ती विद्यार्थी सम्झिँदा म आज पनि नतमस्तक हुन्छु। त्यो दिन म विद्यालय अनुगमनका क्रममा नगरको राम्रै मानिने एक विद्यालयमा बिहानको प्रार्थना सभामै पुगेको थिएँ। सूर्यको किरण विद्यालयको आँगनमा सुनौलो कपडा जस्तै टल्किँदै थियो। विद्यार्थीको अनुहारमा उत्साह थियो।
कक्षा अनुसार विद्यार्थीहरूले पंक्तिबद्ध भई सांगीतिक तालमा केही शारीरिक व्यायाम गरे। त्यसपछि लयबद्ध प्रार्थना भयो।
त्यो दृश्य हेर्दा लाग्थ्यो, विद्यालय केवल निर्धारित पाठ्यक्रम पढाउने ठाउँ नभई जीवन सिकाउने मन्दिर हो।
प्रार्थनासभा सकिएपछि मैले प्रधानाध्यापकसँग विद्यालयको पछिल्लो गतिविधिबारे मुख्य सवालहरूमा जानकारी लिएँ। केही कक्षा हेरेँ, पुस्तकालय र ल्याब (प्रयोगशाला) व्यवस्थापन तथा नियमित प्रयोगको अवस्था हेरेँ।
ल्याब थियो। सामग्री थिए तर प्रयोग थिएन। ल्याबको भौतिक अवस्था कति पूर्ण थियो भन्ने मैले जान्ने कुरा थिएन तर उपलब्ध सुविधा प्रयोग नभएको प्रस्टै देखिन्थ्यो।
ल्याबमा हुने प्रयोगात्मक सिकाइ हासिल गर्न सिकाउने निष्ठा र क्षमता हुन जरूरी छ भन्ने मैले थाहा पाएको थिएँ।
विद्यालयको त्यो धुलाम्मे ल्याबले मलाई हेरेर 'देखिस् नि मेरो बिजोग' भनेको जस्तो लाग्यो। प्रयोगात्मक र व्यावहारिक शिक्षाको जगमा खिया लागेको छ, यसको सुधारमा तेरो भूमिका के हुन्छ भनेर प्रश्न सोधेजस्तो पनि लाग्यो। कताकता सकस अनुभव भयो।
मलाई त्यस विद्यालयको माथिल्लो कक्षाको उत्कृष्ट विद्यार्थीलाई भेटेर 'विज्ञान र स्टिम ल्याब' प्रयोग र सिकाइबारे बुझ्न मन लाग्यो। मैले ती विद्यार्थीलाई ल्याबमै बोलाएर त्यसको प्रयोग र सिकाइ सहजताका विषयमा केही जिज्ञासा राखेँ।
ती विद्यार्थीले विज्ञान र गणित जटिल विषय होइनन्, तर प्रयोगविहीन सिकाइले जटिल बनाएको छ भन्ने धारणा राखे। विद्यालयको स्टिम ल्याबका सबै सामग्री थन्किएको र त्यसमा कसैले पनि चासो नदिएको भन्ने गुनासो गरे। ल्याब एउटा संग्रहालय हो जहाँ सामग्री देखिन्छन् तर प्रयोगमा आउँदैनन् जस्तो स्थिति रहेको उनले बताए।
उनले धक नमानी मनको कुरा भने– शिक्षकलाई ल्याबमा विश्वास छैन, शिक्षकको ध्यान थ्योरी (सैद्धान्तिक) तर्फको अंकमा हुन्छ, ल्याबको ढोका त कोही नयाँ मान्छे आउँदा मात्रै खुल्ने हो।
किन यस्तो भएको हो भन्ने कुरा आफूले बुझ्न नसकेको उनले बताए।
उनले केही प्रश्न गरे– शिक्षकमा प्रयोगात्मक कक्षाप्रति किन विश्वास छैन? शिक्षकले प्रयोगात्मक कक्षा चलाउने तालिम पाएका छैनन्? कि विद्यार्थीलाई ल्याब प्रयोग गराउन झन्झट लाग्छ? मूल्यांकनले सिर्जनात्मक अभ्यास किन नचिनेको होला?
