नेपालमा जहाज अवतरण गर्दा 'बर्ड स्ट्राइक' (चरा ठोक्किने) का घटना धेरै हुने गरेको पाइएको छ।
नागरिक उड्डयन प्राधिकरणको 'एभिएसन सेफ्टी रिपोर्ट २०२४' अनुसार वर्षभरि चरा ठोक्किएका ७३ घटनामध्ये अवतरण गर्दा ३९ प्रतिशत, उड्दा २३ र एप्रोचमा २८ प्रतिशत हुने गरेको तथ्यांकले देखाउँछ।
देशभरका विमानस्थलमध्ये सबभन्दा धेरै 'बर्ड स्ट्राइक' का घटना काठमाडौं विमानस्थलमा हुन्छन्।
सन् २०२४ को उक्त रिपोर्ट अनुसार ११ वटा विमानस्थलमा जहाजसँग चरा ठोक्किएका थिए। त्यसमा सबभन्दा धेरै काठमाडौं विमानस्थलमा यस्ता घटना ३४ पटक भएका थिए।
त्यसपछि पोखरा विमानस्थलमा १२, भैरहवामा ५, विराटनगरमा ४, नेपालगन्जमा ४, भरतपुर र भद्रपुरमा ३–३, सुर्खेतमा २, राजविराज, बाजुरा र सिमरामा एक-एक वटा बर्ड स्ट्राइकका घटना भएको देखिन्छ।
सबभन्दा धेरै घटना जुलाईमा
रिपोर्ट अनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म हरेक महिना जहाजमा चरा ठोक्किने घटना भएका छन्।
यस्तो घटना वर्षभरिमा सबभन्दा धेरै जुलाई महिनामा भएको छ। जुलाईमा मात्र १४ वटा चरा ठोक्किएको रिपोर्टमा उल्लेख छ।
जनवरीमा ६ वटा, फेब्रुअरीमा २ वटा र मार्चमा ५ वटा चरा ठोकिएका छन्। त्यस्तै, अप्रिलमा ३, मेमा ५, जुनमा ३, अगस्टमा ११, सेप्टेम्बरमा १२, अक्टोबरमा ५, नोभेम्बरमा ५ र डिसेम्बरमा २ वटा चरा जहाजसँग ठोकिएको प्राधिकरणको रिपोर्टमा उल्लेख छ।
सन् २०२४ को बर्ड स्ट्राइकको घटना २०२३ को तुलनामा केही बढी हो। प्राधिकरण कार्यालयको तथ्यांक अनुसार सन् २०२३ मा ६९ पटक चरा ठोक्किएका थिए। त्यसअघि सन् २०२२ मा ७३ पटक चरा ठोक्किएका थिए।
किन विमानस्थलमा बस्न मन पराउँछन् चरा?
