नेकपा एकीकृत समाजवादी पुनर्गठनमा लागेका घनश्याम भूसालले विचार र मुद्दा सकिएका र अस्तित्व रक्षाले लखेटिएका ठूला नेता जम्मा गरेर कमरेड प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीका नाममा कचिंगलको कचहरी बनाएको टिप्पणी गरेका छन्। भूसालले सामाजिक सञ्जाल फेसबुकमार्फत् ती कसैसँग पनि विचारको श्रृङ्खला नरहेको दाबी गरेका छन्।
‘हरेकका मुद्दा, उद्देश्य र प्राथमिकता फरक छन्। समाजवाद कसरी आउँछ? वाम आन्दोलनको कार्यभार के हो? क्रान्तिकारी पार्टी कसरी बन्छ? कुन सन्धि÷सम्झौता नेपालको हित/अहितमा छन्? जस्ता विषय अगाडि राख्ने हो भने ती सबैको सबैसँग सार्वजनिक झगडा त्यसै क्षण सुरु भैहाल्छ,’ उनले भने।
विचार र मुद्दामा चुपचाप बस्नु नै त्यस पार्टीको शक्ति रहेको उनको भनाइ छ।
‘कमरेड प्रचण्डले त्यो बुझेका छन्। त्यसैले त्यस्ता विषयमा कुनै पनि बैठकमा छलफल हुन दिने छैनन्। विचार र मुद्दा चुनावपछि भनेर स्थगित गरिने छ। ती सबैका पद, हैसियत, मुद्दा र स्वार्थलाई ठिक छ, ठिक छ भनेर कमरेड प्रचण्डले थामथुम पारिरहने छन्,’ उनले भने।
‘छ महिनामा महाधिवेशन गर्छौं, त्यसपछि कार्यकारी पदमा रहन्नौं’ भन्ने वाक्य नै नेपाली कम्युनिस्ट पार्टी प्रचारको सबैभन्दा मुख्य मुद्दा भएको पनि उनले बताएका छन्।
‘विचार हो, सिद्धान्त हो, मार्क्सवाद–लेनिनवाद हो । तर सत्ता बाहिर बाँच्नै नसक्ने प्राणीका रुपमा यिनीहरू इतिहासमा अमर भैसकेका छन्। कमरेड ओलीले झैं, यिनीहरूले पनि गर्न बाँकी रहेको काम अझ एक पटक मतदातालाई झुक्याउनु हो। अर्कोतर्फ, यिनीहरुले छोडिहाले भने कसले बाजी मार्ने हो भनेर कम्तिमा एक दर्जन ‘उत्तराधिकारीहरु’ तँछाड–मछाडमा लागि सकेका छन्। राजनीतिले निर्देशित नगरेपछि हुने त्यस्तै हो,’ उनले भने।
करिब २५०० जना केन्द्रीय नेताहरू भएको नेपाली कम्युनिस्ट पार्टीका बैठक र सन्देश सभामा उद्घोषकले वक्ताहरूको क्रान्तिकारीता, वीरता, दृढताको आरती उतार्ने उनको टिप्पणी छ।
लाइन लागेर तिनीहरूले केपी ओलीका बदमासीका घटनाको कैरन सुनाउने भूसालले बताएका छन्।
‘दर्जन बढी पार्टीको नाम सुनाएर एकताको महानता बताइने छ, एकले अर्कोको महानताको वा आफैले आफ्नो योगदानको प्रवचन सुनाउने छन्। भविष्यको बाटो देखाइने छैन, इतिहासको बखान गरिने छ, आन्दोलनको कुरा हुने छैन, व्यक्तिको प्रसस्ति गाइने छ। तर समाजको त कुरै छोडौं कार्यकर्तामा पनि विश्वास भर्न नसकेको तिनको लघुताभाष उदांगो हुँदै जानेछ। यसरी एउटा वामपन्थी राजनीतिक पार्टीका रूपमा त्यसले गति लिने छैन,’ उनको कटु टिप्पणी छ।
चलाखीमा प्रविण कमरेड प्रचण्डले यस्तो बेला अर्को क्रमभंग खोज्न सक्ने उनको आकलन छ।
स्वार्थको रोटीभाग मिलाउन सके भने संयोजक प्रचण्ड र ओली मिलेर फेरि ‘महान् एकता’ को दुखान्त प्रहसन गर्न सक्ने पनि उनको बुझाइ छ।
‘क्रान्तिकारीहरुका लागि यो असाधारण चिन्ता र चुनौतिको परिस्थिति हो। वर्तमानभन्दा भविष्य डरलाग्दो देखिएको समय हो। तर तथाकथित महान् नेताहरूका सबै प्रयोगहरू असफल भएर तिनका नालायकीका सबै पर्दाहरु च्यातिएको बेला पनि हो यो।
क्रान्तिकारीहरूका लागि मैदान खाली भएको बेला पनि हो। चौतर्फी निराशा, उकुसमुकुस र पलायनको यो बेला मुलुकका रूपान्तरणकारी मुद्दाका साथ लोकतान्त्रिक पार्टी निर्माणको नयाँ पहलकदमीले देशभरीका क्रान्तिकारीहरुलाई एउटा नयाँ बाटो दिन्छ,’ उनले भनेका छन्।
मुलुकको समृद्धि र समाजवादी कार्यक्रमको आधारमा बृहत् वाम एकताको ढोका खुल्ने उनले बताएका छन्।
नालायकी लुकाउने ठाउँ नपाएका, राष्ट्रिय हितका विषयमा कैयन् पटक आत्मसमर्पण गरेका, चाकरीबाट प्राप्त वरिष्ठताका फुलीको भारीले थिचिएका, निर्वाचनमा आफ्नो कोटा सुरक्षित देखेका, राजनीतिबाट सातपुस्ताका लागि मनग्गे कमाइसकेकाहरूले यस्तो पहलकदमीलाई केही समय मजाक उडाउने पनि उनले बताएका छन्।
‘तर वैज्ञानिक विचार र एजेण्डासहित मैदानमा उत्रेपछि सानो समूहले पनि राजनीतिको भाष्य बदल्न सक्छन् भन्ने कुरा हामीले प्रमाणित गरिसकेका छौं। विचारका मूलभूत प्रश्नमा हाम्रा अगाडि कुनै चुनौति छैन। संगठनका प्रश्नमा अझै केही समस्या छन्। पार्टी संगठन भनेको कारोबारीहरुको गठबन्धन हो भन्ने प्रचार स्थापित भएको राजनीतिमा हामीले क्रान्तिकारी पार्टी राजनीतिक नै हुन्छ भन्ने स्थापित गर्नु पर्ने छ। आज जीवित रहेको हाम्रो पुस्ताले यत्ति काम गर्न सक्यो भने हाम्रो आन्दोलनकै इतिहासमा ठूलो योगदान हुने छ। आउनुस् साथी, छलफल गरौं,’ उनको आग्रह छ।