पछिल्लो समय काठमाडौंमा मःमपछि सबभन्दा लोकप्रिय परिकार बनेको छ यःमरि। स्थानीय रेस्टुरेन्टदेखि ठूला होटलले समेत यःमरिलाई आफ्नो मेनुमा सामेल गर्न थालेका छन्।
व्यावसायिक रूपले विस्तार हुँदै गएको नेवाः समुदायको यो मौलिक परिकार अब कुनै सामान्य खानेकुरा मात्र रहेन। सरकारले यसलाई नेपालको राष्ट्रिय सांस्कृतिक सम्पदाका रूपमा सूचीकरण गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेवारहरूले मनाउने य:मरि पुन्हि (पूर्णिमा) लाई अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सामेल गरेको हो।
विभिन्न समुदायको पहिचान र अभिलेखीकरणमार्फत् सम्पदा संरक्षण गर्ने उद्देश्यअनुरूप य:मरिलाई राष्ट्रिय सूचीमा राखिएको मन्त्रालयले जनाएको छ।
अमूर्त सांस्कृतिक सम्पदा भनेका त्यस्ता सम्पदा हुन्, जुन समुदायले एक पुस्ताबाट अर्कोमा हस्तान्तरण गर्छन्। यसमा सांस्कृतिक अभ्यासदेखि ज्ञान र सीपहरूको विस्तृत श्रृंखला समावेश हुन्छ। त्यसमध्ये य:मरि पनि एक हो।
नेवाः समुदायमा यःमरि कति लोकप्रिय छ भन्ने यसको नामबाटै थाहा हुन्छ। नेपाल भाषामा 'यः' को अर्थ मनपर्ने र 'मरि' को अर्थ रोटी हो।
नेवाः समुदायको यही मन पर्ने रोटी हिजोआज काठमाडौं उपत्यकाकै प्रिय परिकार बनेको छ। कुनै पनि नेवारी खाजाघर पस्नुस्, तपाईंले यःमरि खान पाइहाल्नुहुन्छ। पहिले पहिले य:मरि पुन्हिको दिन मात्र बनाइने यो नेवारी 'डिजर्ट' हिजोआज बाह्रै महिना पाक्छ।
यःमरि पुन्हि दिन र रातको लम्बाइसँग पनि जोडिएको छ। यःमरि बनाउने रातलाई वर्षकै लामो रात मानिन्छ।
केही वर्षअघि यःमरि पुन्हि नजिकिएका बेला हामीले पाटनस्थित 'रैथाने खाजाघर' मा परम्परागत शैलीको यःमरि पकाएका थियौं। काठमाडौं नरदेवीकी शोभिता महर्जनले हामीलाई यःमरि बनाएर देखाएकी थिइन्।
उनले लामो रातबारे जानकारी दिँदै भनेकी थिइन्, 'यःमरिको आकारले पनि रातको संकेत गर्छ। यसको माथिल्लो चुच्चो जति लामो भयो, रात त्यति नै लम्बिन्छ भन्ने विश्वास गरिन्छ। धानबाट चामल कुट्ने, त्यसलाई पिनेर पिठो बनाउने अनि यःमरि पकाएर खाएको रात कति लामो थियो होला सोच्नुस् त!'
त्यही भएर नेवार समुदायमा एउटा भनाइ छ – जेष्ठ शुक्ल पूर्णिमा (वर्षको लामो दिन) मा काम गरेर नपुग्ने र मंसिर शुक्ल पूर्णिमा (छोटो दिन, लामो रात) को अघिल्लो रात सुतेर पनि नपुग्ने मान्छे जिन्दगीमा कहिल्यै सुखी हुँदैन!

