पहिलो चरणको स्थानीय तह निर्वाचनमा काठमाडौं तथा ललितपुर महानगरका लागि एमाले र राप्रपाले तालमेल गरे। उता, भरतपुर र पोखरा महानगरका लागि नेपाली कांग्रेस र माओवादी केन्द्र पनि मिलिजुली चुनावी मैदानमा ओर्लिए। तर, न एमालेसँग तालमेल गरेर राप्रपालाई फाइदा भयो न त मिलिजुली चुनाव लडेर कांग्रेस र माओवादीले अपेक्षित नतिजा ल्याउन सके।
पहिलो चरणको चुनावी तालमेलबाट निराशा हात लागे पनि दलहरु पछि हटेका छैनन्।
असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि कतिपय स्थानमा जितको आस र हारको त्रासका साथ प्रमुख दलहरुले चुनावी तालमेल जारी राखेका छन्। आफू कमजोर रहेका केही क्षेत्रमा त प्रमुख दलहरुले साना दलको साथ पनि लिएका छन्।
यसपालि चुनावी तालमेलमा सबभन्दा प्रमुख क्षेत्र हो, विराटनगर महानगरपालिका जहाँ कांग्रेस एक्लै दुई-दुईवटा गठबन्धनसँग भिडदै छ।
कांग्रेसले विराटनगर महानगरपालिकामा भीम पराजुलीलाई मेयर उम्मेदवार बनाएको छ भने उपप्रमुखमा इन्द्रा कार्कीलाई उठाएको छ। कांग्रेसको बलियो पकडक्षेत्र रहँदै आएको विराटनगरमा प्रतिस्पर्धी नेकपा एमालेले मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गरेको छ।
एमालेका मेयर उम्मेदवार विनोद ढकाललाई यहाँ विजय गच्छदारको पार्टीले समर्थन गरेको छ। यसको बदलामा गच्छदारको पार्टीबाट उपमेयर उम्मेदवार सूची चौधरीलाई एमालेको समर्थन छ। ३१ हजार मधेसी समुदायको उपस्थिति रहेको विराटनगरमा गच्छदारको पार्टीसँग तालमेल गर्दै एमालेले मधेसी भोट तानेर कांग्रेसलाई टक्कर दिन खोजेको छ।
अर्कातिर, फोरम नेपाल र माओवादी केन्द्रको तालमेलले पनि यहाँ कांग्रेस र एमालेलाई चुनौती दिनेछ। झन्डै १० हजार यादवको उपस्थिति रहेको विराटनगरमा संघीय समाजवादी फोरम नेपालले उमेश यादवलाई मेयर उम्मेदवार बनाएको छ। फोरमसँग तालमेल गरेको माओवादी केन्द्रले उपमेयरमा नमिता न्यौपानेलाई उठाएको छ।
विराटनगरजस्तै चासोको केन्द्रमा छन्, बुटवल र धरान उपमहानगरपालिका।
बुटवलमा एमालेलाई कांग्रेस र माओवादी गठवन्धनले चुनौती दिएको छ। यहाँ एमालेले शिवराज सुवेदीलाई मेयर र गोमा आचार्यलाई उपमेयर उम्मेदवार बनाएको छ। एमालेलाई चुनौती दिन कांग्रेसले खेलराज पाण्डेयलाई मेयर उठाएको छ, जसलाई माओवादी केन्द्रको साथ छ। उपमेयरमा भने माओवादी केन्द्रका जगतबहादुर पोखरेल उम्मेदवार छन्।
त्यस्तै, जनजाति मत रहेको धरानमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले तालमेल गरेका छन्। यहाँ एमालेले तारा सुब्बालाई मेयर र मञ्जु भण्डारीलाई उपमेयर उठाएको छ। एमालेविरुद्ध माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरमा संघीय समाजवादी फोरमका पारस काङबाङ राई प्रतिस्पर्धी छन्। यो दौडमा कांग्रेसले तिलक राईलाई मेयर तथा श्यामा रेग्मीलाई उपमेयर उठाएको छ।
