राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले एउटै मञ्चबाट एकअर्कालाई घोचपेच गरेका छन्।
राप्रपाको पोखरा महानगर समितिको अधिवेशनमा सोमबार बोल्दै उनीहरूले एकले अर्कोलाई घोचपेच मात्र गरेनन्, आगामी महाधिवेसनमा प्रतिस्पर्धा गर्ने सन्देश पनि दिए।
पार्टीको आन्तरिक बैठक समेत बहिष्कार गर्दै आएका महामन्त्री राणाले पार्टी अध्यक्ष लिङ्देनले कार्यशैली सच्याउनुपर्ने तर्क गरे। अर्कार्फ अध्यक्ष लिङ्देनले पार्टी पद्धतीमा चल्नुपर्ने र बहुमतको निर्णय मान्नुपर्ने तर्क राखे।
लामो समयपछि एउटै मञ्चमा देखिएका अध्यक्ष लिङ्देनले महामन्त्री राणालाई इंगित गर्दै एउटै पार्टीभित्र दुइटा अध्यक्षको अभ्यास गरेको बताए।
‘एकै समयमा राप्रपामा दुइटा अध्यक्ष हुँदैन, उहिले उहिले पो राप्रपामा तीन जना अध्यक्ष हुन्थे,’ उनले भने, ‘अहिले त्यस्तो छैन नि, अलग अलग अफिस, अलग अलग बैठक, अलग अलग निर्णय र अलग अलग वक्तव्य निकाल्दै हिँड्ने कुरा मानिदैन।’
लिङ्देनले बाँकी कुरामा भने आफू जस्तो सजिलो मान्छे अरू नभएको जिकिर गरे।
सबैलाई मिलाएर लैजाने र आफ्ना कमिकमजोरी सच्याउन तयार रहेको भन्दै उनले पार्टीको नीतिमा रहेर चल्नुपर्ने बताए।
व्यक्तिगत रूपमा आएका ठेस लाग्ने कुराहरु सुनेर चुप लागेको भन्दै त्यसको प्रतिवाद नगरेको पनि उनले बताए।
पार्टी प्रणालीमा सबैको चित्त बुझाउन खोजेको र नबुझे बहुमतको निर्णय मान्नुपर्नेमा लिङ्देनले जोड दिए।
‘मेरो प्रस्ताव सबैले मान्नुभएन भने मत विभाजन हुन्छ। त्यसपछि बहुमतको निर्णय अल्पमतवालाले पनि मान्नुपर्छ। मैले पनि मान्छु,’ महामन्त्री राणातर्फ लक्षित गर्दै लिङ्देनले भने, ‘त्यति गर्दा पनि चित्त बुझेन भने महाधिवेसनमा आफू उठ्ने, बहुमतको समर्थन लिनुपर्छ। मैले भनेको भएन भनेर पार्टीलाई अनिर्णयको बन्दी बनाएर राख्न हुँदैन।’
अध्यक्ष लिङ्देनभन्दा अघि बोलेका महामन्त्री राणाले पार्टीभित्र भइरहेको आन्तरिक संघर्षले पार्टीलाई हानी नोक्सानी गरेको भन्दै आफ्नो भागको दोष लिन तयार रहेको बताए।
‘घरभित्र त किचकिच हुन्छ यो त हजारौंको पार्टी हो। केही कुरामा कुरा नमिल्न सक्छ,’ उनले भने, ‘त्यसको मतलब यो होइन कि बाबुले सन्तानलाई झगडा हुने बित्तिकै निकाल्ने। त्यो काम गर्न हुँदैन। झगडा हुन्छ, फेरि मिल्छ।’
पार्टीका नेता तथा कार्यकर्ताले अध्यक्ष लिङ्देन र महामन्त्री राणा समूह आपसमा मिल्नुपर्ने तर्क गरेको भन्दै राणाले आफू लडाइ गर्ने पक्षमा नभएको बताए।
उनले अध्यक्ष लिङ्देनलाई इंगित गर्दै भोलि मिल्ने कुरा भएको बताए।
‘यहाँ सबैले मिलेर आउनुपर्छ भनेको सुनेँ। म लडाइ गर्ने पक्षमा छैन। अध्यक्षज्यू यहीँ हुनुहुन्छ। धेरै पटक उहाँको घर गएको छु मिलौं भनेर,’ राणाले मञ्चबाटै लिङ्देनलाई भने, ‘आज पनि मिल्ने भनेर कुरा भएको छ। भोलि मिल्ने कुरा भएको छ होइन अध्यक्ष ज्यू?’