ती विद्यार्थीले करिब एकै सासमा आफ्नो गुनासाको भारी मतिर तेर्स्याए। म नाजबाफ थिएँ।
उनले फेरि भने–
म चाहन्थेँ क्षार र अम्लको परीक्षण आफै गरूँ, प्रकाशको आवर्तन आफै देखूँ। म आफूले बिजुलीको तार जोडेर बल्ब बाल्दा मेरो आत्मविश्वास पनि बल्छ। म आफू इलन मस्कको उचाइमा पुगेको सपना देख्छु। यो ल्याब विज्ञान छुने, महसुस गर्ने र आँखाले देख्ने थलो होओस् भन्ने ठान्छु।
यति भनेर उनी रोकिए। उनका हरेक शब्दले मेरो पेसागत जिम्मेवारी, मेरो पूर्वज्ञान र कार्यशैली एकै पटक मुर्छित गराएको थियो।
उनी फेरि बोले–
सर! विज्ञानमा त विद्यार्थीलाई प्रयोग गर्न दिनुपर्छ। किताबमा भन्दा धेरै पाठ त ल्याबमा नै हुनुपर्छ। यसो हुँदो पो ज्ञान, सीप र अनुभवले विद्यार्थी भविष्यको वैज्ञानिक र अनुसन्धानकर्ता बन्छ। यो ल्याब प्रयोगको व्यवस्था मिलाइदिन मेरो अनुरोध छ।
उनले मलाई सोधे, 'सर! अरू केही सोध्नु छ?'
मलाई भारी पुगिसकेको थियो। थप सोध्नुपर्ने केही पनि थिएन। टाउको हल्लाएर अब केही सोध्नु छैन भन्ने संकेत गरेँ। ती विद्यार्थीलाई कक्षामा जान अनुमति दिएँ।
विद्यालयको ल्याब उपयोगविहीन भएको, प्रयोगका लागि विषय शिक्षक र प्रधानाध्यापकले ध्यान नदिएको अनि विद्यार्थीको मनमा गुनासो रहेको थाहा पाएर म खिन्न भएँ।
हेर्छु, सामान राखिएका दराज उपकरणहरूको संग्रह मात्र भएका छन्, धूलोले छपक्क छोपिएका छन्। शिक्षकले ल्याब उपयोग गरेर विद्यार्थीमा प्रयोगात्मक सीप दिन सक्ने थिए, भविष्यका लागि उत्प्रेरणा दिन सक्ने थिए।
यस्तो केही पनि भएको थिएन।
मेरो मन गहिरो पीडाले भरियो। त्यही पीडाले एउटा संकल्प जन्मायो जसलाई 'आविष्कार र उत्पादनको जग मेरो विद्यालय' नाम दिएको छु।
यसै सन्दर्भमा छिमेकी देश चीनले गरेको प्रगतिको यात्रा हेरेर हाम्रो अवस्थाको विश्लेषण र आगामी कार्यदिशाका सन्दर्भमा यो लेख केन्द्रित गर्ने प्रयास गरेको छु।
नेपालमा विद्यालय शिक्षालाई आविष्कार र उत्पादनसँग जोड्न, शिक्षा प्रणाली व्यावहारिक, स्थानीय आवश्यकतामुखी र एक्काइसौं शताब्दीको सीपसँग सुसंगत बनाउने अभिप्रायले केही प्रयास भएको छ।
यस्तो प्रयास भए पनि हाम्रो पाठ्यक्रम सैद्धान्तिक शिक्षामा केन्द्रित छ। प्रयोगात्मक र उत्पादनमुखी शिक्षाको अभाव छ। शिक्षणविधि समस्या समाधानको क्षमता विकास गर्ने किसिमको छैन। विद्यार्थीलाई आविष्कारको अवसर पनि छैन।
ग्रामीण क्षेत्रका विद्यालयहरूमा उपकरण, इन्टरनेट र ल्याबको अभाव छ। आविष्कारकर्तालाई आर्थिक सहायताको प्रबन्ध छैन। कानुनी व्यवस्था छैन, बजार पहुँचमा सहयोग गर्ने परिपाटी छैन।
यस्ता कारणले नेपालमा आविष्कार र उत्पादनले गति लिन नसकेको कुरा सबैले स्वीकार गरेकै विषय हो।
