स्थानीय तहको प्रमुख पदमा लक्की ड्र मार्फत विजयी बनेर झापा कमल गाउँपालिकाकी मेनुका काफ्लेले प्रदेश नम्बर १ मा नयाँ किर्तीमान बनाएकी छन्।
उनी प्रदेश नम्बर १ अन्तर्गतका स्थानीय तहको प्रमुख पदमा भिड्ने मात्र होईन जित्ने पनि पहिलो महिला भएकी छन्। युवा पुस्ताका पुरूष हस्तीसँग स्थानीय कमल गाउँपालिकाको अध्यक्ष पदमा चुनावी मैदानमा उत्रेकी मेनुकाले प्रारम्भिक नतिजा आउँदा अनुहार खुम्च्याई सकेकी थिईन्। उनले सेतोपाटीसँग भनिन्, ‘मैले युवा पुस्ताका जुझारू नेता हुकुम सिङ्गराईलाई जित्न सक्छु भन्ने आँट गरेर उम्मेद्धारी दिएको थिएँ। पार्टीले पनि मलाई चुनाव प्रचार प्रसारमा सक्दो सहयोग गरेको हो। मतान्तर नजिक हुँदा भने मेरो अनुहार पुरै सोह्रिएको हुन्थ्यो।’
मेनुकासँग हुकुम सिङराईको प्रारम्भीक नजिता आउँदै मतान्तर थोरै थियो। अन्तिम परिणाम आउदा पनि मतान्तरले कुनै बेला एक अंकको संख्यामा सिमित हुन्थ्यो। मेनुकालाई मात्र होईन हुकुम सिङ्ग राईलाई पनि मतान्तरले बेला बेला झस्क्याई रहन्थ्यो।
लक्की ड्र को प्रकृया अपनाउनु भन्दा अगाडि उनले सेतोपाटीसँग भने, ‘बराबर मत परिणाम आएपछि पुन मत पत्र गणनाको माग निर्वाचन आयोगसँग राखेका छौं, उनले भने, ‘एमाले पनि पुन: मतपत्र गणना गर्न राजी छ। कमल गाउँपालिकाको अध्यक्ष पदका लागि भएको निर्वाचनमा जित पक्का मेरै हुनेछ।’
भाग्यले पनि साथ दिएको रहेछ मेनुकालाई। निर्वाचन आयोगले अन्तिम परिणामका लागि वैधानिक विधिबाट निकालेको नजिता मेनुकाको पोल्टामा पस्यो। लक्की ड्र को चिट पनि मेनुका आफैंले तानेकी थिईन्। ‘मुटु ढुक ढुक भएको थियो। शरीरका नौ नाडी गलेका थिए। भगवानलाई सम्झेर लक्की ड्र को चिट तानेँ र विस्तारै हेरेँ लेखेको रहेछ विजयी,’ उनले सेतोपाटीसँग भनिन्।
मेनुकाको मात्र होईन चिट भित्र लेखिएको विजयीको शव्दले उनका हजारौ समर्थकले खुसीयाली मनाए। कमल गाउँपालिकाका मुख्य चोक बजारमा विजयी जुलुस भयो। उनले सेतोपाटीसँग भनिन्, ‘यो जित कुनै एक व्यक्तिको मात्र नभएर समग्र कमल गाँउपालिकाका नागरिकको हो। यो जितलाई मैले मेरो व्यक्तिगत जित विल्कुल ठानेकी छैन। निर्वाचन विधिबाट पराजित बनेका उम्मेद्धारसहित उहाँको पार्टी र अन्य पार्टीलाई पनि कमल गाउँपालिकाको समग्र विकासका लागि सँगै लैजाने अठोट गर्छु।’
आफूलाई सबैको सहयोग उत्तिकै आवश्यक रहेको भन्दै उनले अब आफ्नो ध्यान समग्र कमल गाउँपालिकाको विकास र प्रगतिमा केन्द्रीत हुने बताइन्।
उक्त गाउँपालिकाको उपाध्यक्षमा एमालेकै बेनुराज शिवाकोटी भारी मत अन्तरले निर्वाचित भएका छन्। शिवाकोटीले ९४१८ मत प्राप्त गरिरहँदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसकी दिपा भण्डारीले ४९८२ मत पाएकी थिईन्। मेनुका काफ्लेको मनोनयनको केही दिनअघि मात्र उनको उम्मेद्वारीको छिनोफानो भएको थियो। शुरूका दिनमा मेनुकामा केही टिकाटिप्पणी पनि नभएका होईनन्। अन्योल र पार्टी भित्रैका केही असहयोगिलाई चिर्दै उनी प्रचार प्रसारदेखि जनताका घर दैलोसम्म पुग्न भ्याईन्। मतगणनामा लगातार अग्रता लिदै बढिन्। चुनाव जित्न भने उनलाई जनताको अभिमतले मात्र होइन, भाग्यले पनि साथ दियो। एउटा कागजको सानु टुक्रामा विजयी लेखिएकै कारणले मेनुकाले कमल गाँउपालिकाको बागडोर सम्हाल्दै छन्।
कमल गाउँपालिकाको वडा नं १ बाहेकका अन्य वडामा नेकपा एमालेले वर्चश्व राख्यो। सो वडामा नेपाली कांग्रेसका केदार कटुवाल विजयी भए । २ मा ताराप्रसाद न्यौपाने, ३ मा नरप्रसाद दङ्गाल, ४ मा प्रेमबहादुर राई, ५ मा डम्बरबहादुर निरौला, ६ मा नरेन्द्र भट्टराई र ७ मा एमालेकै पृथ्वीपति राईको प्यानलै विजयी भएको छ।
झापाका १५ स्थानीय तहमध्ये हालसम्म ७ वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जस अनुसार नेकपा एमाले कनकाई र कमल गरी दुई तहमा, राप्रपा कचनकबल, हल्दिबारी र गौरीगन्ज गाउँपालिकामा प्रमुख पद जितेका छन्।
नेपाली काङ्ग्रेसले गौरादह नगरपालिका र झापा गाउँपालिकामा प्रमुख पद जितेको छ।