महामन्त्री राणाले प्रतिनिधि सभा र प्रदेश सभा सांसदबाट राजिनामा दिने निर्णय भइसकेकोले निर्णयमा अडिन पनि अध्यक्षको ध्यानाकर्षण गराए।
अहिले एमाले र कांग्रेसको एउटा तप्का प्रतिनिधि सभा पुनर्स्थापनामा लागेको भन्दै संसद पुनर्स्थापना भए पनि राप्रपा सांसद फर्कन नहुने धारणा उनले राखे।
राप्रपा केन्द्रीय कार्य समितिको म्याद मंसिर १५ गते सकिने भन्दै तत्काल महाधिवेसनको मिति घोषणा गर्न उनले माग राखे।
सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनअघि पार्टी महाधिवेसन गरेर नयाँ म्याण्डेटसहित चुनावमा जानुपर्ने उनको धारणा छ।
‘मंसिर १५ गते हाम्रो कार्यसमितिको कार्यकाल सकियो। अब महाधिवेसनको मिति तोक्ने र चुनावअघि नयाँ म्याण्डेट लिएर चुनावमा जानुपर्छ,’ उनले भने, ‘पार्टीमा नयाँ नेतृत्व आउँछ कि पुरानै त्यो तपाईंहरूको कुरा हो।’
महाधिवेसन निष्पक्ष हुनुपर्ने भन्दै राणाले एकतर्फी भयो भने अस्वीकार गर्ने चेतावनी पनि दिए।
‘नयाँ म्याण्डेट लिएर चुनावमा जानुपर्छ। महाधिवेसन निष्पक्ष हुनुपर्छ। एकतर्फ रूपले महाधिवेसन भयो भने कसैले स्वीकार्ने पक्षमा छैन,’ उनले भने, ‘जिते चलाउँला नजिते सहयोग गरौंला। तर निष्पक्ष हुनुपर्यो। समयमा हुनुपर्यो।’
राणाको उक्त मागमा अध्यक्ष लिङ्देनले पनि आफू एक दिन पनि महाधिवेशन सार्ने पक्षमा नरहेको बताए।
महाधिवेशनका लागि मिति तोक्दा पनि गर्न नसकेकोमा उनले रोष पोखे।
‘महाधिवेशन एक दिन पनि पछाडी सार्ने पक्षमा छैन,’ उनले भने, ‘वैशाखमा तोकेको जिल्ला अधिवेशनको मिति सादै सार्दै यहाँसम्म आयौं। अब समयमा अधिवेशन नगर्ने जिल्ला महाधिवेशनमा सहभागी हुन पाउने छैन।’
विगतमा महाधिवेशन गर्दा एउटा पालिकाको अध्यक्ष अर्कै पालिकाको व्यक्तिलाई बनाउने गरेको भन्दै त्यस्तो नक्कली काम नगर्न पनि उनले कार्यकर्तालाई सचेत गराए।
स्थानीय निर्वाचनमा पार्टीको पालिका प्रमुखलाई उम्मेदवार बनाउन खोज्दा अर्कै पालिकाको व्यक्ति पाइएको भन्दै लिङ्देनले त्यस्तो काम ‘नक्कली’ भएको बताए।
पोखरा महानगरमा ३३ वटा वडा भए पनि सबै वडाबाट प्रतिनिधी नआएको र सबे वडाको अधिवेशन गर्न नसकेको भन्दै उनले आलोचना गरेका थिए।
‘यहाँ नगर अधिवेशन छ भनेर कहाँ-कहाँबाट आयौं,’ उनले भने, ‘अरूलाई भन्न सजिलो छ तर जिम्मेवारीपूर्वक काम गर्नु सजिलो कुरा होइन।’
अध्यक्ष लिङ्देनले आफ्नो कुनै गुट नभएको बताउँदै राम्रो मान्छेलाई आफूले साथ र सहयोग गर्ने बताए।
‘मलाई जो अध्यक्ष भए पनि हुन्छ। अध्यक्षको गुट हुँदैन। मेरा कुनै गुट छैन तर राम्रो मान्छे हुनुपर्यो,’ उनले भने, ‘अहिलेको परिवर्तनलाई आत्मसाथ गरेर जाने मान्छे हुनुपर्छ। नयाँ मान्छे ल्याउनुपर्यो।’
राप्रपा नेता तथा कार्यकर्ता र पार्टीले गरिरहेका कामको पुनर्विचार गर्नुपर्ने पनि अध्यक्ष लिङ्देनले बताए।
‘हाम्रो काममा पुनर्विचार गर्नुपर्छ। कहिले धवल शमशेर रिसाउने। अलग्गै अध्यक्ष जस्तो अलग्गै कार्यक्रम चलाउँछ,’ उनले भने, ‘मैले मेरा साथी किन मिलाउन सकिन। मैले पनि आफूलाई पुनर्विचार गर्छु। कहीं गल्ती गरें कतै चुके भने सच्याउँछु।’
लिङ्देनले केही व्यक्तिको प्रवृत्ति नै नराम्रो देख्ने हुने भएकाले त्यस्तो प्रवृत्तिको शिकार भएको हो कि भनेर विचार गर्ने गरेको बताए।
कतिपय व्यक्तिको चरित्र र व्यवहार नै मिल्न नचाहने भएको भन्दै उनले आम कार्यकर्तालाई पनि पुनर्विचार गर्न आह्वान गरे।
महामन्त्री राणाले जेनजी आन्दोलनभन्दा तीन दिनअघि लमजुङ जिल्ला अधिवेशन उद्घाटन समारोहमा तत्काल संसदबाट राजिनामा दिएर राजसंस्था, हिन्दु राष्ट्र लगायत पार्टीले बोकेको एजेण्डा लिएर सडकमा जान आग्रह गरे पनि पार्टी नेतृत्व नमानेको बताए।
‘संसदबाट राजिनामा दिएर सडकमा जाउँ भन्दा मानेको भए के हुन्थ्यो,’ उनले भने, ‘सबै कुराको समय हुन्छ, समयमा नभए रेल छुट्छ।’
महामन्त्री राणाको यस भनाइको पनि अध्यक्ष लिङ्देनले जवाफ दिएका थिए।
‘हामीले राजसंस्था ल्याउने राप्रपाको लागि होइन, देशको लागि हो,’ उनले भने, ‘उत्ताउलो र उत्तेजनामा आउने होइन, समय हेर्नुपर्छ। कांग्रेस, एमाले र माओवादीलाई नै बोकाएर राजसंस्था ल्याउने हो।’
पोखरा महानगर कार्यसमिति अधिवेशनमा बोलेको अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यले अध्यक्ष लिङ्देनकै पक्षमा बोलेका थिए।
राप्रपा उपाध्यक्ष हेमजंग गुरूङले पार्टी नेतृत्व र कार्यकर्ता दुवैले गुटबन्दी त्याग्नुपर्ने बताए।
‘पार्टीभित्र मिल्ने कुरा गर्ने अनि बाहिर गएर उल्टोसुल्टो कुरा गर्न हुँदैन,’ उनले भने, ‘हामीले चुनेको अध्यक्षको इज्जत गर्नुपर्छ, जिल्लाको कार्यकर्ता पनि गुटगत रूपमा एउटा एउटा नेता समातेर हिँड्न हुँदैन।’
राप्रपा केन्द्रीय सदस्य खुश्बु ओलीले पनि अध्यक्ष लिङ्देनकै पक्षमा आफ्ना मत राखिन्। जेनजी आन्दोलन पश्चात सडकमा निस्केर राजसंस्था माग गर्दा जेनजीले नै विद्रोह गर्न सक्ने अवस्था आउन सक्ने उनले तर्क गरिन्।
‘हामीले जेनजीको आन्दोलन कब्जा गर्न खोजेको भए जेनजीले स्वीकार गर्थेन,’ उनले भनिन्, ‘त्यो रक्तपातमा राजालाई निकाल्न सकिन्थेन।’