राजनीतिक, वैचारिक र संगठनात्मक बहसको केन्द्रमा आज नेताको चरित्र, नेतृत्वको दिशा र संगठनको संरचनासम्बन्धी प्रश्नहरू अझ नयाँ-नयाँ रूपमा प्रकट हुँदै गएका छन्। कुनै पनि राजनीतिक परिवर्तनको मूलधारमा नेतृत्वको भूमिका रहन्छ तर नेतृत्व केवल एउटा व्यक्ति वा अनुहारमा र कुनै आकस्मिक लोकप्रियतामा आधारित हुँदैन।
नेतृत्व संगठन, विचार, मूल्य र निरन्तर संघर्षको समुच्चयबाट निर्माण हुन्छ। आज नेपाल जस्ता मुलुकमा देखापरेका संकटहरूको गहिरो अध्ययन गर्दा यिनै तीन आयाम नेता, नेतृत्व र संगठनले ल्याएको परिवर्तन र परिवर्तन पछि देखिएका विकृतिहरूको द्वन्दात्मक समग्रताबाट देख्न सकिन्छ।
नेता र नेतृत्वको एक आम समस्या भनेको विगतप्रतिको अन्धश्रद्धा वा पीडाको भावनात्मक बोझ हो। मनोविज्ञानमा यसलाई स्मृतिजन्य वेदना र राजनीतिमा अनुभववाद भनिन्छ। यसले एकातिर आफ्नो इतिहासप्रतिको चरम गौरव गरेर आत्म मनोरन्जनमा हराउने र अर्कोतिर कुनै बेला आफैले आत्मालोचना गर्नुपरेको विगतको घटनालाई सम्मेर पीडाबोध गर्दै बदलाको भाव पैदा गरिरहने प्रवृति जन्माउँछ।
जब कुनै नेता विगतका योगदानमा मात्र रमाउन थाल्छ, उसले वर्तमानको आवश्यकता बुझ्न सक्दैन। आफूले विगतमा भोगेका अन्यायको नाममा बदला लिने वा व्यक्तिगत आक्रोशबाट राजनीति गर्ने प्रवृत्तिले नेता वा नेतृत्वलाई प्रतिशोधी बनाउँछ। परिणामतः वर्तमानको यथार्थ बुझ्न र ग्रहण गर्न पूर्णतः असफल हुन्छ। यसले संस्थागत संगठन र संगठनको अनुशासन होइन, व्यक्ति विशेषको हैकमवाद वा आत्मप्रसंसाको अन्धगान जन्माउँछ। एउटा नेताको लागि इतिहासको विश्लेषण दृष्टि बन्नुपर्छ, बोझ र प्रतिशोध होइन। इतिहास र स्मृति फरक हुन्छ। व्यक्तिका लागि स्मृति सकरात्मक नकरात्मक जे होस्, दुवै शक्तिशाली हुन्छ तर नेता र नेतृत्व स्मृतिमा होइन, संकल्प र विकल्पमा केन्द्रित हुनुपर्छ।
राजनीतिक संगठनहरू मुलतः कुनै व्यक्ति वा एउटा अनुहारको भरमा निर्माण हुने संरचना होइनन्। यदि संगठन कुनै एक जनाले मात्रै बनिने भए त्यसको नाम संगठननै हुने थिएन। संगठन भनेको विविध वादविवाद–संवाद, भूमिका, अनुभव र कार्यशैलीहरूको संयुक्त रूप हो।
