नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेपालीले बंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्ने बताएका छन्।
झापाको झापा गाउँपालिकामा नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दे पूर्विप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जन्मका आधारमा लिएका मधेसी मुलका नेपाली नागरिकलाई वंशजका आधारमा नागरिकता प्रदान गर्नुपर्ने बताएका हुन्।
‘एमालेलाई मधेश विरोधी भन्ने आरोप छ, यो आरोप गलत र छुच्याईको मेलो हो,’ उनले भने, ‘एमाले मधेस विरोधी नै हो भने सरकारको नेतृत्व गरेका वेला हुलाकी सडकका लागि किन खर्बौ वजेट विनियोजन हुन्थ्यो।’
ओलीले सवै जात जाति भाषा धर्म सम्प्रदाय र भुगोलका नागरिकलाई समेट्न सक्ने पार्टी एमाले मात्र भएको दाबी गरे।
ओलीले सरकारबाट बाहिरिँदाका पीडा सुनाउदै भने, ‘नौ महिना एमालेले सरकारको नेतृत्व गर्दा नेपाली कांग्रेस र माओवादी केन्द्रले एमालेका लोकप्रिय र विकासमुखी कार्यक्रम देखेर आत्तिएका कारण सरकार असहयोग गरेर अल्पमतमा पारे,’ उनले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकारले धेरै गर्नु थियो शुरुका ५ महिना सीमानामा ताला लगाउँदा पनि ४ महिनामा विकास निर्माणको लहरै चल्यो।’
अध्यारा ठाँउलाई उज्यालो बनाउन सडक बत्ती, हुलाकी सडक, कृषि उत्पादमा वढावा, झोलुङे पुल निर्माण जस्ताका योजना एमालेले सरकारको नेतृत्व गरेका वेला ल्याएको ओलीले बताए। उनले भने, ‘अब झापा गाउँपालिकालाई स्मार्ट सिटी बनाउने एमालेको लक्ष्य छ।’
‘तत्कालिन शरणामति हालको झापा गाउँपालिकाले मलाई राजनीति सिकाएको हो,’ ओलीले भने, ‘म हुर्किएको ठाउँ यहीको माटो हो। मेरा समकालिन अझै हुनुहुन्छ, उहाँहरू अहिले वडाका अध्यक्ष बन्नुभयो मलाई एमालेको नेतृत्व गर भनेर पठाउँदै गर्दा बालुराम खरेल वडा अध्यक्षको उम्मेद्धार भईरहनुभएको छ। वहाँहरुको साथले मैले मुलुकको नेतृत्व गर्न पाए।’
झापाको किसान आन्दोलनमा भूमिगत हुँदा दाल भात तरकारी पकाएर दिने र प्रत्येक रात ठाँउ साह्री साह्री लुकाउने अनि धनुकाड चलाउन सिकाउने शरणामतिका सन्थाल जातिसहित मुस्लिम समुदायलाई सम्झदै ओलीले भने ‘झापा गाउँपालिकामा एमालेले चुनाव जित्नुपर्छ । किनकी यो मैले राजनीति शुरु गरेको माटो हो।’
कांग्रेस माओवादीले भन्ने गरेका रहेछन् कि झापा गाउँपालिकामा सतार केटासँग फुटबल खेल्ने फुच्चेले चुनाव जित्यो भने गाउँको के विकास गर्ला? ओलिको जवाफ थियो मैले पनि यहीका सतारसँग धनुकाँड चलाउन सिकेर खेलेको हुँ, मैले देश चलाउँदा गजेन्द्रले गाउँ चलाउन सक्दैनन्? उनले प्रस्ट पार्दे भने गजेन्द्र त एमालेले उम्मेद्धार बनाएको मात्र हो विकास र बजेट त सरकारले पठाईहाल्छ नि। उनले भने, ‘अब सरकारको नेतृत्व एमालेले गर्छ।’