मध्याह्नतिर हुँदो हो, बाहिरबाट ढोका 'ढकढक' गरेको आवाज आयो।
दस दिनको यात्रापछि थकित भएर क्याम्पसको निवासमा झकाउन थालेका जगत सरले ओछ्यानबाटै 'को हँ' भने। निवासमा एक्लै थिए।
'सर! म...।'
कसैले आफ्नो नाम भन्यो तर जगत सरलाई प्रस्ट भएन।
'किन? के काम पर्यो?'
'हाम्रो शैक्षिक भ्रमणबारे कुरा गर्नु छ, सरले चेकमा सही गरिदिनुपर्ने छ।'
'म धेरै थाकेको छु, आज बिदामा छु। तिमीहरू आजै जाने हो र?'
'होइन तर बैंकमा गएर पैसा साट्नुपर्छ। भोलि चाँडै जाने हो।'
जगत सर पारिवारिक घटनाका कारणले भारत गएका थिए। दसौं दिनमा अबेर राति आइपुगेका थिए। शरीर थकित थियो। उनले सहायक क्याम्पस प्रमुखलाई फोन गरेर आफू आजको दिन क्याम्पस नआउने र दिनभर आराम गर्ने जानकारी गराएका थिए।
ढोका ढकढक्याउने छात्रलाई त्यसैअनुसार भित्रैबाट सम्झाए। त्यो छात्र फर्कियो। केही बेरमा अर्को छात्र आयो। त्यसले पनि उही कुरा दोहोर्यायो। जगत सरले उसैगरी सम्झाए।
केही बेरमा अर्को छात्रले ढोका ढकढक्यायो। जगत सरले उसैगरी सम्झाउने प्रयन्त गरे तर यसपटक एक जना होइन, धेरै जना आएको अनुमान लगाए।
त्यो छात्रले आफ्नो ढिपी छाडेन, एकै छिन बाहिर निस्कन आग्रह गर्यो। अनुनय–विनयको लयमा बोल्यो।
विद्यार्थीहरूको पनि आफ्नो योजना होला, साह्रै ढिपी गर्यो भन्ने ठानेर जगत सरले ढोका खोले। नाम थाहा नभए पनि छात्र चिने। आइएस्सी (विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह) दोस्रो वर्षमा पढ्थ्यो। विद्यार्थीको एउटा सानो समूह आएको थियो।
तिनीहरूले केही आरोप लगाएर तर्कवितर्क सुरू गरे। जगत सर विद्यार्थीहरूलाई सम्झाउने शैलीमा आफ्नो कुरा भन्दै थिए।
एक छात्रले सामुन्नेमा रहेको नीलकाँडाको झ्याङतिर हात लम्कायो र कुनै भाँडो उठाएर जगत सरको टाउकोमा घोप्ट्यायो।
केही सोच्नै नपाई टाउको र जिउ मोबिलले छोपियो। कतै छेलिएर बसेका युवकहरूको एउटा हुल विजयी भावमा 'जिन्दावाद र मुर्दावाद' नारा लगाउँदै दौडियो। सम्भवतः ती सबै जगत सरकै विद्यार्थी थिए।
जगत सरले 'मण्डले... मण्डले...' र यस्तै केही आवाज सुने।
रसायन शास्त्रमा स्नातकोत्तर गरेका र झण्डै दुई दशकको शिक्षण अनुभव भएका जगत सरले मोबिलमा सल्फ्युरिक एसिड मिसाएको थाहा पाए।
सोचेर बस्ने समय थिएन। ढोकाको चुक्कुल लगाएर बाथरूममा पसे। एउटा साबुन सिंगै सकिँदा पनि सबै कालो पखालिएन, हेर्न हुनेसम्म भयो।
जगत सर कोठामा अन्यमनस्क थिए। आरामबिराम सबै गायब भएको थियो। एक घण्टाजति भएको थियो होला, सहायक क्याम्पस प्रमुखसहितको एउटा सानो समूह फेरि निवासमा आयो।
'सर! विद्यार्थीहरूले तपाईंलाई खोजेका छन्, एकछिन क्याम्पस जानुपर्यो।'
'तपाईंलाई बिहानै भनेको हुँ, म बिदामा छु। भर्खरै विद्यार्थीहरूले एसिड मिसाएको मोबिल टाउकोबाट खन्याएका छन्, तपाईं मेरो सुरक्षाको जिम्मा लिनुहुन्छ?'