उदाहरणका लागि संगठनलाई मानव शरीरसँग तुलना गरेर महसुस गर्न सकिन्छ। जस्तो कि इन्द्रियहरूले देख्ने, सुन्ने, सुँघ्ने, खाने तथा फाल्ने काम गर्छ, खुट्टाले हिँड्छ, मस्तिष्कले सोच्दछ र हृदयले चाल दिन्छ। देखिने यावत अंगमात्र होइन नदेखिने लाखौं करोढौं सेलहरूको निरन्तर कृयाले र पलपलको जीवन र मृत्युले जीवन बनेको हुन्छ। यी सबै अङ्ग र सेलहरू अलग–अलग हुन्छन् तर सबैको आपसी सहकार्यले मात्रै शरीर कार्यसक्षम भएको हुन्छ। यदि कुनै अङ्गले आफूलाई सर्वाधिक महत्त्वपूर्ण ठानेर अरूको कार्यको मूल्य नबुझ्ने हो भने त्यो शरीरले सन्तुलन गुमाउँदछ। उदाहरणका लागि सबैको भार मैलेनै थेगेको हुँ भनेर खुट्टाले ठान्यो र शरीरबाट अलग्गियो भने न खुट्टाको अस्तित्व रहन्छ न बाँकी शरीरको समग्रता कायम रहन्छ।
पार्टी पनि एक किसिमको जीवित संगठन हो। कुनै समय कुनै एक अङ्गको भूमिका बढी देखिए जस्तै कुनै नेताको योगदान बढी देखिन सक्छ तर यसबाट त्यो व्यक्तिले एक्लै सबै उपलब्धि हासिल गरेको निष्कर्ष निकाल्न मिल्दैन। यो दृष्टिकोण समग्रताबाट होइन, संकुचित र व्यक्तिवादी अहंकारबाट जन्मिन्छ। एउटा नेताले म नभएको भए संगठन नै बन्ने थिएन, मैले त्यसो नगरेको भए यसो हुँदैन थियो भन्ने जस्ता सोच राख्नु लाखौं कार्यकर्ता र नदेखिएका जनसमुदको श्रम र त्यागको अवमूल्यन गर्नु हो। कार्यकर्ताको समर्पण, स्वामित्व र संगठित आत्माको सम्मानबिना संगठन ज्यूँदो रहन सक्दैन।
विशेषगरी माओवादीजस्ता सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित पार्टीमा यस्तो सोच घातक हुन्छ। विगतमा युद्ध लड्ने र नेतृत्व सम्हाल्ने व्यक्तिमात्रै संगठन होइनन्। युद्धमा लड्ने हजारौं कार्यकर्ताको योगदान, गाउँ–टोलको त्याग, भूमिगत कामको जालो, जनताको समर्थन र हरेक मोर्चामा खटिएका साना र असाध्यै साना भूमिकाहरूले नै पार्टी निर्माण भएको हो। यदि यी तत्वलाई नेताको अनुहार र एकाध घटनामा भएका संयोगहरुले ढाक्न खोज्यो भने संगठन मौलाउने होइन पतनको मार्गमा खडा हुन थाल्छ।
योसँगै समाजमा देखिएको अर्को ठूलो समस्या हो पेशागत दक्षता र नेतृत्वबीचको भ्रम। धेरैले एउटा राम्रो पत्रकार, कुनै एक व्यक्तिको उद्धारकर्ता, सफल इन्जिनियर, डाक्टर वा शिक्षक देख्दा त्यही व्यक्ति समग्र राजनीतिक नेतृत्वका लागि योग्य हुन्छ भन्ने मान्यता राख्छन् तर एक कुशल पेसेवर व्यक्तिको लोकप्रियतालाई निरपेक्ष राजनीतिक नेतृत्वको आधार ठान्नु एक गम्भीर अन्धभ्रम हो। नेतृत्वको गुण केवल ज्ञान वा दक्षतामा मात्र मापन भएर पुग्दैन। लोकतन्त्रमा नेतृत्व भनेको राष्ट्र र जनता लक्षित वैचारिक आधारमा खडा, अवलम्बन गरिएको बिचारप्रति दृढ संकल्प, सो अनुसारको लक्षमा