स्थानीय तहको निर्वाचन सुरू हुन ४८ घण्टा अघिदेखि नेपालगन्जको जमुनाह-रूपैडिया नाका बन्द हुने भएको छ।
नेपाल र भारतका सुरक्षा अधिकारीबीच दुई साता पहिले भएको सहमति अनुसार १२ गते बिहान ७ बजेदेखि असार १४ गते साँझ (निर्वाचन सम्पन्न नहुँदा) सम्म नेपाल भारत सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
निर्वाचनका बेला सीमावर्ती क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने पैदल यात्रु, सबै किसिमका सवारी साधनको ओहोर दोहोरमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
असार १४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बाँकेसहितका जिल्लाहरूमा स्थानीय तहको दोस्रो चरणको मतदान हुँदैछ।
दैनिक हजारौं ब्यक्ति र सयौं सवारीका ओहोर-दोहोर हुने जमुनाह- रूपैडिया नाका बन्द हुने सूचना समयमै जारी गरे सीमाबर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा तथा सर्बसाधारणहरुलाई सहज हुने भन्दै प्रशासनले आज जारी गरेको हो।
खुला सीमाका कारण हुनसक्ने सम्भावित अपराधिक गतिबिधि नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षाकर्मीहरुले जेठको अन्तिम सातादेखि सीमामा संयुक्त गस्ती गर्दै आएका छन्।
संयुक्त गस्ती टोलीमा शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षाबल एसएसबीका सुरक्षाकर्मीहरु परिचालन भईरहेका छन्।