'त्यस्तो केही हुँदैन सर, विद्यार्थीहरूले शैक्षिक भ्रमणबारे कुरा गर्न चाहेका छन्। तपाईं ढुक्कले जाँदा हुन्छ।'
एसिड मिश्रित मोबिल अनायासै आफूमाथि खन्याइएपछि मन बिथोलिएको थियो, एक किसिमको आवेग भरिएको थियो। जगत सरले कोठाबाट निस्किन अस्वीकार गरे अनि भनिदिए– जे मन लाग्छ गर्नुहोस्, म जाँदिनँ।
जाँदिनँ भनेर के गर्नु! केही बेरमा अर्को एउटा हुल आयो।
हुलबाट एउटा छात्रले बाहिर निस्कनुपर्यो भनेर आग्रहको शैलीमा बोलायो। जगत सरले भित्रैबाट अस्वीकृति जनाए, भोलि क्याम्पसमै भेट्ने वचन दिए।
हुल किन मान्थ्यो! बोल्नेहरूको स्वर चर्को थिएन, आदरकै भाव थियो। अन्ततः जगत सर बाहिर निस्किए।
'भन, तिमीहरूको कुरा के हो?'
टोली नेताजस्तो भएर कुनै छात्र बोल्यो– सर! हामी तपाईंलाई जुत्ताको 'माला' लगाएर धरान बजार घुमाउँछौं, तपाईंको सुरक्षा हाम्रो जिम्मा भयो।
जगत सरले सर्त राखे– ठिक छ, म तयार छु तर दस मिनेटका दरले तीन ठाउँमा बोल्न पाउनुपर्छ, म कस्तो खालको मण्डले हुँ भन्ने कुरा धरानवासीलाई म आफैले सुनाउन पाउनुपर्छ।
'कहाँकहाँ बोल्ने सर?'
'लक्ष्मी चोक, छाता चोक र भानुचोक।'
'हुन्छ, सरको सर्त मान्य भयो।'
'ठिक छ, मेरो एउटा प्रश्न छ।'
'भन्नुहोस् सर!'
'तिमीहरूले जे गरे पनि मलाई चिन्ता छैन, आजै म मरें भने पनि चिन्ता छैन तर तिमीहरूको समूहमा कुनै घुसपैठिया आएर मलाई आक्रमण गर्यो भने, तिमीहरूले सुरक्षा दिन सकेनौ भने के हुन्छ?'
विद्यार्थीको हुलमा खासखुस चल्यो। केही सल्लाह भएजस्तो देखियो।
आफ्ना क्याम्पस प्रमुख जगत सरलाई हुलको बीचमा पारेर छात्रहरू अघि बढे। अगाडिको सडकमा पुगेपछि फेरि उनीहरूले केही अलमल गरे।
टोली नेता बोल्यो, 'सर! तपाईंलाई बजार नघुमाउने, हाम्रै अडिटोरियम हल (सभाकक्ष) मा एउटा सभा गर्ने; हामी बोल्छौं, सर पनि बोल्न पाउनुहुन्छ।'
जगत सरले अडान राखे, 'हुँदैन, म बजार नै घुम्न चाहन्छु, तिमीहरूको इच्छा पूरा होओस् भन्ने चाहन्छु।'
'बजार नजाऔं सर! गर्मी पनि धेरै छ, अडिटोरियममै बसौं।'
मनमा आवेग भए पनि जुत्ताको 'माला' लगाएर वैशाखको घाममा धरान बजार घुम्न सजिलो थिएन। सुरक्षाको चिन्ता छँदै थियो।
उनीहरूले भनेअनुसार जगत सर हुलको अघि लागेर अडिटोरियम हलतिर गए। ढोकामा कुनै छात्र थोत्रा जुत्ताचप्पल जोडेर बनाएको 'माला' लिएर उभिएको देखे।
उनले त्यो छात्रलाई बोलाएर भने, 'ल बाबु! मेरा लागि बनाएको माला लगाइदेऊ!'
छात्रले बडो विजयी भावमा जुत्ताचप्पलको 'माला' पहिर्याइदियो।
जगत सरले 'धन्यवाद' भने।
बिटेक (खाद्य प्रविधिमा स्नातक) तेस्रो वर्षको एक छात्रले आँट गरेर त्यो 'माला' गलाबाट निकालिदियो। धेरैको नजर ऊतिर सोझियो। जगत सर थोरै भस्किए र मनमनै कामना गरे– यो छात्रमाथि कसैले कुनै नराम्रो नगरोस्!