पुग्ने दूरदृष्टि, विवेक, सहिष्णुता, निर्णय क्षमता, संस्थागत जिम्मेवारी र मूल्यप्रतिको आस्था समेत हो। दक्षता नेतृत्वको एउटा तत्व हुन सक्छ, तर त्यो मात्र पर्याप्त होइन। नेपालमा धेरै पेसेवर व्यक्ति राजनीतिमा आए तर सबै सफल भएनन्। भैहालेजस्तो देखिएता पनि असन्तुष्टिको कारणले देखिएको प्रतिक्रियात्मक लोकप्रियता दीर्घ हुँदैन।
अहिले मुलुकमा देखिएको अर्को खतरनाक प्रवृत्ति हो– नदेखिएका तर सुनिएका अनुहारप्रतिको भरोसा। देखिएका, मूल्यांकन गर्न सकिने नेता र राजनीतिक पार्टीहरूको अध्यावधिक गर्नुको सट्टा उनीहरूप्रति पूर्ण निराशा जनाउँदै समाज अज्ञात, अप्रत्यक्ष र कथित रूपमा सुनेका नयाँ अनुहारप्रति आकर्षित भएको देखिन्छ। यो प्रवृत्ति नेपाली समाजको ऐतिहासिक अन्धविश्वासको एक गहिरो रुपान्तरण पनि हो।
उदाहरणका लागि- भगवान, भूत, प्रेत, देवीदेवता देखिन्नन्, तर सबैलाई विश्वास जगाइएको हुन्छ। यी सबै सुनिएका पात्र हुन्, जसको उपस्थिति अन्धविश्वासी जमातले अनुभूति त गर्छ तर पुष्टि गर्न सक्दैन। राजनीति पनि यही ढंगमा भित्रिन थाल्यो भने समाजले देखिएका नेतृत्वलाई निरपेक्ष खराब बनाएर अप्रत्यक्ष पात्रको अन्धमूल्यांकनबाट समाजलाई अन्धकारतिर धकेल्न सक्छ। यस्तो स्थिति रोमान्चक कल्पनाको अराजकत पाइला मात्रै साबित हुनेछ।
लोकतन्त्रको स्थायित्वको कुरा गर्दा हामी अमेरिका, युरोपको उदाहरण दिन्छौं तर त्यहाँको संरचना बुझ्न चाहँदैनौं। ती देशहरूमा दलहरूको संस्थागत स्थायित्वले लोकतन्त्रलाई आधार दिएको छ। अमेरिका र बेलायतमा दुई मुख्य दल छन्– रिपब्लिकन र डेमोर्क्याट, कन्जरभेटिभ र लेबर। यिनका आन्तरिक संरचना, नेतृत्व निर्माण प्रक्रिया, मूल्य र दृष्टिकोण स्पष्ट छन्।
स्वीट्जरल्यान्डको उदाहरण झन रोचक छ। त्यहाँ चार वटा मुख्य दलहरूले सात मन्त्रालय कानूनी रूपमा २-२-२ र १ गरेर बाँडेका छन्। संसदमा सिट घटे वा बढे पनि ती मन्त्रालयको बाँडफाँड स्थिर रहन्छ। मन्त्रीहरूले एक वर्षलाई आफ्नो संयोजक छान्छ। हरेक एक वर्षमा संयोजकको पद अर्को मन्त्रीकोमा सर्छ। ऊ नै राष्ट्र प्रमुख हो।
हाम्रो जस्तो संघीयतासँग मिल्ने स्थायित्व र समझदारीको यो एक उच्च अभ्यास हो तर नेपालमा यसको ठिक उल्टो रिस उठ्यो कि पार्टी फुटाउने, असन्तुष्ट भयो कि वैकल्पिक संगठन बनाउने प्रवृत्तिले न पार्टी स्थायित्व देखिन्छ न लोकतन्त्रको गाम्भीर्यता।
