राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने बताएको छ।
प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईलाई पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेका हुन्।
प्रहरीले गए राति प्रसाईंलाई निवास भक्तपुरबाट पक्राउ गरेको थियो। उनीमाथि थप छानबिन गर्न चार दिन म्यादसमेत थप भएको छ।
‘प्रसाईंलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ। प्रसाईको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘प्रसाईलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’