जगत सर।
जगत सरलाई आजपर्यन्त पनि त्यो छात्रको ताजा स्मरण छ।
त्यो छात्रमा भयको कुनै रेखा देखिएन बरू उसले भन्यो, 'साथीहरू! जगत सरलाई बुझौं, एउटा गल्ती भइसक्यो, अर्को गल्ती नगरौं। यो क्याम्पस बनाउन जगत सरले गरेको मिहिनेतको कदर गरौं।'
अडिटोरियम हलमा अनौपचारिक सभा भयो। कुनै छात्र नेताले भाषण गर्यो। जगत सर पञ्चायती व्यवस्थाका पक्षपोषक 'मण्डले' रहेको, राजाको जन्मदिनमा भाषण गर्दै हिँडेको, अञ्चलाधीश हुने प्रयासमा लागेको इत्यादि आरोप लगायो।
उसको पूरा जोड जगत सर मण्डले हुन् भन्ने प्रमाणित गर्नुमा र यिनलाई अब क्याम्पस प्रमुख मान्न सकिँदैन भन्ने तर्क गर्नुमा थियो।
जगत सरको पालो आयो। आफ्नो व्यक्तित्वको गरिमाअनुसार गहकिलो स्वरमा आफू धरान क्यापसको शिक्षक भएर आउनु, सहायक क्याम्पस प्रमुख र क्याम्पस प्रमुख हुनु, यही क्याम्पसमा पन्ध्र वर्ष बिताउनु लगायतको पृष्ठभूमि व्याख्या गरे।
खाद्य प्रविधि विषय पढाउन र दिगो बनाउन आफूले गरेको प्रयास, छात्रावास निर्माण इत्यादिको बेलिबिस्तार लगाए।
उनी बोलुन्जेल हलमा सन्नाटा छायो। सभा सकियो। अधिकांश विद्यार्थीले विजयीभावमा '...जिन्दावाद... मुर्दावाद...' नारा लगाए।
एउटा सानो समूहले जगत सरलाई निवासमा पुर्याउन चाहेको थियो तर उनले अस्वीकार गरे। भनिदिए– मलाई कसैले पुर्याउनु पर्दैन, शरीरमा बल छ, दुई चार जना अहिल्यै फाँड्न सक्छु, मलाई धरानमा कसैको डर लाग्दैन।
क्याम्पसको निवासमा गएनन्। धरान बजारमा उनको घर थियो, निर्धक्क भएर एक्लै त्यतै गए।
नेपालमा खाद्य प्रविधि विषयको पढाइ धरानको हात्तीसार क्याम्पसबाटै सुरू भएको हो। रमणीय विजयपुर डाँडाको तल्लो काखमा क्याम्पस भवन थियो। क्याम्पस परिसरबाट धरान सहरको दृश्य बडो सुन्दर देखिन्थ्यो। परसम्म नियाल्दा सप्तकोशी नदी पनि दृश्यमा आउँथ्यो।
धरान क्याम्पसमा तीन वर्षको डिप्लोमा पढाइ सुरू हुँदा नै तेह्रथुमको म्याङ्लुङ बजार नजिकै पिप्लेका जगतबहादुर केसी शिक्षक भएका थिए। उनै जगतबहादुर धरानमा जगत सर भनेर प्रतिष्ठित थिए।
उनले आफ्नो प्रयासमा अर्को एक वर्ष थपेर चार वर्षको बिटेक (खाद्य प्रविधिमा स्नातक तह) बनाए। प्रारम्भिक अवस्थामा यो क्याम्पसको शैक्षिक र भौतिक विकासमा उनको योगदान अतुलनीय रहेको छ।
कतिसम्म भने उनी बेलायतमा खाद्य प्रविधिमै स्नातकोत्तर तहको पढाइमा थिए। त्यही समय राजा वीरेन्द्रको सवारी भयो। बेलायतमा रहेका नेपाली विद्यार्थीहरूसँग राजाले भेट गर्ने कार्यक्रम तय भयो।
त्यो कार्यक्रममा जगत सर पनि सहभागी भए। उनले राजासमक्ष आफ्नो परिचय दिए।
राजाले सोधे– तिमी यहाँ के पढ्दै छौ।
'सरकार! म खाद्य प्रविधिमा मास्टर्स गर्न आएको थिएँ, पूरा भयो। पिएचडी (विद्यावारिधि) गर्ने अवसर पाएको छु, इनरोल (नाम दर्ता) भइसकेको छ।'
'तिमी कुन क्याम्पसमा पढाउँछौ?'
'धरान क्याम्पस, हात्तीसारमा पढाउँछु, खाद्य प्रविधि विषय पढाइ हुन्छ।'
'यो कस्तो विषय हो? खानाका परिकार बनाउनेसम्बन्धी हो?'
'त्यस्तो होइन सरकार! यो धेरै फरक छ।'
'के हो त?'
जगत सरले राजालाई खाद्यप्रविधि विषयको व्याख्या गरे। कृषि उत्पादनबाट 'भ्यालु एडेड प्रडक्ट' बनाएर व्यावसायीकीकरण गर्न यो विषय पढेको हुनुपर्ने कुरा जानकारी गराए। नेपालजस्तो कृषिप्रधान मुलुकमा यो विषयको महत्त्वबारे बताए।
राजाको चित्त बुझेछ क्यारे, उनले भने– एकदम राम्रो, ल ठिक छ, पिएचडी पूरा गर्न कति समय लाग्छ?
'सरकार! बढीमा पाँच वर्ष, मैले साढे तीन वर्षमा सक्ने लक्ष्य लिएको छु।'
'त्यति लामो समय बेलायत बस्दा क्याम्पसको अवस्था के हुन्छ? तिमीलाई पिएचडी अनिवार्य छ?'
