मंगलबारदेखि लागू हुनेगरी धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको कार्यक्षेत्र बढाएको छ। मर्चेन्ट बैंकर नियमावली २०७४ मंगलबारदेखि लागू भएसँगै मर्चेन्ट बैंकरको कार्यक्षेत्र बढ्नुका साथै चुक्ता पुँजी तीन गुणाभन्दा बढीले वृद्धि हुने भएको छ।
निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ्ग), सेयर रजिष्ट्रेशन र लगानीव्यवस्थापन सम्बन्धी कार्य मर्चेन्ट बैंकरले गर्दै आएकोमा उक्त कार्य क्षेत्र विस्तार गरी सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवा प्रदानगर्ने सम्बन्धी संस्थागत परामर्शदाताको रुपमासमेत कार्य गर्न सक्ने गरी कार्य क्षेत्र विस्तार गरिएको बोर्डले जनाएको छ।
चुक्ता पूँजी बृद्धि गरी निष्काशन तथा बिक्री प्रबन्धकको न्यूनतम ३ करोड रहेकोमा ५ करोड, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) को ४ करोड रहेकोमा ७ करोड, शेयर रजिष्ट्रारको १ करोड रहेकोमा ३ करोड, लगानीव्यवस्थापकको १ करोड रहेकोमा ५ करोड र संस्थागत परामर्शदाताको ३ करोड हुने व्यवस्था गरिएको छ।
लगानी व्यस्थापन गर्ने सम्बन्धमा कुनै सिमा नतोकिएकोले लगानीकर्ताको हित र मर्चेण्ट बैंकरको जोखिम बहन गर्ने क्षमतालाई दृष्टिगत गरी संशोधित नियमावलीमा धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) ले अन्तिम लेखा परीक्षण भएको नेटवर्थको पाँच गुणा र लगानी व्यवस्थापकले अन्तिम लेखा परीक्षण भएको नेटवर्थको दश गुणासम्म प्रत्याभुति (अण्डरराईटर) वा लगानी व्यवस्थापन गर्न सक्ने छन्।
सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैङ्किङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्ति (मर्जर वाएक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैङ्किङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने व्यवस्था गरी मुख्य कम्पनीहरु मर्ज वा एक्विजिसनमागएमा सहायक कम्पनीहरुको समेत मर्जर र एक्विजिसन गर्नुपर्ने व्यवस्था गरिएको छ।