यःमरि पुन्हिपछि चिसो पनि बढ्छ। यःमरि खाएपछि बाँकी तीन महिनाको ठन्डीमा न्यानो अनुभव हुने विश्वास गरिन्छ। यसभित्र रहेको चाकु र तिलले शरीरको तापक्रप सन्तुलित राख्न सहयोग पुर्याउँछ। पौष्टिक तत्वले भरिपूर्ण, स्वस्थकर, चिल्लोरहित र चपाउन निकै सजिलो यो परिकार जुनसुकै उमेर समूहले सजिलै खान सक्छन्।
राति पकाएको यःमरिले चिसो कति छ भन्ने संकेत पनि दिन्छ। राति पकाइएको यःमरि बिहानसम्म जति फुट्छ, त्यसकै आधारमा जाडो नाप्ने चलन छ।
हिजोआज यःमरि मःम पकाउने भाँडामा पकाइन्छ। तर परम्परागत तरिका यो होइन। परम्परागत भाँडाहरू फोसी (कसौंडी आकारको तामाको भाँडा), पटासी (स–साना प्वाल भएको माटाको भाँडा) र भेगाः (माटाको छोप्ने भाँडा) हुन्।
यःमरि पकाउन सबभन्दा पहिले फोसीमा पानी राख्नुपर्छ। फोसीमाथि पटासी र पटासीमा पराल राखिन्छ। अनि, त्यसमाथि यःमरि। यसलाई माथिबाट भेगाःले छोप्नुपर्छ। करिब २० मिनेटपछि यःमरि पाक्छ।
यःमरि चामलको पिठोबाट बन्छ। पानीमा पिठो मुछेपछि लाम्चो बिमिरोजस्तै चुच्चो परेको आकारमा ढालिन्छ। त्यसको मुख बन्द गर्नुअघि भित्र स्वादअनुसार तताएको चाकु, खुवा हाल्न सकिन्छ र आकार दिएर बन्द गरिन्छ। कतिपयले आमा र बुबाको प्रतीकका रूपमा 'मायः' र 'बायः' भनेर अलिक ठूलो यःमरि पनि बनाउँछन्।
पूर्वतिर थारूहरूले बगिया भनेर आलु, दाल लगायत खानेकुरा यःमरिजस्तै आकारमा पकाउँछन्। यसरी यःमरि भरेर आकार दिएपछि पाक्न तयार हुन्छ।
यसको आकार किन यस्तो हुन्छ भनेर मलाई पनौतीका स्थानीय पूर्णभक्त कोङ्गाले बताएका थिए, 'मंसिरमा नयाँ धान आउँछ। चामलको पिठो पिनेर त्यसबाट बनेको पहिलो खानेकुरा भगवानलाई चढाउनुपर्छ। जुन आकारमा भगवानलाई यःमरि चढाइन्छ, त्यो धानको थुप्रोजस्तै देखियोस् भनेर यस्तो आकार बनाइएको हो। यो भनेको सृष्टिकर्तालाई धन्यवाद र सम्मान दर्शाउने माध्यम पनि हो।'
मैले 'सहरको कथाः पनौती श्रृंखला' लेख्ने बेला पनौतीका स्थानीय पूर्णभक्त र स्थानीय लेखक सूर्यप्रसाद लाकाजूसँग यःमरिबारे कुराकानी गरेको थिएँ। उनीहरूले मलाई यःमरिसँग जोडिएका दुइवटा कथा सुनाएका थिए।

पहिलो कथा
पनौती (पाञ्चाल) को एउटा किसान परिवारको घरमा एकदिन उनका ज्वाइँ काठमाडौंदेखि आएछन्। आउँदा आउँदै साँझ परिसकेको थियो।
ज्वाइँ त आए तर उनलाई खुवाउने के? किसान दम्पतीलाई आपत पर्यो।
उनीहरूले भर्खरै धान घरमा भित्र्याएका थिए। त्यसलाई हतार हतार कुटेर पिसे। त्यही पिसेर ल्याएको पिठोको खानेकुरा खुवाउने भन्दै मज्जाले मुछे।
घरमा अलिकति चाकु थियो। मुछेको पिठोलाई सोलीजस्तो आकार दिएर उनीहरूले त्यसमा चाकु, तिल, नरिवल लगायत विभिन्न मसला हाले। त्यसलाई मःमजस्तै पकाए र ज्वाइँको अगाडि पेस गरे।
नौलो परिकार देखेपछि ज्वाइँले सोधे, 'यो के हो सासुआमा?'