'सरकार! अहिले नै अनिवार्य त होइन तर पूरा गर्न चाहन्छु।'
'पिएचडी गर्ने अवसर फेरि पनि आउँछ। तिम्रो करियरमा अहिले नै पिएचडी अनिवार्य होइन भने तिमी फर्क। अहिलेका लागि तिम्रो प्राथमिकता क्याम्पसको शैक्षिक विकास नै हुनुपर्छ। प्राध्यापक हुन पिएचडी चाहिन्छ तर अलिक पछि गर।'
'जो हुकुम सरकार!'
राजासँग अनपेक्षित रूपमा लामै वार्तालाप भयो। भेटका लागि पालो मिलाएर पठाउनेले दस मिनेट भनेका थिए। कुरा लम्बिँदै जाँदा आधा घण्टा बित्यो। कुरा पनि अलिक अन्तरंगजस्तो भयो। राजाले हतार पनि गरेनन्।
जगत सरलाई राजाको प्राथमिकता मन पर्यो।
साँच्चै, त्यो समय धरान क्याम्पसमा खाद्य प्रविधि विषयको पढाइ प्रारम्भिक अवस्थामा थियो। खाद्य प्रविधिको केन्द्रीय क्याम्पस यही थियो।
शिक्षकको अभाव थियो, भारतीय शिक्षक खोजेर लैजानुपथ्र्यो। विषय छनोट, पाठ्यक्रम, प्रयोगशाला लगायतमा धेरै काम गर्नुपर्ने थियो। विद्यार्थी आकर्षित गर्नु पनि थियो।
जगत सरले राजाको कुरा, क्याम्पसको वर्तमान र भविष्य, देशलाई आवश्यक खाद्य प्राविधिक जनशक्ति लगायत अनेक कोणबाट एक्लै मन्थन गरे।
हो नि, पिएचडी त पाँच सात वर्षपछि गरे पनि हुन्छ, आजको प्राथमिकता क्याम्पसको विकास र दिगोपन नै हो भन्ने निष्कर्षमा पुगे।
अन्ततः आफ्ना बेलायती प्राध्यापकलाई स्वदेश फर्कने निर्णय सुनाए। तिनले नफर्किन, बेलायतकै राम्रो कलेजमा पढाउन र पिएचडी पनि पूरा गर्न सुझाब दिए। आग्रह नै गरे तर जगत सर बेलायती सुविधाको लोभमा परेनन्।
आखिर जगत सर स्वदेश फर्किए। क्याम्पसमा हाजिर भए। काममा व्यस्त रहे। जहाँको बास त्यहीको भारी हुने नै भयो। क्याम्पसको भारी बोक्दैमा फुर्सद भएन। पिएचडी गर्ने दिन आएन।
आफ्नो प्राज्ञिक उन्नयनका लागि पिएचडी चाहिएकै थियो। क्याम्पसको शिक्षक (उपप्राध्यापक) भएपछि सहप्राध्यापक हुँदै प्राध्यापक तहमा पुग्न पिएचडी उपाधिले अतिरिक्त लाभ दिन्थ्यो।
यो त छँदै थियो तर पिएचडी गर्ने धोको पनि थियो। आफ्नोभन्दा बढी धरान क्याम्पसको धुनमा लाग्दालाग्दै जगत सरको धोको पूरा हुने दिन आएन।
आफ्नै विद्यार्थीले गरेको अपमानजनक व्यवहारबाट बिथोलिएका जगत सरले क्याम्पस प्रमुख पदबाट राजीनामा दिए तर त्रिभुवन विश्वविद्यालयले स्वीकृत गरेन। उनले एक वर्षको बिदा लिए।
पिएचडी गर्ने धोको छँदै थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयमा 'बुद्धिस्ट फूड कल्चर इन नेपाल' शीर्षकमा पिएचडी सम्बन्धी प्रस्ताव पेस गरे, स्वीकृत भयो। शोधार्थीका रूपमा नाम दर्ता भयो, गाइड (निर्देशक) पनि टुंगो भयो तर दिन बित्दै जाँदा के भयो कुन्नि, काम अघि बढेन।
आज मध्य असीको दशकबाट फर्केर हेर्दा पिएचडी पूरा गर्नुपर्ने थियो भन्ने लाग्छ, भित्र कतै पछुतो जस्तो पनि भएको छ।
बेलायतबाट फर्किंदा त एउटा खास उद्देश्य थियो, कामको प्राथमिकता थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयबाट त पछि हट्नुपर्ने कारण नै थिएन, अरू कामको चाप पनि थिएन तर पिएचडी अघि बढेन।
सायद उमेरको परिपक्वता र आध्यात्मिक चिन्तनका सामु पिएचडी गर्ने धोको मामुली साबित भयो। बचेको अलिकति पछुतोको क्षतिपूर्तिका लागि होला अवचेतन मनले उनलाई लेखक बनाएको!