नेपालको संविधानले राज्यको नीतिका रूपमा शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारीमूलक र जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने संकल्प गरेको छ।
उक्त नीति कार्यान्वयनमा जोड दिँदै विद्यालयहरूमा विज्ञान तथा स्टिम प्रयोगशाला स्थापना गर्ने र विश्वविद्यालय शिक्षा तथा सिटिइभिटी मार्फत जनशक्ति विकास गर्ने आंशिक प्रयास भएको छ। विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, २०७६ मा नवप्रवर्तनलाई समावेशी र दिगो विकाससँग जोड्ने नीति छ।
राष्ट्रिय अनुसन्धान परिषद, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, ग्रामीण स्तरका प्रविधि, जस्ता संस्थाले आविष्कार र यन्त्र निर्माणमा संस्थागत प्रयास गरेका छन्।
युवा विद्यार्थीहरूलाई किताबी ज्ञानमा सीमित नराखी सिर्जनशील, समस्या समाधान उन्मुख र स्वदेशमै रोजगारी सिर्जनामा सक्षम बनाउनु यस्तो प्रयासको उद्देश्य हो।
यसरी हेर्दा नेपालले आविष्कार र उत्पादनको क्षेत्रमा केही प्रयासहरू थालेको छ तर सीमित छ। यस्तो प्रयास न पूर्ण छ न नतिजामुखी नै।
हाम्रो देशको ज्ञान, विज्ञान र प्रविधिले राष्ट्रिय अर्थतन्त्रमा कति योगदान गरेको छ भन्ने तथ्यमा हामी प्रस्ट छैनौं। अधिकांश विद्यालयमा प्रयोगशाला, उपकरण, प्रशिक्षित शिक्षक लगायत अन्य स्रोतसाधन अभाव छ। कार्यगत क्षमतामा कमी र नीति कार्यान्वयन सुस्त देखिएको छ।
सबै शिक्षकमा अनुकरण, नवप्रवर्तन र आविष्कार बढावा गर्ने प्रयोगात्मक शिक्षणको तालिम पुगेको छैन। किताबी शिक्षणको परम्परागत शैली व्याप्त छ।
अझै पनि लिखित परीक्षामुखी मूल्यांकन प्रणाली छ। यसले व्यावहारिक शिक्षामा प्राथमिकता दिन सक्दैन। इमिटेसन (अनुकरण), इनोभेसन (नवप्रवर्तन) र इन्भेन्सन (आविष्कार) गर्ने सोच र कार्यवातावरण बनाउन सक्दैन। विद्यालय र स्थानीय उद्योग–उद्यमीबीच सहकार्य छैन। शिक्षा उत्पादनमुखी हुन सकेको छैन।
नेपालमा विद्यालय शिक्षालाई आविष्कार र उत्पादनसँग जोड्ने केही प्रारम्भिक प्रयासहरू भएका छन् तर अझै पनि संरचना, नीति कार्यान्वयन, शिक्षक प्रशिक्षण र स्रोतको पहुँच तथा निरन्तर प्रथमिकता जस्ता आधारभूत पक्ष निम्छरो अवस्थामा छ।
विद्यालय शिक्षालाई आविष्कार र उत्पादनसँग जोड्ने सन्दर्भमा बनेका नीति कार्यान्वयन, शिक्षक प्रशिक्षण, स्रोतको पहुँच र निरन्तर प्राथमिकतामा सीमितता छ।
यथास्थितिबाट यस्तो सीमितता हटाउन सम्भव छैन। यसमा नयाँ आयामको खोजी आवश्यक छ।
हाम्रो जस्तै सीमिताको परिवेशबाट जनशक्ति विकास, आविष्कार र उत्पादनमा आज सारा विश्वलाई रहरलाग्दो उदाहरण प्रस्तुत गरेको छिमेकी देश चीनबाट हामीले सिक्न सक्ने कुरा धेरै छ।
