक्सइभी–९ई) र एउटा पेट्रोल गाडी थिए।
तीमध्ये 'बिइ–६' मोडलको इलेक्ट्रिक गाडीबारे हामी यो स्टोरीमा चर्चा गर्दै छौं।
भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी एक्स्पोमा महिन्द्राको 'बिइ–६' सार्वजनिक गरिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सन् २०२५ को सुरूआतबाट भारतीय बजारमा आएको यो गाडी खुब रूचाइएको छ। नेपालमा पनि भृकुटीमण्डप एक्स्पोमा धेरैलाई आकर्षित गरेको थियो।
डिजाइन र क्षमताका कारण स्पोर्टस् गाडीको झल्को दिने यो इभीका तीन संस्करण नेपाली बजारमा उपलब्ध छन् – प्याक वान, प्याक टू र प्याक थ्री सेलेक्ट।
यसको मूल्य ५७ लाखदेखि ६८ लाख रूपैयाँ पर्छ। नाइमा एक्स्पोमा डेढ लाख रूपैयाँ छुट दिइएको थियो।
अग्नि ग्रुपका बजार प्रबन्धक सागर भट्टराईका अनुसार यी तीनै संस्करणमा ५९ किलोवाट–घन्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले ९९ किलोवाटको अधिकतम शक्ति दिने सामर्थ्य राख्छ।
यसलाई हामी सजिलोसँग यसरी बुझ्न सक्छौं – एक किलोवाट शक्ति भनेको १.३४ हर्सपावर हो। अर्थात्, ९९ किलोवाटमा १३३ हर्सपावर शक्ति हुन्छ। बोलीचालीको भाषामा भन्दा, यसले १३३ वटा घोडा बराबरको शक्ति दिन्छ भन्ने बुझिन्छ।
भन्नुको मतलब, यो मोडलको महिन्द्रा इभी शक्तिशाली गाडीको वर्गमा पर्छ। यो गाडी तीव्र गतिमा हाँक्न सकिन्छ। मोटरको शक्ति जति बढी भयो, गाडीले उति छिटो तीव्र गति लिने क्षमता राख्छ। मध्यम र लामो दुरीको यात्राका लागि यो क्षमता राम्रो मानिन्छ।
यसले ब्याट्री फुल चार्ज हुँदा करिब ४०० किलोमिटर यात्रा गर्न सकिने भट्टराई बताउँछन्।
'यो भनेको काठमाडौंबाट पोखरा वा भैरहवासम्म आरामसँग पुग्न सकिन्छ,' उनले भने, 'सहरी क्षेत्रमा मात्र चलाउँदा गाडीको गति स्वाभाविक रूपले कम हुने हुँदा अझ लामो दुरी तय गर्न सकिन्छ।'
यो ब्याट्री घरमा चार्ज गर्दा शतप्रतिशत चार्ज हुन करिब आठ घन्टा लाग्छ। तर १४० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ प्रयोग गर्दा २० मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन्छ।
अब हामी गाडीमा जडान गरिएका सुरक्षा प्रविधि र डिजाइनको कुरा गरौं।
महिन्द्रा बिइ–६ मा गाडीको दायाँ, बायाँ, अगाडि र पछाडि गरी चार मुख्य क्यामरा जडान गरिएका छन्, जसले वरिपरिका दृश्य ३६० डिग्रीमा हेर्न मिल्छ।
नेपालमा मनसुन बेला र हिउँदमा हुस्सु लाग्दा अगाडिको दृश्य राम्ररी नदेखेर चालकलाई गाह्रो पर्छ। क्यामरा जडान गरिएका यस्ता गाडीले प्रतिकूल मौसममा पनि बाटो सफा देखिने हुँदा गाडी हाँक्न सहज हुने भट्टराईले बताए।
यो गाडीको 'टर्निङ रेडियस' ५ मिटरको छ। यसको मतलब, साँघुरो बाटोमा पनि सजिलै मोड्न सकिन्छ। यो अंक थोरै छ भने साँघुरो बाटोमा मोड्ने क्षमता बढी हुन्छ। टर्निङ रेडियस धेरै भएको गाडी घुमाउन फराकिलो ठाउँ चाहिन्छ। त्यही भएर बिइ–६ काठमाडौं लगायत सहरी क्षेत्रका साँघुरा बाटामा चलाउन सजिलो हुने भट्टराई बताउँछन्।
भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी एक्स्पोमा महिन्द्राको 'बिइ–६' सार्वजनिक गरिँदै। तस्बिर स्रोत: महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक
यो गाडीमा दुर्घटना जोखिम कम गर्न केही विशिष्ट प्रविधि प्रयोग गरिएका छन्।