जीवनको उत्तरार्द्धमा लेखन जगत सरको धर्मकर्म भएर आयो।
जगत सर आफ्नो प्राज्ञिक उन्नयनको एउटा पाटो माया मारेर धरान क्याम्पसको उन्नयनमा समर्पित भएका थिए। जागिर खाएको त हो नि भन्ने कुरा पनि होला तर जगत सरका लागि जागिरभन्दा बढी कर्म थियो, क्याम्सपको उन्नयन उनको प्रतिष्ठासँग जोडिन्थ्यो। बेलायतमा भएको भेटवार्ताले क्याम्पसमाथि राजाको नजर पनि थियो।
सम्झन्छ, ऊ २०४१/४३ शैक्षिक सत्रको विद्यार्थी हुँदा जगत सर परिपक्व जवान थिए। टलक्क टल्किने गोरो त्वचाको अग्लो र खाइलाग्दो ज्यान, निडर देखिने मुहारको कान्ति, ओजपूर्ण स्वर; उनको सामुन्नेमा परेर बोल्न धक उसलाई लाग्थ्यो।
क्याम्पस परिसरमा आमनेसामने भइहाले 'के छ? पढाइ कस्तो चल्दैछ?' भन्नु थेगोजस्तो बनेर उनको जिभ्रोमै झुन्डिएको थियो।
जगत सरले त उसको नाम पनि थाहा पाएनन्; क्याम्पस प्रमुखले नै नाम थाहा पाउनुपर्ने गरी उसको कुनै खास पहिचान थिएन, न विद्यार्थी संगठनमा संलग्नता न उत्कृष्ट छात्र!
धेरै वर्षपछि काठमाडौंमा भेट हुँदा 'धरान क्याम्पसमा हजुरको विद्यार्थी थिएँ, त्यहाँ आइएस्सी पढेको हुँ' भनेर आफ्नो परिचय दिएको थियो।
समयले उसका ज्येष्ठ सुपुत्रलाई जगत सर अध्यक्ष रहेको कलेज अफ अप्लाइड फुड एन्ड डेरी टेक्नलजी (क्याफोडेट कलेज) को विद्यार्थी बनायो। त्यही सन्दर्भमा उनीसँग केहीपटक भेट भयो।
एक छात्र र क्याम्पस प्रमुखका रूपमा ऊ र जगत सरको सम्बन्धको दायरा यति साँघुरो भए पनि उसमा उनको फूर्तिलो र गहकिलो प्राज्ञिक व्यक्तिको गहिरो प्रभाव परेको थियो, धरानमै परेको हो।
आफ्नै विद्यार्थीले टाउकोबाट एसिडमिश्रित मोबिल खन्याइदिँदा र जुत्ताचप्पलको 'माला' लगाइदिएर धरान बजार घुमाउँछौं भन्दा, नघुमाए पनि त्यही 'माला' लगइदिँदा अनि अडिटोरियम हलमा निरीह बनाएर उभ्याउँदा जगत सरको मनमस्तिष्कमा केके गुज्रियो होला!
आखिर विद्यार्थीहरू आफ्नै क्याम्पस प्रमुखलाई त्यो हालतमा पुर्याउन किन उदण्ड भए होला!
२०४६ सालको राजनीतिक परिवर्तनको रापताप चढ्दो थियो। कांग्रेस–वाम संयुक्त जनआन्दोलनको बलमा भर्खरै बहुदलीय व्यवस्था पुनर्स्थापन भएको थियो। पञ्चायती व्यवस्थाका हिमायती ठानिएकाहरू राजनीतिक परिवर्तन पक्षधरका आँखाको तारो भएका थिए।
जगत सरका आफ्नै विद्यार्थीहरूले उनलाई त्यही तारो वर्गमा राखेका थिए। उनीहरूको मूल्यांकनमा जगत सर 'घोर मण्डले' थिए। उनीहरूको तजबिजी 'कारबाही' को भागी हुनुपर्ने थियो।
उनीहरूका विचारमा जगत सरको के गल्ती थियो भने उनले राजा वीरेन्द्रका तीनवटा जन्मदिनमा तीन ठाउँमा भाषण गरेका थिए।
त्यो समय 'पञ्चायत नीति तथा जाँचबुझ केन्द्र' ले संविधान दिवस (पुस १ गते) र राजाको जन्मदिन (पुस १४ गते) केही जिल्ला सदरमुकाममा एक जना मन्त्री र एक जना प्राज्ञिक व्यक्तिलाई अतिथि वक्ता बनाएर पठाउँथ्यो।
जगत सर वक्ता भएर गए। एकपटक संविधान दिवसमा पनि जानुपर्यो भनेका थिए; उनले जन्मोत्सवमा जान्छु, संविधान दिवसमा जाँदिनँ भनिदिए। त्यसरी वक्ता भएर जानु जगत सरको रूचिको र चाहनाको कुरा थिएन तर त्यसका लागि सहमत गराएका थिए वल्लभमणि दाहालले।
कुनै समय वल्लभमणि नेपाली वामपन्थीका प्राज्ञिक गुरू थिए, वामपन्थी विचारका विस्तारक थिए। नेपालका ज्येष्ठ वामपन्थीहरूमध्ये उनी पनि एक थिए।
जगत सरको वैचारिक पृष्ठभूमि पनि वामपन्थ नै थियो। उनी पूर्वी पहाड तेह्रथुमको म्याङलुङ बजारनजिकै त्यो समयका धनाढ्यका छोरा थिए। उनको घरमा 'ठूलाबडा' अतिथि आइरहन्थे। बुबा सलबहादुर खत्रीको सुनाम थियो, बडो प्रतिष्ठित थिए।
२०१४ सालमा एक रात मनमोहन अघिकारी सलबहादुर खत्रीका पाहुना भए। अलिकपछि त्यही साल पुष्पलाल पनि एक रातका पाहुना भए।
जगत सरको किशोर मस्तिष्कमा तिनै दुई नेताले वामपन्थ घुसाइदिएका थिए। एक रात मनमोहनले र अर्को एक रात पुष्पलालले दिएको प्रशिक्षणले जगत सर किशोरवयमै वामपन्थी बनेका थिए।
एकपटकको कुरा, म्याङलुङ बजारनजिकै एक जना धनी मान्छेकी छोरीको बिहे हुने भयो। जगत सरलाई बालविवाह हुन लागेको थाहा भयो, बिहे पनि कस्तो भने अधबैंसे विधुरसँग उमेर नै नपुगेकी बालिकाको!