हाम्रोमा नेतृत्व पहिचान, नीति, संस्थागत अनुशासन र जनसम्बन्धको समग्र अभ्यासबाट आउँछ भन्ने मान्यता नै स्थापित छैन। बरू नेतृत्व वंशले, भाग्यले वा देवीको कृपाले दिइन्छ भन्ने अन्धश्रद्धा बाँकी नै छ। यो लोकतन्त्रको आत्माविरोधी प्रवृत्ति हो। नेतृत्व उत्पादन प्रक्रियामा आलोचना–आत्मआलोचना, प्रतिस्पर्धा, सहभागिता र पारदर्शिता नभएसम्म राज्य स्थायित्व, सुशासन र दीर्घकालीन दृष्टिकोणमा अगाडि बढ्न सक्दैन।
पार्टीभित्र देखिएको अर्को विकृति भनेको पार्टीभित्र रिस उठेपछि अर्को पार्टी बनाउने प्रवृत्ति हो। असहमतिले संगठनमा बहस जन्माउनुपर्छ तर हामीकहाँ बहसको सट्टा विद्रोह र विघटनको प्रवृत्ति हाबी छ। एउटा नेता असन्तुष्ट भयो भने ऊ नयाँ संगठन बनाउँछ र नयाँ विचार घोषणा गर्छ। अनि केही कार्यकर्ता त्यही ऊर्जा र आक्रोशका भरमा नयाँ प्रयोगमा लाग्छन् तर यस्ता प्रयोगहरू लामो समयसम्म ज्यूँदो रहन सक्दैन। किनभने तिनको जग संस्थागत होइन, भावनात्मक हुन्छ। नेपालको राजनीतिमा सयौं पार्टी दर्ता भएका छन्। जसमा अधिकांश पार्टी कुनै नेता वा समूहको असन्तुष्टिको उपज हुन्, न कि वैचारिक नयाँपनका आधारमा जन्मिएका।
राजनीति कुनै व्यक्ति विशेषको पराक्रम होइन, त्यो साझा उद्देश्य र समर्पणको नतिजा हो। जब नेतृत्वलाई एक व्यक्तिको करारनामामा सीमित गरिन्छ तब पार्टी केवल त्यो व्यक्तिको मञ्चमा सीमित हुन्छ। कुनै एक नेताको छायाँमा बाँकी सबैलाई कर्मचारीमात्र बनाइन्छ भने त्यो संगठन होइन, निजी कम्पनि जस्तो हुन जान्छ। यस्ता राजनीतिक पार्टी लम्बे समयसम्म कायम रहन सक्दैनन्। लोकतन्त्रमा विकेन्द्रित, जिम्मेवार, विचार–निर्भर र पारदर्शी पार्टी संगठनहरूले मात्र दीर्घकालीन प्रभाव राख्न सक्दछन्।
समग्रतामा हेर्दा, नेपाली राजनीति, नेतृत्व र संगठन गम्भीर संकटको चरणमा छ। योगदानको मोह, आत्मरति, अन्धविश्वास, वैचारिक विचलन, संस्थागत अस्थिरता र लोकप्रियतावादको प्रतिस्पर्धाले वर्तमान अवस्था निर्माण गरेका छन्। अब यो अवस्थाबाट बाहिर निस्कन नेतृत्व, कार्यकर्ता र आम जनताको सामूहिक सचेतना आवश्यक छ। अब स्मृति होइन, रणनीति। प्रचार होइन, परिणाम। अनुहार होइन, विचार र आशा होइन, बलियो पार्टी निर्माण गर्नुपर्ने बेला आएको छ। त्यो पार्टी नेपालको लागि केवल कम्युनिष्ट पार्टी नै हुन सक्छ। यसका लागि नयाँ पुस्ताले पुरानो पुस्ताको सारा अनुभवलाई ज्ञानमा रूपान्तरण गर्दै नयाँ एकता र गन्तव्यको मार्ग खोल्न सक्नुपर्दछ।