सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को चर्चा र लोकप्रियता जति बढिरहेको छ, त्यति नै पारदर्शिताका प्रश्न उठिरहेका छन्।
अघिल्लो सिजनमा लिगले कतिपय कानुनी प्रक्रिया मिचेको सार्वजनिक भएको थियो। अप्रत्यक्ष रूपमा क्यानकै पदाधिकारीले प्रक्रिया मिचेको स्वीकार गर्दै आएका छन्।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द सधैं दाबी गर्छन्, 'प्रक्रिया तलमाथि भयो होला, तर गलत भएको छैन।'
अघिल्लो संस्करणको एनपिएल तीनवटा उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले छानबिन गर्न तीन पटक प्रयास गरे पनि अहिलेसम्म कुनै निर्क्यौल निकाल्न सकेको छैन।
एनपिएलको विषयमा उठेको मुख्य प्रश्न अनलाइन बेटिङ (जुवा) को हो।
क्यानले अनलाइन बेटिङ गर्ने मुख्य कम्पनीको ब्रान्ड प्रचार गरिरहेको छ। अनलाइन बेटिङ गराउने ती छद्म कम्पनीको प्रचार गर्न पाइन्छ कि पाइँदैन भन्ने विषयमा सरकारी पक्ष र क्यानको आ-आफ्नै दाबी छ।
गत सिजनमा नेपाल सरकार अन्तर्गतको विज्ञापन बोर्डले अनलाइन बेटिङ गर्ने छद्म कम्पनी 'डाफा न्यूज' लगायतका ब्रान्डको प्रचार गरेको विषयमा क्यानलाई स्पष्टीकरण सोधेको थियो। त्यसमा क्यानले चित्तबुझ्दो जबाफ नदिएको भन्दै सचेत समेत गराएको थियो।
त्यस्तै बोर्डले गत भदौ १३ गते सार्वजनिक विज्ञापन निकालेर डाफा न्यूजसहितका अनलाइन बेटिङसम्बन्धी छद्म कम्पनीको नाम नै उल्लेख गरेर त्यसको विज्ञापन नगर्न भनेको थियो।
त्यस्तो विज्ञापन गरिए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो।

बोर्डको निर्देशन विपरीत सोमबारबाट सुरू भएको एनपिएल दोस्रो संस्करणमा अनलाइन बेटिङको छद्म ब्रान्ड डाफा न्यूजको प्रचार गरिरहेको छ।
साइड स्क्रिन नजिक डिजिटल विज्ञापन राख्नुका साथै बाउन्ड्रीमा डाफा न्यूजको प्रचार गरिएको देख्न सकिन्छ।
यसबारे क्यानका सचिव तथा एनपिएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्का बेटिङ ब्रान्डको प्रचार नगरिएको र छद्म ब्रान्ड अनुगमन गर्ने स्पष्ट प्रणाली नभएको दाबी गर्छन्।
'अघिल्लो वर्ष पनि छद्म ब्रान्डलाई लिएर कुरा आएका थिए। हामीले बेटिङ ब्रान्ड कहिल्यै प्रवर्द्धन गरेका थिएनौं। छद्म कम्पनीको ठ्याक्कै परिभाषा पनि आइसकेको छैन। यसको नियम के हो र अनुगमन प्रणाली के हो स्पष्ट छैन। अहिलेका प्रयोग भएका ब्रान्ड बेटिङका ब्रान्ड होइनन्,' पारसको भनाइ छ।
उनले क्यानको दायराभित्र हुन सक्ने अनलाइन सट्टेबाजीको विषयमा आफू सचेत रहेको बताएका छन्।
प्रत्येक टोलीमा सट्टेबाजी लगायत विषय हेर्न छुट्टै अफिसर खटाइएको र क्यानको 'एन्टीकरप्सन युनिट' ले काम गरिरहेको उनले जानकारी दिए। साथै, प्रत्येक दिनको रिपोर्ट आइसिसीलाई पनि पठाउने उनको भनाइ छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी मनोज केसीले पनि एनपिएलमा सट्टेबाजी हुने जोखिमबारे सचेत रहेको बताएका छन्।
'एनपिएलमा सट्टेबाजीका सूचना आए हामी कारबाही गर्छौं। आफ्नै तरिकाले निगरानी पनि राख्छौं,' उनले भने, 'कानुनले प्रस्टसँग यस्ता छद्म एप वा साइटबारे बोलेको देखिन्न। तर यसअघि प्रचार गरेको भन्नेबारे मैले नै मुद्दा चलाएको हुँ। कलाकार र युट्युबरहरू पक्राउ पनि परेका थिए।'
सिआइबी प्रमुख केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी हुँदा 'वानएक्स बेट' को प्रचार गर्ने कलाकारहरू पक्राउ परेका थिए।
त्यति बेला वानएक्स बेटको छद्म एप वा साइटका रूपमा 'वान एक्स ब्याट' नाम राखिएको थियो।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न पाइँदैन। कसैले पनि बेटिङ गर्न वा गराउन नहुने कानुनमा उल्लेख छ।
बेटिङ गरेको ठहर भए बिगो जफत गरी त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना हुने भनिएको छ।
***