बिहे रोक्ने उद्देश्यले जगत सर दुई जना साथी लिएर बिहेघर गए।
बिहेघर त सुनसान जस्तो पो छ! पक्कै पनि लुकीछिपी बिहे भएको हुनुपर्छ भन्ने ठहर गरेर तीन जनाको टोली बिहेघरकै अन्तरकुन्तरमा छेलिएर बस्यो। बेहुली अन्माएपछि रोक्नुपर्छ भन्ने सल्लाह भयो तर केही चालचुल देखिएन!
केही बेरमा बेहुलीका बा देखिए। बिहे रोक्ने टोली अझै छेलिने प्रयास गर्दै थियो, तिनले देखेर कराए– ए! तिमीहरू को हौ? यहाँ के गर्दै छौ?
जगतसरले कडा स्वरमा आफ्नो उद्देश्य बताए। बेहुलीका बा हाँसे अनि भने– मूर्ख केटा हो, बिहे हिजै भइसक्यो, तिमीहरू के रोक्छौ, बरू घरमा बिहेको रोटी–कसार छ, भोक लागेको होला, खाएर जाओ।
बिहे रोक्ने प्रयास सफल भएन, टोली फर्कियो।
२००७ सालको राजनीतिक परिवर्तनपछिको खुला समय थियो। गाउँमा जगत सरसहित उनका समवयीहरूको वामपन्थी टोली थियो। टोलीले चन्दा उठाएर एउटा हाते माइक किनेको थियो।
त्यो टोली हाते माइक बोकेर आसपासका हाटबजारमा पुग्थ्यो; रूढीवादी परम्परा, अन्धविश्वास, बालविवाह, गरिबमाथिको शोषण इत्यादिका विरूद्ध चेतनामूलक प्रचारप्रसार गर्थ्यो; वामपन्थी विचार प्रसार गर्थ्यो।
जगत सरले एक वर्ष गाउँकै स्कुलमा पढाए अनि विज्ञान पढ्न काठमाडौं पसे। कलेजमा पनि वामपन्थी नै रहे, नेता नै भए। उनले अमृत साइन्स क्याम्पस छात्रवासको नेताको हैसियतमा राजा महेन्द्रको स्वागतमा भाषण पनि गर्न पाएका थिए।
विद्यार्थी छँदा जगत सरमा बहुआयामिक प्रतिभा थियो। नाटक खेल्थे, नाच्थे। आफूले स्वागत भाषण गरेकै कार्यक्रममा राजालाई नेवारी गीतमा आफ्नो नृत्य देखाउन पाएका थिए।
कार्यक्रम सकिएपछि राजाले नजिकमा बोलाएर सोधखोज गरेका थिए, प्रतिभाको प्रशंसा गरेका थिए। 'केही सहयोग चाहियो भने भेट्नू' भनेका थिए तर जगत सरले भेट्न गएनन्।
खासमा उनी दरबार गएर राजालाई भेट्नु आफ्नो राजनीतिक सिद्धान्त विरूद्धको काम ठान्थे। राजनीतिक सिद्धान्तप्रति त्यस्तो दृढता थियो।
काठमाडौंको अमृत साइन्स क्याम्पस अमृतप्रसाद प्रधानको सक्रियतामा 'पब्लिक साइन्स क्याम्पस' नाममा स्थापना भएको थियो। यात्राका क्रममा हवाई दुर्घटनामा परेर २०२२ सालमा उनको निधन भएको थियो।
जगत सर बिएस्सी (विज्ञानमा स्नातक) तहका विद्यार्थी थिए। क्याम्पसमा छात्र संघका नेता थिए। अमृतप्रसाद प्रधानको सम्मानमा 'पब्लिक साइन्स क्याम्पस' को नाम 'अमृत साइन्स क्याम्पस' बनाउनुपर्छ भन्ने प्रस्ताव उनले नै राखेका थिए।
विद्यार्थी जीवनमा मात्रै होइन, क्याम्पसको शिक्षक हुँदा पनि उनको राजनीतिक विचार वामपन्थी नै थियो।
हो, यस्ता वामपन्थी जगत सरलाई धरानमा भएको एक रातको भलाकुसारीमा वल्लभमणिले नेपालमा राजसंस्थाको औचित्य र दीर्घकालीन महत्त्वबारे लामो विस्तार गरेका थिए।
वल्लभमणिले विश्व राजनीतिक इतिहासको कुरा गरे। नेपालमा राजसंस्था र राजाहरूको योगदानको बयान गरे, पृथ्वीनारायण शाहदेखि त्रिभुवन र महेन्द्र हुँदै वीरेन्द्रसम्मको योगदानको चर्चा गरे।