चीनले विद्यालय तहदेखि नै नवप्रवर्तनशील, उत्पादनमुखी र अनुसन्धानमुखी शिक्षा प्रणाली विकास गरेर शिक्षा र अर्थतन्त्रबीच गहिरो सहकार्य गरेको छ। यसले स्थानीय स्रोतसाधनको समुचित प्रयोग, मानव स्रोतको उपयोग र प्रविधिमा आत्मनिर्भरता सम्भव बनाएको छ।
बालबालिकामा नवप्रवर्तनशील क्षमता विकास गर्न थुप्रै उपायहरू अपनाएको छ। विज्ञान (साइन्स), प्रविधि (टेक्नोलोजी) इन्जिनियरिङ र गणित (म्याथम्याटिक्स) लाई एकीकृत गरेर 'स्टिम' शिक्षामा विशेष जोड दिएको छ।
विद्यार्थीलाई 'मेड इन चाइना' रणनीतिसँग जोड्न विद्यालय तहमै नवप्रवर्तन सिकाइन्छ। पाठ्यक्रम र शिक्षण पद्धति अनुसन्धान, प्रयोग र समाधान केन्द्रित छ। विद्यार्थीहरूलाई समाधानमुखी परियोजनामा संलग्न गराउने पद्धति छ।
धेरै विद्यालयहरूमा बालसंगत विज्ञान प्रयोगशाला र 'मेकर स्पेस' स्थापना गरिएको छ। कोडिङ, रोबोटिक्स, थ्रीडी प्रिन्टिङ जस्ता प्रविधि प्राथमिक कक्षादेखि नै पढाउने गरिएको छ।
चीन सरकारले हरेक वर्ष 'नेसनल युथ साइन्स एन्ड टेक्नोलोजी इनोभेसन कन्टेस्ट' आयोजना गर्छ। यो प्रतियोगिताले विद्यार्थीहरूलाई नवीनतम विचार र उत्पादनमा संलग्न गराउँछ। विद्यालयहरूले उद्योगसँग सहकार्य गरी व्यावहारिक सीप विकास कार्यक्रम चलाउने गरेका छन्।
सिक्ने अवधारणा व्यापक छ। एआई र बिग डाटा, आइओटी (इन्टरनेट अफ थिंक्स) जस्ता आधुनिक प्रविधि पनि माध्यमिक तहमै समावेश गर्न थालिएको छ।
चीनका धेरै विद्यार्थीले अन्तर्राष्ट्रिय विज्ञान र प्रविधि मेला जस्ता प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका छन्। शिक्षा र अनुसन्धानको सम्बन्ध मजबुत भएको छ।
यसले दीर्घकालीन वैज्ञानिक सोच विकास र उत्पादन क्षमता अभिवृद्धिमा योगदान गरेको छ। स्थानीय उत्पादन र टेक्नलजी स्टार्टअपमा विद्यार्थीको भूमिका बढ्दो छ।
यसरी चीनले विद्यालय तहदेखि नै शिक्षालाई आविष्कार र उत्पादनसँग जोड्दै दीर्घकालीन वैज्ञानिक र औद्योगिक विकासको आधार तयार पारेको छ।
चीनले शिक्षामा आमूल रूपान्तरण गर्ने यो सफलतामा पुग्न संकल्प र साधना गरेको छ, नतिजामुखी प्रक्रिया अपनाएको छ। शिक्षामा चीनले गरेको यो विकास हाम्रा लागि उदाहरणीय सिकाइ हुन सक्छ।
चीनले यो प्रक्रिया अनुकरण, नवप्रवर्तन र आविष्कार गरी तीनवटा मुख्य चरणमा अघि बढाएको हो।
यी प्रत्येक चरणमा विद्यालय, विश्वविद्यालय र नीति प्रणालीमा रूपान्तरण तथा पुनरसंरचना गरिएको छ। चीनले अनुकरण चरण सन् १९८०–२००० मा पश्चिमी प्रविधिको प्रतिलिपि गरेर सस्तो उत्पादनका आधारमा 'मेड इन चाइना' अघि बढायो।
चीनले जापान, अमेरिका र कोरियाको प्रविधिबाट सिक्यो। त्यसमा सुधार गर्दै अघि बढ्यो।