'पहिला खानुस् अनि भन्नुस् त कस्तो छ,' सासुले भनिन्।
ज्वाइँले क्वाप्प मुखमा हाले र भने, 'मिठो रहेछ सासुआमा।'
'मनपर्यो नि?' सासुले सोधिन्।
'एकदमै मनपर्यो।'
'हो, तपाईंलाई मनपर्यो भने यसको नाम नै मनपर्ने रोटी हो,' उनले नेपाल भाषामा भनिन्, 'यःमरि।'

दोस्रो कथा
पाञ्चाल देश (पनौती) मा एक जना सुचन्द्र नाम गरेका महाजन थिए। उनी एकदमै धर्मात्मा थिए। उनकी श्रीमती पनि दयालु र लक्षणकी थिइन्।
धन र सम्पत्तिले पूर्ण यी दम्पती सुखपूर्वक आफ्नो जीवन गुजारा गरिरहेका थिए। उनीहरूलाई एउटै कुराको अभाव खट्कन्थ्यो। त्यो हो, सन्तान सुख। उनीहरूको कुनै सन्तान थिएन।
सुचन्द्र र उनकी पत्नी भगवान विष्णुका भक्त थिए। एकपटक मार्गशुक्ल पूर्णिमाको दिन सुचन्द्र दम्पतीले सरसफाइको काम सकेर शुद्ध तरिकाले यःमरि पकाउन लागे। त्यही बेला भगवान कुबेरलाई उनीहरूको परीक्षा लिन मन लागेछ।
कुबेरले सुचन्द्र दम्पतीको धेरै गुणगान सुनेका थिए। त्यही भएर उनीहरू कत्तिको दयालु रहेछन् भनेर कुबेरलाई जाँच्न मन लागेछ।
उनी भेष बदलेर गरिब ब्राह्मणको रूपमा सुचन्द्र दम्पतीका घर आए र भिक्षा माग्न थाले।
झ्यालबाट सुचन्द्रकी श्रीमतीले हेरिन्। एउटा गरिब बूढो ब्राह्मण पिँढीमा बसेर भिक्षा माग्दै गरेको देखेर उनलाई माया जायो। उनले ती ब्राह्मण रूपधारी कुबेरलाई आफ्नो घरभित्रै बोलाइन् र भर्खर पकाएको तातो तातो यःमरि खुवाएर पठाइन्।
श्रद्धापूर्वक आफूलाई भोजन गराएकाले ब्राह्मणको भेषमा आएका कुबेर प्रसन्न भए र आफ्नो असली रूपमा फर्किए।
कुबेरले आफ्नो परिचय दिइसकेपछि धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र आफ्नै प्रतिरूप राखी यःमरिका साथ विधिपूर्वक पूजा गर्न भने।
उनले आफूसँग ल्याएको बिमिरो पनि उनीहरूका हातमा थमाइदिए र भने, 'यसलाई ढुकुटीमा चार दिन राख्नू।'
त्यसपछि कुबेर अन्तर्ध्यान भए।
सुचन्द्र दम्पतीले चार दिनपछि ढुकुटी हेर्दा त्यो बिमिरो सुनमा परिणत भइसकेको थियो। कुबेर उनीहरूको घर आएको दिन मंसिर शुक्ल पूर्णिमा थियो।
यो कथाझैं यःमरि पुन्हीको दिन नयाँ धान भित्र्याएपछि भकारी पूजा गर्ने चलन छ। भकारीमा १२ वटा यःमरि राखेर गणेश, लक्ष्मी, कुमार लगायत भगवान माथिबाट राखिन्छ। पूजा गरेको त्यो यःमरि चार दिनपछि सेकाएर खाइन्छ।
माथिको कथामा उल्लिखित पात्र सुचन्द्र महाजनको नाम लिच्छविकालीन ग्रन्थमा पाइन्छ। अंशुवर्मा पालाको बौद्ध ग्रन्थ 'रत्नमालाअवदान' मा पनौतीमा सुचन्द्र महाजन दम्पती बसोबास गर्छन् भनेर लेखिएको छ।

य:मरिलाई राष्ट्रिय सूचीमा समावेश गराउन आयोजित कार्यक्रममा सम्पदा विशेषज्ञ डा. मोनालिसा महर्जन सहभागीहरूलाई तालिम दिँदै। तस्बिर स्रोत: शंकर महर्जन
यःमरिसँग जोडिएको गीत पनि पनौतीमा छः
'यःमरि चुई चुई, छुचुँ मरि आईं,
ब्युसाः ल्यासे मब्युसा बुरिकुति'
यो गीतमा भएको शब्द 'ब्युसाः ल्यासे मब्युसा बुरिकुति' ले भन्छ – यःमरि दियो भने तरूनी, नत्र बूढी।
काठमाडौंको गीत भने अलिकति फरक छः
'त्यः छिं त्यः, बकछिं त्यः
लातापाता कुलिंचा जुस्सिं त्यः'
काठमाडौंका स्थानीय किरण मानन्धरका अनुसार यःमरि माग्न जाँदा धान, चामल पनि दिने चलन छ। उनका अनुसार गीतका हरफले भन्छन्, 'चार माना भए पनि हुन्छ, आधा माना भए पनि। जतिसुकै भए पनि हुन्छ।'