विमानस्थल स्रोतका अनुसार हरेक वर्ष सेप्टेम्बर–अक्टोबरमा चराको संख्या र गतिविधि बढ्ने गरेको छ।
यो समय चराले नयाँ बच्चा कोरल्ने र आहाराको खोजीमा बाहिर निस्किने भएकाले नेपालमा मात्र नभएर संसारभरि नै चराको गतिविधि बढ्छ।
सेप्टेम्बरदेखि अक्टोबरसम्म चीन, साइबेरिया र मंगोलियाबाट चराहरू नेपाल आउजाउ गर्ने भएकाले हिउँदे चराको गतिविधि बढ्ने प्राधिकरणका अधिकारी बताउँछन्।
धावनमार्ग तातेपछि तातो हावा माथि जाने भएकाले चिसो मौसममा चराहरू विमानस्थलमा वरिपरि आउने र जहाजमा ठोक्किने गरेको उनले बताए।
'जसरी जहाजलाई ठूलो र खुला धावनमार्ग चाहिन्छ, त्यसैगरी चरालाई पनि खुला र तातो हावा आउने ठाउँ मन पर्छ,' उनले भने, 'त्यसैले चराहरू धावनमार्ग वरपर घुम्ने गर्छन्।'
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल पनि वैकल्पिक बासस्थान खोज्दै चराहरू विमानस्थल आउने गरेको बताउँछन्।
विमानस्थलमा चराको आउजाउ किन धेरै हुन्छ भन्ने प्रश्नमा भुलले भने, 'बासस्थान र आहारा सजिलै पाइने भएकाले पनि विभिन्न विमानस्थलमा चराको आवतजावत बढेको हो।'
उनका अनुसार जहाँ हरियाली हुन्छ, त्यहाँ कीरा–फट्यांग्रा पाइन्छन्। काठमाडौं विमानस्थल वरपर बागमती, विष्णुमती र मनहरा खोला भएकाले पानीको लागि पनि टाढा जानु परेन। सबै कुरा वरपर पाइने भएपछि यहीँ बस्न रूचाएको देखिन्छ।
यति मात्र होइन, बेलाबखत खोला किनारामा फ्याँकेका फोहोर तथा माछामासुले पनि चराको आउजाउ बढाएको छ।
जमीनमा फ्याँकिएका तथा अव्यवस्थित फोहोर झम्टिँदै चराहरू उड्ने क्रममा विमानस्थल वरपर आउने र जहाजसँग ठोक्किने अधिकारीहरू बताउँछन्।
विमानस्थलहरूले कसरी चरालाई टाढा राख्छन्?
चरा ठोक्किने जोखिमबाट जहाजलाई बचाउन संसारभरका विमानस्थलले अनेक प्रयास गरिरहेका छन्। तर शतप्रतिशत नियन्त्रण गर्न सजिलो छैन।
सन् २००४ मा भारतभरि बर्ड स्ट्राइक बढेपछि त्यहाँको नागरिक उड्डयन प्राधिकरणले नयाँ निर्देशन जारी गरेको थियो। विमानस्थल वरपर चराहरूको बासस्थान घटाउने कार्यक्रम लागू गर्नुका साथै चराहरूको गतिविधि मापन गरी जोखिमको नियमित मूल्यांकन गरिन्छ।
त्यस्तै, धावनमार्गमा गस्ती बढाएर चराको आवागमन बढेको पाइए पाइलटलाई तुरून्त सूचना दिने व्यवस्था गरिएको छ। नेपालमा पनि विमानस्थललाई चराबाट जोगाउन विभिन्न उपाय अपनाइएको प्राधिकरणका सूचना अधिकारीले भुलले जानकारी दिए।
उनका अनुसार विमानस्थल वरपर १५–२० सेन्टिमिटरभन्दा सानो र ४० सेन्टिमिटरभन्दा अग्लो घास राख्न हुँदैन। यसका लागि पर्यटन सचिवको अध्यक्षतामा राष्ट्रिय चरा नियन्त्रण समिति गठन गरिएको छ। यसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नीतिगत मार्गदर्शन गर्नुपर्छ।
नागरिक उड्डयन नियमावलीले विमानस्थलको तीन किलोमिटर वरपर वधशाला स्थापना गर्न निषेध पनि गरेको छ।
प्राधिकरणले चराचुरूंगी नियन्त्रण गर्न हरेक वर्ष बजेट छुट्याउँछ। सूचना अधिकारी भुलका अनुसार चालू आर्थिक वर्ष बर्ड स्ट्राइक नियन्त्रण गर्न विभिन्न विमानस्थलका लागि साढे ५ करोड रूपैयाँ छुट्टयाइएको छ।
विमानस्थल सञ्चालकले बर्ड स्ट्राइक नियन्त्रणका लागि चरालाई तर्साउने र धपाउने प्रविधि तथा वातावरणीय नियन्त्रणमार्फत् जोखिम कम गराउने उपाय अवलम्बन गर्दै आएको भुलले बताए।
धावनमार्ग वरपर चरा धपाउन सिकारीको पनि व्यवस्था गरिएको छ।
***