यस चरणमा प्राविधिक शिक्षाको प्रसारमा जोड दियो। व्यावसायिक विद्यालयमा लगानी बढायो। विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गर्दै शिक्षक र विद्यार्थीलाई अमेरिका र युरोप पठाएर प्रविधि, व्यवस्थापन र अनुसन्धानमा दक्ष बनाउने नीति लियो।
यसरी विद्यालयमा यान्त्रिक सीप, आधारभूत इन्जिनियरिङ र प्रयोगात्मक विज्ञानको व्यावहारिक शिक्षा सुरू भयो। यस कार्यले नै आविष्कार चरणमा जान आधार दियो।
हामी नेपालीले भने अझै पनि अनुकरण चरण नै व्यवस्थित गर्न सकेका छैनौं।
चीन अनुकरण चरणपछि सन् २०००–२०१३ मा नवप्रवर्तन चरणमा रह्यो। यसबाट पनि निस्केर हरेक उत्पादनमा सुधारसहितको नवीनतामा अघि बढेको छ। यस चरणमा हुवावे, टेन्सेन्ट, अलिबाबा जस्ता चिनियाँ कम्पनीहरूले विश्वस्तरीय प्रविधिमा टक्कर दिएका छन्।
चीनले शिक्षा प्रणालीमा पुनर्संरचना गरेर स्टिम शिक्षामा जोड दियो। मेकर एजुकेसन भनेर परियोजनामा आधारित शिक्षा विद्यालय तहमा विस्तार गर्यो।
चीनले शोध केन्द्र, विश्व विद्यालय र उद्योगबीच सहकार्य गरेर आविष्कार र उत्पादन थप गुणात्मक बनाउनमा प्राथमिकता दिएको छ। विश्वविद्यालयमा अनुसन्धान र विकासको 'हब' स्थापना गरेर निरन्तर खोज–अनुसन्धानमा जोड दिएको छ।
विद्यार्थीलाई आविष्कारमा प्रोत्साहित गर्ने राष्ट्रिय नीति छ। राष्ट्रियस्तरका आविष्कार प्रतियोगिता र छात्रवृत्ति योजना निरन्तर राष्ट्रिय प्राथमिकतामा राखिएका छन्।
चीन अनुकरण र नवप्रवर्तन चरण संस्थागत गरेर अघि बढेपछि सन् २०१३ पछि आविष्कारको चरणमा पुग्यो।
अहिलेको चीन आफ्नै मौलिक आविष्कार गर्ने मुलुक बनेको छ। एआई, क्वान्टम कम्प्युटिङ, ग्रीन इनर्जी र विद्युतीय गाडीमा संसारलाई चकित पार्ने नमूना प्रस्तुत गरिसकेको छ।
चीनले शिक्षा र संरचनागत रूपान्तरणमा निरन्तर काम गरिरहेको छ। नवप्रवर्तन चालित विकास रणनीति (इनोभेसन–ड्रिभन स्ट्राटेजी) कार्यान्वयन गरेको छ। 'डबल फर्स्ट–क्लास युनिभर्सिटिज' नीति लागू गरेर विश्वस्तरीय विश्वविद्यालय निर्माणमा लागेको छ।
'स्कुल–इन्टरप्राइजेज कोल्याबोरेसन' कार्यक्रम सघन रूपमा लागू गरेर विद्यालय र उद्योग बीच संयुक्त प्रयोगशाला, इन्टर्नसिप र उत्पादन परियोजना सञ्चालनमा छन्। ज्ञान निर्माणका लागि अनुसन्धान केन्द्रहरूमा उच्च लगानी गरिएको छ। एआई, रोबोटिक्स, क्लाउड कम्प्युटिङ जस्ता सीप विद्यालय तहमै सिकाइन्छ।
यस्तै प्रयासले आजको चीन आविष्कार र उत्पादनको उदाहरणीय मुलुक भएको छ। हुवावेको प्रविधि पश्चिमी देशहरूभन्दा अघि छ।
चीनको विद्युतीय गाडी उत्पादक बिवाइडी अमेरिकाको टेस्लासँग प्रतिस्पर्धामा छ। विश्वकै सबभन्दा ठूलो र तीव्र गतिको रेल चीनले नै चलाएको छ।