वल्लभमणिले भनेका धेरै कुरामध्ये 'नेपालमा राजसंस्थाको औचित्य र दीर्घकालीन महत्त्व' ले जगत सरलाई छोयो।
भोलिपल्ट वल्लभमणि आफ्नो बाटो लागे। जगत सरको मनमस्तिष्कमा विचारको हुरी चल्यो, के ठिक र के बेठिक भन्ने निष्कर्ष निकाल्न गाह्रो पर्यो।
केही दिनको मस्तिष्क मन्थनपछि विचारले ठोस आकार लियो। जगत सर 'म पञ्चायत व्यवस्थावादी बन्न सक्दिनँ तर यो देशमा राजा चाहिन्छ, राजसंस्था रहनुपर्छ' भन्ने निष्कर्षमा पुगे।
त्यही निष्कर्षको परिणाम थियो राजा वीरेन्द्रको जन्मदिनमा अतिथि वक्ता हुन स्वीकार गर्नु।
त्यही सहभागितामा विद्यार्थीहरूले जगत सरलाई 'मण्डले' ठहर गरेका थिए।
खासमा अञ्चलाधीश बन्न चाहेको भन्ने कुरा त एउटा हौवा मात्र थियो।
एकपटक क्याम्पसको एउटा उद्घाटन समारोहमा राजा वीरेन्द्रको सवारी भएको थियो। समारोह सम्पन्न भएपछि फर्किने क्रममा राजाले हेलिकप्टरको एउटा खुड्किलामा गोडा राखिसकेका थिए। क्याम्पस प्रमुख जगत सरले बिदाइको नमस्कार गरिसकेका थिए।
खुड्किलाबाट गोडा निकालेर राजाले भने, 'क्याम्पस चिफ! यही क्याम्पसमा रमाउने कि अलिक फरक सेवामा पनि जाने? अञ्चलाधीश हुन, राष्ट्रिय पञ्चायतको सदस्य हुन इच्छा छैन?'
'सरकार! यतिका वर्ष शिक्षक भएर बिताएँ, यसैमा खुसी छु। त्यस्तो पदका लागि त सरकारसमक्ष पुग्ने अरू धेरै हुँदा हुन्। सरकारबाट सोधनी भयो, म धन्य भएँ। म शिक्षक नै रहन पाऊँ सरकार!'
'ठिक छ, कर्मशील व्यक्ति यस्तो हुन्छ, धन्यवाद क्याम्पस चिफ' भन्दै राजाले जगत सरलाई ढाप मारे। जगत सरले अलिकति झुकेर नमस्कार गरे। बिदाइको हात हल्लाउँदै राजा हेलिकप्टर चढे।
त्यही कुरो एक कान दुई कान मैदान हुँदा 'जगत सरले अञ्चलाधीशको नियुक्ति खोजेको' भन्ने प्रचार भएको थियो।
समय फेरि जगत सरका पक्षमा आयो। फेरि धरान क्याम्पसको क्याम्पस प्रमुख नियुक्त हुनुभयो। उमेरहदले सेवा निवृत्त भए।
त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त भएपछि पनि खाली बसेनन्। धरानमै खाद्य प्रविधिमा ल्याब टेक्निसियन उत्पादन गर्ने कलेज स्थापना गरे। काठमाडौंमा संस्थापक अध्यक्ष भएर क्याफोडेट कलेज स्थापना गरे। जुन क्षेत्रमा आफ्नो विज्ञता र क्षमता छ त्यसैमा लागिरहे। त्यसैअनुसार आफ्नो ज्ञान, बुद्धि र विवेकले भ्याएसम्म आफ्नो धर्म सम्झेर अधिकतम कर्म गरे।
राजनीतिक चेतना नभएको होइन। के थाहा कुनै दल विशेषमा लागेका भए धेरै माथि नपुगे पनि संघीय सांसदसम्म त हुने थिए कि कि! अहँ, उनले त्यसतिर मन लगाएनन्। आफ्नो सम्पूर्ण क्षमता शिक्षामै समर्पित गरे।
राजा कुलपति रहने समय थियो, त्यही समय जगत सर पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त भए। करिब तीन वर्ष जिम्मेवारी सह्माले।
समय उति अनुकूल थिएन, आफूले सकेको काम गरे। गरेको जति राम्रो गरे। कामको हिसाबले आलोचित हुनु परेन। तत्कालीन राजनीतिक परिस्थितिले सिर्जना गरेका प्रतिशोधात्मक व्यवधान तपशीलको कुरा!