यी गीतहरूले पनि यःमरिको लोकप्रियता जनाउँछ।
पनौतीको जस्तै यःमरिसँग जोडिएको कथा ललितपुरमा पनि छ। यो कथा राजनलाल जोशीले 'नेवार संस्कृतिमा योमरिको अन्तरदर्शन' नामक लेखमा उल्लेख गरेका छन्।
लेखका अनुसार भाषा वंशावलीले यःमरिलाई लिच्छविकालीन खानेकुराका रूपमा वर्णन गरेको छ।
वंशावलीअनुसार अंशुवर्माको समयभन्दा अघिसम्म काठमाडौं उपत्यकाको खेतबारीमा कोदालोले खन्ने चलन थिएन।
पहिलोपटक ललितपुरका बलभद्रले धान उब्जाएर किसानहरूलाई सिकाएपछि यःमरि बनाउने चलन सुरू भयो। स्थानीय बासिन्दा बलबल भन्ने व्यक्ति नै बलभद्र भएको मान्यता राख्छन्। ललितपुर तःबहालमा हलोसहितको बलबलको मूर्ति पनि राखिएको छ। नेपाल सम्बत् १०९ मा निर्माण गरिएको यो मूर्तिमा मंसिर पूर्णिमाको दिन यःमरि चढाउने परम्परा पनि छ।
यी कथा र अभिलेख हेर्दा नेवाः समुदायले यःमरिलाई आ–आफ्नै ठाउँको सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्न खोजेजस्तो देखिन्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने यसलाई सम्पूर्ण नेवारहरूको सम्पदा मान्दै राष्ट्रिय सम्पदाका रूपमा मान्यता दिएको हो।

यःमरि (पुन्हि) लाई सम्पदाका रूपमा सूचीकृत गर्न ललितपुरका नेवार समुदायले अहम् भूमिका निर्वाह गरेका छन्। विज्ञका रूपमा सहजीकरण गर्न सम्पदा संरक्षणमा पिएचडी गरेकी मोनालिसा महर्जनको हात छ।
मन्त्रालयले यो वर्षको वैशाख मसान्तसम्म सूचीकरणका लागि आवेदन पेस गर्न भनेको थियो। मोनालिसाका अनुसार १०५ वटा आवेदन पेस भएका थिए, जसमा ललितपुरले पठाएको यःमरि मात्र सूचीकृत भएको हो।
'यःमरिलाई सूचीकरण गर्न पनि पनौती र भक्तपुरबाट पनि आवेदन आएको रहेछ। तर आवेदनको प्रक्रिया नपुगेकाले ललितपुरको मात्र सफल भएको हुनसक्छ। जे भए पनि यो ललितपुरको मात्र होइन, नेवाः समुदाय र सम्पूर्ण नेपालीकै लागि खुसीको कुरा हो,' उनले भनिन्, 'हामीले पनि कुनै ठाउँ विशेषको परिकारभन्दा नेवाः समुदायकै परिकार र पर्व हो भनेर आवेदन पेस गरेका थियौं।'
यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठसँग कुरा गर्दा उनले अन्य समुदायको आवेदन प्रक्रिया पूरा नभएकाले सूचीकरण नभएको बताए।
'त्यसो भन्दैमा अरू समुदायको परिकार नराम्रो थियो भन्ने होइन,' उनले भने, 'यसपटक पहिलो भएकाले हामीले राम्ररी तालिम दिन सकेनौं। तैपनि तीन–चार महिनाको समयमा त्यति धैरै आवेदन आउँछ भन्ने सोचेकै थिएनौं। अर्कोपटक स्थानीय र संघीय सरकारको पहलमा तालिम दिने तयारी गरिरहेका छौं।'
य:मरि राष्ट्रिय सूचीमा पर्नुका फाइदा पनि उनले औंल्याए।
'यःमरि नचिन्ने समुदायले पनि यसको महत्त्व थाहा पाउँछन्,' उनले भने, 'यःमरिको दस्तावेज भएकाले अब पुस्तान्तरणको समस्या हुन्न। त्यो समुदायसँग सहकार्यको अवसर बन्छ। यःमरि बनाउन चाहनेले अब दस्तावेज हेरेर बनाउन सक्छन्।'
यसबाहेक युनेस्को लगायतका अन्तर्राष्ट्रिय निकायमा सूचीकृत गरेर अन्तर्राष्ट्रियकरण गर्न पनि सकिने उनले बताए।
ललितपुरले य:मरि सूचीकरणका लागि आवेदन भर्न के–कस्तो तयारी गरेको थियो त?