हामी पनि चीनको अभ्यासबाट सिक्दै 'आविष्कार र उत्पादनको जग मेरो विद्यालय' भन्ने आदर्शलाई विद्यार्थीको संकल्प र साधना बनाउन सक्ने गरी विद्यालय शिक्षा पुनर्संरचना गर्न सक्छौं। विद्यालय शिक्षालाई आविष्कार र उत्पादनसँग जोड्ने नवीन आयाम खडा गर्न सक्छौं।
यस कामका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग पालिकागत रूपमा प्रभावकारी ढंगले सहकार्य गरी शिक्षक र विद्यार्थीमा आविष्कार र उत्पादनको चेतना विकास गर्न सकिन्छ। विज्ञान शिक्षणको प्रायोगिक र उत्पादनमूलक अभ्यास गर्न सकिन्छ।
यस्तो अभियानले विद्यालयलाई सिर्जनशील र समाधानमुखी शिक्षाको थलो बनाउन तथा विद्यार्थीमा स्थानीय समस्यामा आधारित नवप्रवर्तनशील सोच विकास गराउन सकिन्छ। पढेर जागिर खोज्नेभन्दा सिकेर समाधान निकाल्ने तथा आविष्कार, उद्यम र उत्पादनमा जोड दिने संस्कार विकास गर्न सकिन्छ।
विद्यार्थीहरूलाई बाल्यकालमै अनुकरण, नवप्रवर्तन र आविष्कार को यात्रामा व्यवस्थित ढंगले अघि बढाउन सकिन्छ।
महावीर पुनले स्थापन गरेको राष्ट्रिय आविष्कार केन्द्रले ग्रामीण समस्याहरूको प्रविधियुक्त समाधानको उपाय खोजेको छ। युवा, विद्यार्थी, शिक्षक र प्राविधिकलाई नवप्रवर्तन र आविष्कारमा जोड्न संकल्परत छ।
यस केन्द्रले आफ्ना समस्या समाधानका लागि 'आफै गर्नुहोस्' भन्ने भावना र साधना विकासमा वातावरण र बल दिएको छ। यस संस्थाले अनुकरण, नवप्रवर्तन र आविष्कारको व्यवस्थित अभ्यास गर्न संस्थागत र व्यवहारगत नमूना प्रस्तुत गर्दैछ। यो संस्थाको भाव विद्यालय तहका विद्यार्थीसम्म पुर्याएर समग्र शिक्षामा सुधार गर्न सकिन्छ।
हाल तीनवटै तहका सरकारले ल्याब र शिक्षक तालिममा गरेको खर्च पुनर्संरचना गरी उत्पादनमुखी बनाउन सकिन्छ।
स्थानीय तहहरूले विद्यालय स्तरबाटै विद्यार्थीमा नवप्रवर्तन, आविष्कार र उत्पादनको सोच, व्यवहार र साधना सिर्जना गर्न राष्ट्रिय आविष्कार केन्द्रलाई उत्प्रेरक संस्था मानेर सहकार्य गर्ने अवसर छ।
यसो गर्दा राष्ट्रिय आविष्कार केन्द्र र विद्यालय शिक्षाको समग्र लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ। यस कामका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई थप सशक्तीकरण गर्न सरकारी सहयोग आवश्यक हुन्छ।
शिक्षकलाई आविष्कार केन्द्र र विज्ञान विषयको पाठ्यक्रम विकासमा संलग्न विज्ञको उपस्थितिमा तालिम दिनुपर्छ। यसरी विद्यार्थीलाई अनुकरण, नवप्रवर्तन र आविष्कारतर्फ अघि बढाउने गरी शिक्षण गर्नुपर्छ।
विज्ञान शिक्षकलाई आविष्कार र उत्पादन सहजकर्ताका रूपमा परिचालन गर्नुपर्छ। विद्यालयमा स्टिम ल्याब स्थापना र सुदृढीकरण गर्नुपर्छ। स्थानीय तहले प्रत्येक माध्यमिक विद्यालयमा नवप्रवर्तन प्रयोगशाला स्थापना गर्नुपर्छ।