मुलुकमा राजनीतिक परिवर्तन भयो। विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था भयो।
जगत सर राजीनामा खल्तीमा हालेर कुलपति भेट्ने प्रयासमा थिए, अनायासै एकैपटक ६ वटा विश्वविद्यालयका उपकुलपतिलाई पदमुक्त गरेको निर्णय आयो।
सेवा निवृत्तिको फुर्सद सदुपयोग लेखनमा हुने ठहर्याएर जगत सर त्यसमै लागे। उत्कृष्ट ठानियूँला कि नठानियूँला, लेखक भनियूँला कि नभनियूँला, यतातिर कहिल्यै ख्याल गरेनन्, फगत लेखे, लेखेको लेख्यै गरे। दुई हातका औंलामा नअटाउने संख्यामा किताब छन्। अझै लेख्ने धोको छ।
बुबाआका नाममा 'सलबहादुर हिमकला खत्री प्रतिष्ठान' स्थापना गरेका छन्। आफ्नो बुताले सकेको सामाजिक काम त्यही प्रतिष्ठानका नाममा गर्छन्। उनका पुस्तक प्रकाशनको काम पनि त्यही प्रतिष्ठानका नाममा हुने गरेको छ।
जगत सर जीवनको आठौं दशकको मध्यतिर आफ्नै निवासमा अनेक सीमितता झेल्दै छन्। वार्धक्यकका सीमाहरू बढेका बढ्यै छन्; शरीरमा मात्र होइन, मन र मस्तिष्कमा पनि फैलिँदै छ।
आफै संस्थापक अध्यक्ष भएर स्थापना गरेको क्याफोडेट कलेजमा करिब मानार्थ अध्यक्षको हैसियतमा पुगेका छन् वार्धक्यकै कारणले।
आज फर्केर हेर्दा जगत सरलाई आफ्नो कर्मसँग कुनै पछुतो छैन। भावनामा अध्यात्म छ, अरूले उमेरको स्वाभाविक परिणाम ठान्न सक्छन् तर अध्यात्म उनको वंशाणुमा छ।
बुबा सलबहादुर चन्दनको लामो टीका लगाउँथे। हमेसा घोडामा सवार रहन्थे। घोडामा सवार रहँदा पनि उनको हातमा जपको माला हुन्थ्यो। आमा हिमकला त्यस्तै आध्यात्मिक थिइन्। बिहान चार बजे उठेर नुहाउनु र पूजापाठ गर्नु नित्य कर्मको अभिन्न अंग थियो।
आज आफूले माला जपे वा नजपे पनि, निधारमा चन्दन लगाए वा नलगाए पनि बुबाआमाको आध्यात्मिक चिन्तन जगत सरमा सर्लक्कै सरेको छ।
उमेरका हिसाबले पनि जगत सरलाई सन्तोष छ। अब आफैले नगरी नहुने कुनै काम बाँकी छैन भन्ने निष्कर्षमा पुगेका छन्। मस्तिष्क र हात ठिक ठाउँमा रहुन्जेल केही न केही लेख्नु छ।
कसैप्रति रिस, राग, ईर्ष्या, द्वेष इत्यादि केही पनि छैन। जीवन जो बित्यो कर्मशील भएरै बित्यो। जो बाँकी छ त्यो पनि कर्मशील नै रहनेछ।
आजका दिनमा पनि जगत सर राजसंस्थाबारे प्रस्ट छन्। उनलाई राजाको शासन र निर्दलीय व्यवस्थामा कहिल्यै विश्वास भएन, आज पनि छैन तर 'सेरेमोनियल' राजा–राजसंस्था रहनुमा नै नेपालको दीर्घकालीन हित छ भन्ने उनको विश्वास छ।
आफू नै मन्त्रिपरिषदको अध्यक्ष हुनेगरी शासनसत्ता हातमा लिनु नै राजाको सबैभन्दा ठूलो भुल थियो भन्ने ठहर छ जगत सरको।
राजाले आफू नै मन्त्रिपरिषदको अध्यक्ष हुने गरी शासनसत्ता हातमा नलिएका भए सम्भवतः राजसंस्था अन्त्य हुने थिएन भन्ने पनि उनलाई लाग्छ।
मान्छेले धर्म छाडे पनि, जति नै बेइमान गरे पनि प्रकृतिले आफ्नो धर्म छाडेको छैन, आजसम्म बेइमानी गरेको छैन।
प्रकृतिको शाश्वत सत्य टर्ने छैन। जगत सरले थाहा पाएको सत्य यही हो।
जगत सरको सुस्वास्थ्यको हार्दिक शुभकामना! हार्दिक नमन!