थारू बाहुल्य दाङको घोराही उपमहानगरपालिकामा यसपटक त्रिपक्षीय प्रतिष्पर्धा हुँदैछ। अझ प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र तीन वटै दलले प्रतिष्ठाको विषय बनाउँदै लोकप्रिय व्यक्तिलाई नै उम्मेद्वार बनाएपछि सदरमुकाम समेत घोराही कसको पोल्टामा पर्ने हो भन्ने सबैको चासोमा परेको छ।
२०५४ को स्थानीय निर्वाचनमा घोराही नगरपालिकामा एमाले विजयी भयो। पहिलो संविधानसभाको निर्वाचन २०६४ मा घोराही नगरपालिका रहेको क्षेत्र नं ३ मा माओवादी विजयी भयो।
माओवादीका कृष्णबहादुर महरा घोराहीबाटै सांसद बने। दाङका पाँच निर्वाचन क्षेत्रमा माओवादीले लालकिल्ला कामय गर्यो। तर २०७० मा ठिक विपरित रिजल्ट आयो। दाङका पाँचै क्षेत्रमा कांग्रेसले जित्यो। अझ घोराही रहेको क्षेत्र नं ३ मा कांग्रेसका विजयी राजु खनालको भन्दा माओवादीका उम्मेद्वार निर्मल आचार्यले ठीक आधा मत ल्याए। कांग्रेस उम्मेद्वारको १५ हजार मत आउँदा माओवादी र एमाले उम्मेद्वार समान सात सात हजार मत मात्र ल्याउन सके।
स्थानीय तह पुर्नसंरचना पछि १४ वडा रहेको घोराही नगरपालिका १९ वडा सहित उपमहानगरपालिका बनेको छ। जसमा क्षेत्र नं २ का ५ वडा थपिएका छन्।
कांग्रेसका घोराही उपमहानगपालिकाका उम्मेद्वार भूपबहादुर डाँगी निर्वाचन आफ्नो पक्षमा आउनेमा ढुक्क छन्। उनी भन्छन् - 'थपिएका क्षेत्र पनि हाम्रै हो। अनि क्षेत्र नं ३ हामीले जितेको हो। घोराही उपमहानगरपालिका हामीले जित्ने निश्चित छ।'
तर उनले भने जस्तो सहज निर्वाचन छैन। कांग्रेसमा घोराहीमा उम्मेद्वारी चयनमा अन्तिमसम्म विवाद रह्यो। जसका कारण एमाले र माओवादी कांग्रेसको अन्तरसंघर्षको फाइदा लिने दाऊमा छन्।
'ठूलो पार्टी हो। पुरानो पार्टी हो। आकांक्षी धेरै हुन सक्छन्। तर अब मनोनयन दर्तासँगै सबै मिलिसक्यो। हाम्रो पार्टीले जित्छ', डाँगी भन्छन्।
डाँगीलाई चुनौती दिने सुरुमा एमाले छ। पहिलो चरणको निर्वाचनमा अधिकाशं सहर उन्मुख नगरमा जीत हात पारेको एमालेले घोराहीमा थारु उम्मेद्वार उठाएको छ। उपमहानगर बन्दैगर्दा गाभिएको रामपुरमा २०५४ मा वडा अध्यक्ष जितेका नरुलाल चौधरी एमालेबाट मेयरका प्रत्यासी छन्।
थारु बाहुल्य क्षेत्रम मेयरमा चौधरीलाई उठाएर एमालेले थारु मत 'क्यास' गर्न खोजेको छ। एमाले विगतको रिजल्ट दोहोर्याउने दाऊमा छ। चौरधी भन्छन् - 'अवश्य पछाडि परेको समुदायले आफ्नो नेतृत्व पाउने अवसर गुमाउने छैन।'
उनी घोराही उपमहानगरपालिका बन्द गर्दा थपिएका रामपुर जीतपुर लगयातका तीन गाविसको मत आफ्नो पक्षमा पर्ने दावी गर्छन्।
'राष्ट्रियताको अजेण्डा, वृद्ध भत्ता र सरकारी कर्मचारीको तलब वृद्धि लगायतका अजेण्डाका कारण पनि एमालेमा आकर्षण बढेको दावी गर्छन्।
'धेरै माओवादी गएकाहरु एमाले प्रवेश गरेका छन्, नयाँको आकर्षण पनि छ अनि यसपटका कांग्रेसको मत हाम्रोमा खस्दै छ', चौधरीले भने।
घोराहीको प्रतिष्पर्धामा रहेको माओवादी पनि चुनाव प्रचारमा जोडतोडले खटेको छ। माओवादी केन्द्रका केन्द्रीय नेताहरु कृष्णबहादुर महरा र रेखा शर्माले दाङमा विशेष ध्यान दिएका छन्।
माओवादी पनि दोस्रो चरणको निर्वाचनमा दाङबाट पहिलो संविधानसभाको आफ्नो साख र जनमत चाहिरहेको छ। उसले जिल्ला इन्चार्ज रहेका जीवन गौतम मैदानमा उतारेको छ।
१९ वडा रहेको घोराही दाङकै सब्भन्दा ठूलो स्थानीय तह हो। यहाँ ७८ हजार ४ सय २७ मतदाता रहेका छन्।
महेन्द्र संस्कृत विश्वविद्यालय रहेको दाङ शिक्षाका हिसाबले अग्रणी जिल्लामा पर्छ। रोल्पा, रुकुम जाने बाटो दाङको घोराही उपत्यकाबाटै अगाडि बढ्छ। अनि सल्यान हुँदै सुर्खेत वीरेन्द्रनगर पुग्ने दाङको घोराही उपत्यकाले त्यस आसपासको क्षेत्रको राजनीतिक प्रभाव समेत देखाउँछ।
मेयरका प्रत्यासीहरुसँगै काँग्रेसबाट उपमहारगको उपप्रमुखमा पुष्पा श्रेष्ठ निर्वाचन प्रचारमा जुटेकी छिन्। त्यस्तै एमालेबाट उपप्रमुखमा सीता न्यौपाने र माओवादीकी सीता चौधरी पनि चुनावले फुर्सत छैन। सबैलाई असार १४ को मेलो भ्याउने हतारो छ।