नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउनेबारे केन्द्रीय कमिटीमा राखेको फरक मत अन्तपार्टी निर्देशनमा समावेश नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले केन्द्रीय कमिटीको नवौं बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने गरी गरेको निर्णयमा तीन जनाको लिखित असहमति रहेको र त्यसलाई छलफल गरिनुपर्ने बताए।
साउन ६ गते सकिएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले लिखितरूपमै फरक मत राखेका थिए।
तर अपानि पठाउँदा फरक मत उल्लेख नगरिएकाले अहिले एमालेभित्र बहस भइरहेको छ।
‘हामीले राखेको विषय घामजत्तिकै छर्लंग छ। अहिलेको पार्टी खुला हो, गोप्य होइन। कसले के बोल्यो भन्नेकुरा बाहिर आएकै छ,’ उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा निर्णय सुनाउनेबित्तिकै हामीले तुरून्तै नोट अफ् डिसेन्ट लेख्ने कुरा तुरून्तै गरेको हो। म र युवराज्ञ ज्ञवालीले सँगै हस्ताक्षर गरेका छौं।’
उनले नोट अफ् डिसेन्टमा लेखिएको कुरा सार्वजनिक भइसकेको बताउँदै त्यसका अन्तर्वस्तुबारे छलफल हुनुपर्ने पनि बताए।
‘हाम्रो नोट अफ डिसेन्ट कायम छ। त्यो सार्वजनिक भएकै कुरा हो। फलाना–फलानाले विरोधमा बोल्नुभयो, नोट अफ डिसेन्ट लेख्नुभयो भनेर त्यतिबेलै आइसकेको छ,’ उनले भने।
उनले अपानि जारी गर्दा फरक मत लेख्नेहरूलाई सोध्नुपर्ने बताए। नोट अफ डिसेन्टलाई पनि अपानिको अंग बनाउँदै तल लैजानुपर्ने आफ्नो मत रहेको उनले बताए।
‘उहाँहरूले सोध्नुपर्थ्यो, यो अपानिमा तल लैजान चाहनुहुन्छ कि हुँदैन? कसैले मेरो भिन्न मत रहन्छ, तर अपानिमा लैजान चाहन्न भन्न सक्छन्र। तर उहाँहरूले सोध्दै नसोधी अपानि जारी गर्नुभयो।’
उनले आफूहरूको अडान (विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउन नहुने) परिवर्तन नहुने बताउँदै यसलाई आगामी केन्द्रीय कमिटीको बैठकमा अझ व्यवस्थित ढंगले उठाउने बताए।
उपाध्यक्ष युवराज ज्ञवालीले पनि फरक मत अन्तरपार्टी निर्देशनमा नपठाइएको भन्दै असन्तुष्टि राखेका छन्।
सेतोपाटीसँग शुक्रबार कुराकानी गर्दै एमाले उपाध्यक्ष ज्ञवालीले पार्टी कमिटी बैठकमा लिखित रूपमा राखेको असहमति छलफलका लागि पठाउने परम्परा रहेको बताउँदै अहिले नपठाइएको विषय आगामी केन्द्रीय कमिटी बैठकमा राख्ने बताएका छन्।
महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकमा कर्ण थापा बाहेकको फरक मत नै नआएको अभिव्यक्ति दिएपछि यस विषय बहसमा आएको हो।
‘हामीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउनु हुँदैन भनेर केन्द्रीय कमिटीमा बोलेका पनि छौं। लिखित रूपमै बहस नोटमा रहेका साथीहरूलाई बुझाएका पनि छौं,’ ज्ञवालीले सेतोपाटीसँग भने, ‘उहाँहरू (अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल) ले थाहा पाउनुभएको छैन कि! केन्द्रीय कमिटीमा लिखित रूपमा राखेको असहमति अपानिमा पठाउने चलन थियो। किन पठाइएन? यसबारे कमिटीका बैठकमा हामी कुरा राख्छौं।’
उनले केन्द्रीय कमिटीमा आफूहरूले राखेको असहमति लगायत उठेका विषय विधान महाधिवेशनको हलमा पनि राख्ने बताए।
‘केन्द्रीय कमिटी बैठकमा राखेका विषय हामीले अहिले पनि बोल्दै आएका छौं। मैले पनि बोलेको छु, सुरेन्द्र पाण्डेजीले पनि बोलिराख्नुभएको छ। केन्द्रीय कमिटीमा हामी दुई जनाले एउटै विषय राखेको हो। कर्ण थापाको केही कुरा (नेतृत्वमा ७० वर्षे उमेरहद र दुई कार्यकालको विषय) थपिएको पनि होला। यसबारे बहस हुन्छ, छलफल हुन्छ,’ उनले भने।
यो पनि: सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतलाई एमालेले दिएन मान्यता