मोनालिसाले आवेदनबारे थाहा पाउनेबित्तिकै पाटनका २१ जाति खलःलाई भेला गराएर यसबारे जानकारी दिइन्। उनीहरूलाई राष्ट्रिय सूचीमा आफ्नो समुदायको अमूर्त सम्पदा किन सूचीकरण हुनुपर्छ भनेर त्यसको फाइदा बताइन्।
मोनालिसाले हामीलाई पनि सूचीकरण हुनुको फाइदा बताउँदै भनिन्, 'अमूर्त सम्पदाका रूपमा सूचीकृत हुनु भनेको त्यो सम्पदा कसरी बचेको छ वा सञ्चालन भइरहेको छ भनेर त्यसको तौरतरिका जोगाउनु हो। जस्तो — एउटा गीत सूचीकरण गर्ने हो भने त्यो गीत गाउने विधि र तरिका पनि जोगाउनु हो। त्योसँगै त्यसले पाउने चर्चा त छँदैछ!'
सम्पदा सूचीकरण गर्नुको महत्त्व थाहा पाइसकेपछि ललितपुरका नेवाः समुदायले आफ्नो समुदायका थुप्रै रितिथिति, जात्रापर्वहरू सूचीकरण गर्न छलफलमा प्रस्ताव राखेका थिए। अन्तिममा सबै नेवाः समुदाय समेट्ने पर्वका रूपमा यःमरिलाई समावेश गर्ने सहमति भयो।

नेवाः समुदायका विभिन्न अवसरमा पनि य:मरि जोडिन्छ। खासगरी १२ वर्ष उमेरसम्मका बालबालिकालाई जोर जन्मदिन (२, ४, ६, ८, १०, १२) मा यःमरिको माला लगाएर खुसियाली मनाइन्छ। गर्भवती महिलालाई बच्चा जन्माउनुअघि माइतीबाट यःमरिसहित विभिन्न परिकारको भोज खुवाइन्छ।
ज्याःजंकु (जेष्ठ नागरिकको पास्नी जस्तो उत्सव) र अन्य पर्व र पूजामा पनि बनाइन्छ। यःमरिको आकार र त्यसभित्र हाल्ने सामग्री पनि पर्व र स्वादअनुसार फरक हुन्छ। तर परम्परागत शैलीमा चाकु, तिल हालेर बनाइने हो।
'त्यही परम्परागत शैली पछ्याएर ललितपुरको समूहले यःमरि पुन्हिका दिन बनाइने यःमरिलाई सूचीकरण गर्न प्रक्रिया थालेको हो,' महर्जनले भनिन्, 'यसले हाम्रो अनुसन्धान धेरैतिर छरिएन।'
यति मात्र होइन, उनीहरूले यःमरि पकाउने कार्यक्रम आयोजना गरे र त्यसको भिडिओ र फोटोको दस्तावेज पनि राखे। कार्यशालामा संकलन भएका कथा र जानकारीको पनि दस्तावेज तयार पारे।
यःमरि सूचीकरणमा सुरूदेखि जोडिएकी ललितपुर छाबहाःकी सुप्रभा शाक्य पनि ललितपुरका नेवार समुदायले गरेको अथक मिहिनेत र प्रयास सार्थक भएको बताउँछिन्।
'यःमरि एकदम मनपर्ने परिकार हो तर बनाउन गाह्रो हुन्छ। तिल छान्ने, चाकु पगाल्ने, पिठो मुछ्ने सबै धेरै मिहिनेत पर्ने काम हो। यो सूचीकरण प्रक्रिया पनि यःमरि बनाउनुजत्तिकै मिहिनेत पर्ने काम थियो,' उनले भनिन्, 'सूचीकरण गर्दा कुनै पनि बनावटी कुरा राख्न नहुने रहेछ। हाम्रो समुदायको जाति, इतिहासदेखि सबै कुरा त्यसमा मौलिक हुनुपर्ने रहेछ। हामीले फितलो पाराले काम गरेका थिएनौं। त्यही भएर मलाई सुरूदेखि हामी सफल हुन्छौं भन्ने नै लागेको थियो।'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसपालि पहिलोपटक अमूर्त सांस्कृतिक सम्पदाका रूपमा राष्ट्रिय सूचीमा सूचीकरण गर्न आवेदन खुला गरेको थियो। पहिलोपटक भएकाले पनि धेरैको आवेदन प्रक्रियामै समस्या भएको हुनसक्ने मोनालिसाको ठम्याइ छ।
'ललितपुरले जुन प्रक्रिया अपनाएको छ र जसरी आफ्नो मनपर्ने रोटी यःमरिलाई राष्ट्रिय सम्पदाको मान्यता दिएको छ, त्यसबाट अन्य समुदायले पनि प्रेरणा लिन सक्छन्,' मोनालिसाले भनिन्।
सबै तस्बिर स्रोत: शंकर महर्जन
***