दुर्गा प्रसाईंलाई पक्राउ गर्न सोमबार मध्यरात भक्तपुरस्थित उनको निवास गएको प्रहरी टोलीले साथमा भर्याङ पनि लिएर गएको थियो।
कसैलाई पक्राउ गर्न भर्याङ किन चाहियो भन्ने तपाईंहरूलाई लाग्ला!
यसको पछाडि कारण छ। र, त्यो कारण प्रसाईंलाई पहिलो पटक पक्राउ गर्दाको अनुभवसँग जोडिएको छ।
घटना २०८१ असोज ६ गतेको हो।
'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा गतिविधि गरिरहेका प्रसाईंलाई त्यो रात प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएको थियो।
त्यसका लागि साइबर ब्युरोका प्रहरी भक्तपुरस्थित उनको घर पुगेका थिए। प्रसाईंले प्रहरी आएको थाहा पाएपछि गेट खोल्न मानेनन्।
लगातार प्रयास गर्दा पनि गेट नखुलेपछि प्रहरी टोली भर्याङ लगाएर घरभित्र प्रवेश गरेको थियो र प्रसाईंलाई नियन्त्रणमा लिएको थियो।
त्यही अनुभवका आधारमा यसपालि पनि त्यस्तै हुन सक्छ भनेर प्रहरी भर्याङसमेत लिएर तयारीका साथ गएको स्रोतले जानकारी दियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति दिएका कारण प्रसाईंलाई पक्राउ गरिएको बताएका छन्।
प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्ति दिँदै आएका थिए। देश गृहयुद्धमा जान लागेको र त्यसका लागि रासनपानी बन्दोबस्त गरेर राख्नू भन्ने जस्ता अभिव्यक्ति दिएर उनले समाजलाई भ्रमित पार्दै आएका थिए।
सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अभिव्यक्ति पत्याएर धेरैमा डर र त्रास छाएको थियो। त्यसबाहेक राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउने काम पनि उनले गर्दै आएका थिए। पुष्टि नभएका आधारहिन र भ्रमपूर्ण सूचना फैलाएर राज्यविरूद्ध भड्काउने अभिव्यक्ति पनि दिँदै आएका थिए।
त्यही क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीतर्फ लक्ष्य गर्दै व्यक्तिगत गालीगलौजपूर्ण अभिव्यक्ति र प्रहरीलाई लक्ष्य गर्दै भड्काउ भाषण दिएपछि शान्तिसुरक्षाको निम्ति पक्राउ गर्ने निर्णय भएको प्रहरी स्रोत बताउँछ।
स्रोतका अनुसार उनलाई दिउँसो पक्राउ गर्नु सुरक्षा हिसाबले चुनौतीपूर्ण हुन सक्थ्यो। उनका समर्थक हिंसात्मक प्रदर्शनमा ओर्लन सक्थे। यसअघि पनि उनलाई पक्राउ गरेपछि समर्थकहरूले मसाल जुलुस निकालेका थिए।
त्यही भएर गृह प्रशासन र सुरक्षा निकायबीच प्रसाईंलाई रातको समय पक्राउ गर्ने समझदारी बनेको प्रहरीका एक उच्च अधिकारीले बताए।
'सोमबार राति जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालन गर्ने विषयमा छलफल भएको थियो,' ती अधिकारीले भने, 'त्यसै अनुसार भक्तपुरका एसपीको कमान्डमा अपराध अनुसन्धान कार्यालय सहितको टोली राति १० बजेतिर प्रसाईंको घरमा पुगेको थियो।'
प्रसाईको घर पुगेका प्रहरीहरू सबैजसो सिभिल ड्रेसमा थिए। पहिलेजस्तै गेट नखुल्न सक्ने आकलन गर्दै उनीहरूले भर्याङ पनि सँगै लिएर गएका थिए।
नभन्दै प्रसाईंले यसपालि पनि प्रहरी आएको सूचना पाएपछि ढोका खोलेनन्।
'ढोका नखुले पनि हामीले एकैचोटि भर्याङ प्रयोग गरेनौं। करिब डेढ घन्टा बाहिरै कुरेर बस्यौं,' प्रसाईंलाई पक्राउ गर्न गएको टोलीका एक अधिकारीले भने, 'डेढ घन्टा कुर्दा पनि ढोका नखुलेपछि हामी भर्याङ हालेर घरमाथि चढ्न ठिक्क परेका थियौं।'
भर्याङ लगाउँदा लगाउँदै भित्रबाट ढोका खोलिएको उनले जानकारी दिए।
अहिले प्रसाईंलाई पक्राउ गर्न गएको प्रहरी टोलीका भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन्। उक्त भिडिओमै घरभित्र प्रवेश गर्न प्रहरीले भर्याङ राखेको दृश्य देखिन्छ। त्यही बेला भित्रबाट कसैले ढोका खोलेको देखिन्छ। ढोका खुलेपछि प्रहरीहरूले भर्याङ हटाएका छन्।
प्रहरी स्रोतका अनुसार प्रसाईंले आफूलाई पक्राउ गर्न आएका प्रहरीलाई पनि राजनीतिक गफ दिएर भुलाउन खोजेका थिए।
'उहाँले राति नै केही बेर प्रहरीसँग राजनीतिक विषयमा गफ दिन थाल्नुभएको थियो। केही बेर गाली पनि गर्नुभयो,' एक प्रहरी अधिकारीले भने, 'तर पक्राउ गर्न गएको प्रहरी टोलीलाई त्यसले छुने कुरा भएन।'
प्रसाईंलाई मंगलबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्ने प्रहरीको तयारी छ। उनीमाथि सार्वजनिक शान्तिमा खलल पारेको आरोप छ।
'नागरिक स्वतन्त्रताका नाममा उहाँले सार्वजनिक शान्ति भंग गरिरहनुभएको छ,' एसपी पवनकुमार भट्टराईले मंगलबार बिहान सेतोपाटीसँग भने, 'उहाँ सबैलाई अभिव्यक्ति स्वतन्त्रतामा विरोध गर्न पाइन्छ भन्नुहुन्छ। तर अभिव्यक्ति स्वतन्त्रताका आडमा उहाँले गरेका क्रियाकलाप सार्वजनिक शान्ति भंग हुने खालका र अफवाह फैलिने खालका छन्। त्यसैले नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं।'
दुर्गा प्रसाईं योसँगै चौथो पटक पक्राउ परेका हुन्।
सुरूमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २०८१ असोज ६ गते साइबर मुद्दामा पक्राउ परेका थिए। त्यसै वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबी गरेपछि मंसिर ४ गते दोस्रो पटक पक्राउ परेका थिए।
तेस्रो पटकको पक्राउ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनासँग सम्बन्धित थियो। दुई जनाको ज्यान जाने गरी भएको उक्त घटनामा उनी मुख्य अभियुक्त थिए। उक्त घटनापछि फरार भएका प्रसाईंलाई प्रहरीले भारतको असमबाट पक्रेर ल्याएको थियो।
त्यति बेला जिल्ला अदालत काठमाडौंले ज्यानसम्बन्धी कसुर, आपराधिक उपद्रव कसुर र संगठित अपराध कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पछि उच्च अदालत पाटनले २५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दियो।
त्यसपछि छुटेका उनी फेरि अराजक गतिविधिमा लागेको भन्दै प्रहरीले अहिले चौथो पटक पक्राउ गरेको हो।
***