जस्तै – यसमा 'अटोमेटिक स्पिड कन्ट्रोल' सुविधा छ। अगाडि अरू कुनै सवारी साधन छ भने यसले क्यामराको मद्दतले आफ्नो गति आफै समायोजन गर्छ। अर्थात्, अगाडिको गाडीको गति कम हुँदा यसको गति पनि स्वत: कम हुन्छ। ताकि, गाडी ठोक्किनबाट बचोस्।
'अटोमेटिक इमर्जेन्सी ब्रेकिङ' सुविधा यसको अर्को विशेषता हो। गाडीको अगाडि वा दायाँबायाँ कुनै अर्को गाडी, पैदलयात्रु वा कुनै चिज आयो भने सेन्सरले पत्ता लगाउँछ र ठोक्किनबाट बचाउन स्वत: ब्रेक लगाउँछ। यस्तो सुविधाले दुर्घटना जोखिम निकै कम गर्छ।
यो गाडीमा 'ड्राइभर ड्राउजिनेस डिटेक्सन' प्रविधि पनि प्रयोग गरिएको छ। गाडी चलाउँदा चलाउँदै चालकको ध्यान बाटोबाट हटेको अवस्थामा यो सिस्टमले सतर्क गराउँछ। यस निम्ति गाडीमा जडान गरिएका क्यामराले चालकको अनुहार निरन्तर अनुगमन गरिरहेको हुन्छ। चालक निदायो वा अन्यत्र ध्यान दियो भने यो सिस्टमले आवाज वा भाइब्रेसन निकाल्छ।
चालक निदाएर वा चालकले बाटोमा ध्यान नदिएर हुने दुर्घटना कम गर्न यसले मद्दत गर्ने कम्पनीले जनाएको छ।
दुर्घटना पर्दा यात्रुहरूको सुरक्षा निम्ति गाडीमा ६ वटा एयरब्याग राखिएका छन्। गाडी कतै ठोक्किँदा वा दुर्घटना पर्दा यी एयरब्याग आफै खुल्छन्। यसले यात्रुको शरीर गाडीको भित्तामा ठोक्किनबाट बचाउँछ। दुर्घटना पर्दा यात्रुहरूलाई धेरै चोटपटक लाग्ने भित्तामा ठोक्किएर हो। एयरब्याग राम्रो र बलियो छ भने यस्तो जोखिम कम हुन्छ।
त्यस्तै, यसले सानो ठाउँमा पनि सेन्सर र क्यामरा प्रयोगले गाडीलाई कतै नछुवाई सजिलै पार्किङ गर्न सकिने सुविधा पनि दिएको छ।
भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी एक्स्पोमा महिन्द्राको 'बिइ–६' सार्वजनिक क्रममा अभिनेत्री स्वस्तिमा खड्का। तस्बिर स्रोत: महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक
महिन्द्रा बिइ–६ को भित्री डिजाइनको कुरा गर्दा यसमा १२.३ इन्चका तीनवटा स्क्रिन छन्। एउटा स्क्रिन चालक र अगाडिका यात्रु सिटको बीचमा छ भने दुइटा स्क्रिन पछाडिका सिटको बीचमा छन्।
यसमा २.२ वर्गमिटरको ‘इन्फिनिटी’ सिसाको छत छ। बटन प्रयोग गरेर सिसा खोल्न र बन्द गर्न सकिन्छ। यसले यात्रा गरिरहँदा बाहिरी घामको प्रकाश दिनुका साथै बाहिरको दृश्य राम्ररी हेर्न सकिन्छ। रातको समय त्यही सिसाको छतमा बत्ती बल्छ। तपाईं बत्तीको रङ आफ्नो इच्छाअनुसार फेर्न सक्नुहुन्छ।
यो गाडीको 'ग्राउन्ड क्लियरेन्स' अर्थात् सबभन्दा तल्लो भाग र जमिनको सतहबीचको दुरी करिब ८ इन्च छ। उबडखाबड बाटोमा पनि गाडीको तल्लो भागले भुइँ छुने समस्या आउँदैन। त्यही भएर यसलाई कच्ची बाटोको निम्ति पनि उपयुक्त मानिन्छ।
यो गाडीको उचाइ १.६ मिटर छ भने चौडाइ १.८ र लम्बाइ ४.५ मिटर छ। यसबाहेक अगाडि र पछाडिका पांग्राबीचको दुरी २.७ मिटर छ। यसलाई प्राविधिक भाषामा 'ह्विलबेस' भनिन्छ। ह्विलबेस धेरै भएको गाडीमा यात्रुहरूलाई खुट्टा राख्ने ठाउँ धेरै हुन्छ। उच्च गतिमा गुड्दा पनि गाडीको सन्तुलन स्थिर रहन्छ। कच्ची बाटोमा सन्तुलित ढंगले गाडी हाँक्न सकिन्छ।
यो गाडीमा १६ वटा स्पिकर राखिएका छन्। त्यसैले गीतहरू एकदमै राम्रो सुनिन्छ।
यसरी ब्याट्री क्षमता, शक्ति, छिटो चार्ज हुने सुविधा र सुरक्षाका विभिन्न प्रणालीका कारण भारतमा राम्रो बजार लिइरहेको महिन्द्राको यो मोडलले नेपाली बजारमा पनि चर्चा कमाइरहेको बजार प्रबन्धक भट्टराईले बताएका छन्।
***


यी पनि पढ्नुहोस्: