नेपालगन्जका मुस्लिम मतदाताले चुनाव पनि इद जस्तै पर्व भएको बताएका छन्। हिजो इद मनाएका मुस्लिम समुदायका मतादता आज बिहानैदेखि आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदाता परिचय पत्र लिइरहेका छन्।
मतदाता परिचय पत्र लिइरहेका मुस्लिम मतदाताहरुले चुनाव पनि इद जस्तै पर्व भएको बताएका छन्।
‘धेरै वर्ष पछि हुन लागेको चुनावप्रति हामी धेरै उत्साहित छौ, इद भन्दा पहिले रोजाको ब्रत भएका बेला चुनाब हुने कुराले हामी धेरै दुःखी थियौ तर सरकारले मुस्लिम समुदायको माग अनुसार चुनावको मिति सारेपछि हामी खुसी भयौ,’ नेपालगन्ज ४ का मतदाता सकिल अहमद कादरीले सेतोपाटीसँग भने।
मुस्लिम सुमदायले चुनावलाई पर्वको रूपमा हेरेका भन्दै उनले यसपालि ठूलो संख्यामा मुस्लिम मतदाताले मतदानमा भाग लिएर आ-आफ्ना उम्मेदवारलाई विजयी गराउने बताए। ‘हिजो सूर्योदयसँगै सामूहिक नवाज पढ्न इदगाहामा गएका थियौ भोलि सूर्योदयसँगै बिहानै मतदान गर्न मतदान केन्द्रमा जान्छौ,’ उनले भने।
नेपालगन्ज उप महानगरपालिका क्षेत्रमा करिब २८ प्रतिशत मतादता मुस्लिम समुदायका छन्।
मेयर उपमेयर, बडा अध्यक्ष र सदस्यमा मुस्लिम समुदायका उम्मेदवार चुनावी मैदानमा छन्। आफ्नै समुदायबाट समेत उम्मेदवार भएकालेले चुनावलाई मुस्लिम समुदायले इद जस्तै पर्वको रुपमा मनाउने अर्का मुस्लिम मतदाता अब्दुल साबिरले बताए।
२०६८ को जनगणना अनुसार नेपालमा इस्लाम धर्मालम्बीको जनसंख्या ११ लाख ६४ हजार छ।
https://www.youtube.com/watch?v=Aa-aCoJNLuE&feature=youtu.be