विरागटनर, बुटवल र धरानजस्ता ठूला सहरका अतिरिक्त केही नगरमा पनि प्रमुख दलहरुले चुनावी तालमेल गरेका छन्।
रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका छन्। मेयरमा कांग्रेसका हिराबहादुर खत्री र उपमेयरमा माओवादी केन्द्रका टीका न्यौपाने उम्मेदवार छन्। एमालेले मेयरमा टिकाराम चापागाईं र उपमेयरमा विद्यालक्ष्मी गुरुङलाई उठाएको छ।
रुपन्देहीकै तिलोत्तमा नगरमा कांग्रेसले राष्ट्रिय जनमुक्ति मोर्चासँग गठबन्धन गरेको छ। यहाँ एमाले एक्लै प्रतिस्पर्धामा छ। एमालेले मेयरमा वासुदेव घिमिरे, उपमेयरमा जागेश्वरीदेवी चौधरीलाई उठाएको छ। कांग्रेसबाट रामकृष्ण खांण मेयर उम्मेदवार छन् भने उपमयेरमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई कांग्रेसको समर्थन छ।
त्यस्तै, प्युठानको स्वर्गद्धारीमा राष्ट्रिय जनमोर्चा (राजमो) ले माओवादी केन्द्रसँग तालमेल गरेको छ। एमाले र राजमोबीचको तालमेल एमाले कार्यकर्ताले अस्वीकार गरेपछि राजमो र माओवादी केन्द्रको गठबन्धन भएको हो। एमालेले यहाँ मेयरमा नेत्रबहादुर रोकाय र उपमेयरमा गोमा रेग्मीलाई उम्मेदवार बनाएको छ।
स्वर्गद्धारीमा माओवादीले राजमोका वीरबहादुर पुनलाई मेयर उम्मेदवार स्वीकारेको छ भने माओवादीका दुर्गा रेग्मी उपमेयर उम्मेदवार छन्।
प्युठान नगरपालिकामा पनि राजमो र माओवादीबीच तालमेल छ। माओवादी केन्द्रले अर्जुनकुमार कक्षपतिलाई मेयर उम्मेदवार बनाएको छ भने राजमोका ध्रुवकुमार थापालाई उपमेयरमा समर्थन गरेको छ। यहाँ एमालेले मेयरमा तुल्सीराम शर्मा र उपमेयरमा शान्ता आचार्यलाई उम्मेदवार बनाएको छ।
ताप्लेजुङको फुङलिङमा कांग्रेस र माओवादीले मेयर र उपमेयरमा तालमेल गरेका छन्। कांग्रेस उम्मेदवार केशवप्रसाद दाहाल मेयर तथा माओवादी केन्द्रका बमबहादुर भट्टराई (तारा) उपमेयरका उम्मेदवार छन्। एमालेबाट छत्रपति प्याकुरेल मेयर र उपमेयरमा विमला सेनेहाङ सुब्बा उठेका छन्।
मोरङको रतुवाई माई नगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरम केन्द्रबीच तालमेल भएको छ। माओवादी केन्द्रबाट मेयरमा प्रकाश पौडेल र संघीय समाजवादीबाट उपमेयरमा नारायण ताजपुरिया उम्मेदवार छन्। यहाँ एमालेका टिकेन्द्र पोमु मेयरमा प्रतिस्पर्धा गरिरहेका छन्।
कपिलवस्तुको वाणगंगामा मेयरमा कांग्रेसबाट मगंलप्रसाद थारु र उपमेयरमा माओवादी केन्द्रका टोपनारायण बेल्बासे उम्मेदवार छन्। एमालेले वाणगंगामा मेयरमा महिला उम्मेदवार उठाएको छ। यहाँ मेयरमा विमला घिमिरे र उपमेयरमा चक्रपाणि अर्याल प्रतिस्पर्धामा छन्।