विद्यार्थीलाई आफ्नो ठाउँको कुनै समस्याको समाधान खोज्ने परियोजना दिनुपर्छ। विद्यालयस्तरीय आविष्कार मेला र स्थानीय तहस्तरीय नवप्रवर्तन प्रदर्शनी आयोजना गर्नुपर्छ। विद्यालयमा विज्ञान नवप्रवर्तन क्लब स्थापना गरेर विद्यार्थीहरूलाई सामूहिक सोच, छलफल र निर्माणतर्फ अघि बढाउनुपर्छ।
नीति, योजना, स्रोत र अनुगमनका लागि संयोजन गर्ने निकायका रूपका विज्ञान शिक्षक र विद्यार्थीको सहभागिता रहने गरी स्थानीय तहस्तरीय समन्वय समिति गठन गर्नुपर्छ।
रटेर लेख्नेभन्दा बढी सिकेको प्रयोग गर्न सक्ने आन्तरिक मूल्यांकन प्रणाली विकास गर्नुपर्छ। विद्यार्थीलाई विद्यालय, नगरपालिका, आविष्कार केन्द्र, स्थानीय व्यवसाय र प्राविधिक कलेजका बीच एकआपसमा सहकार्य गर्ने चक्रमा जोड्नुपर्छ जसमार्फत उनीहरूले आफ्नो विचार वा उत्पादन विस्तार गर्न सकून्।
यसरी संघ, प्रदेश र स्थानीय तहबाट समन्वयात्मक रूपमा स्पष्ट नीति, स्रोत परिचालन र ठोस कार्यक्रम लागू गर्न सक्ने हो भने विद्यालयलाई ज्ञान तथा सीपको मात्र होइन आविष्कार र उत्पादनको जगमा रूपान्तरण गर्न सकिन्छ।
संविधानले दिएको अधिकारभित्र रही नेपालका स्थानीय तहहरूले विद्यालय शिक्षालाई आविष्कार र उत्पादनको जग बनाउन सम्भव छ।
विद्यालयलाई आविष्कार र उत्पादनको जग बनाउन विद्यार्थी, शिक्षक, अभिभावक र समुदायबीच बलियो सहकार्य आवश्यक पर्छ। विद्यार्थीहरूलाई कक्षाकोठाबाट बाहिर पुर्याएर प्रयोगात्मक सिकाइ (फिल्ड–बेस्ड लर्निङ) मा जोड दिनुपर्छ।
विद्यालयमा स्थानीय उद्यमी र सीपयुक्त व्यक्तिलाई पनि प्रशिक्षक बनाउने अभ्यास गर्नुपर्छ। बालवैज्ञानिक पुस्तकालय, विज्ञान प्रयोगशाला र आविष्कार कक्ष स्थापना गर्नुपर्छ।
नेपालमा विद्यालय शिक्षालाई आविष्कार र उत्पादनको मेरूदण्ड बनाउने सपना तब मात्र साकार हुन्छ, जब हामी शिक्षालाई अनुकरणबाट नवप्रवर्तन हुँदै मौलिक आविष्कारतर्फ अघि बढाउँछौं।
यसनिम्ति शिक्षकको सशक्तीकरण र स्थानीय तहको सक्रियता आवश्यक पर्छ। संघ, प्रदेश र स्थानीय तहको समन्वय र प्रतिबद्धता अपरिहार्य छ। राष्ट्रिय आविष्कार केन्द्रलाई अगुवा उत्प्रेरक संस्थाका रूपमा सहकार्य गर्ने गरी अघि बढाउनुपर्छ।
मैले विद्यालय अनुगमनका क्रममा भेटेका ती विद्यार्थी एक प्रतिनिधि पात्र हुन्। तिनको अपेक्षा पनि प्रतिनिधिमूलक हो। ती विद्यार्थीको सपना राष्ट्रको हो। राष्ट्रको मुहार, गति र गौरव त्यस्तै विद्यार्थीको सोच, संकल्प र सफलतामा निर्भर रहन्छ।
ती प्रतिनिधि विद्यार्थीलाई सम्झिँदा म नतमस्तक हुन्छु।
(लेखक कावासोती नगरपालिकाका शिक्षा अधिकृत हुन्।)