पश्चिम नेपालको ठूलो सहर नेपालगन्जमा असारको ४२ डिग्री आसपास तापक्रममा नयाँ उष्णता थपिएको छ, चुनावी सरगर्मी।
पहिलो चरणको चुनावदेखि नै ठूला सहरमा तालमेल गर्दै आएका दलहरु नेपालगन्जमा भने ‘हेभी वेट’ उम्मेदवारका साथ एक्लाएक्लै मैदानमा ओर्लिएका छन्। साबिकको नगरपालिकाकाका १७ वडा र १० गाविस मिलाएर बनेको २३ वडाको नेपालगन्ज उपमहानगरपालिकामा ६५ हजार ५ सय ३० मतदाता छन्। तिनै मतदाताबाट आफू अनुमोदित हुन प्रमुख चार दलका उम्मेदवार चुनाव प्रचारप्रसारमा जुटेका छन्।
नेपाली कांग्रेसबाट डाक्टर सुरेशकुमार कनोडिया, नेकपा एमालेबाट समसुद्दिन सिद्दिकी, राप्रपाका महामन्त्री धवलशमशेर राणा र नेकपा माओवादी केन्द्रका दामोदर आचार्य मेयरको दौडमा छन्। यी चारै उम्मेदवारको समानता भनेको उनीहरु यसअघि सभासद बन्न चुनावमा होमिएका थिए।
यीमध्ये तीन जना २०६४ र २०७० को संविधानसभा निर्वाचनमा सभासद बन्न प्रत्यक्षमा चुनाव लडेका थिए। कनोडिया समानुपातिकको सूचीमा थिए। एमाले उम्मेदवार सिद्दिकी पहिलो संविधानसभा चुनावमा मधेसी जनाधिकार फोरमका सर्वदेव ओझासँग पराजित भएका थिए। राप्रपाका राणा र माओवादीका आचार्य २०७० सालको चुनावमा कांग्रेसका सुशील कोइरालासँग पराजित भएका थिए।
चार जनामध्ये राणाबाहेक तीन जना राजनीति सँगसँगै अन्य पेसामा पनि सक्रिय छन्।
कांग्रेसका मेयर उम्मेदवार कनोडिया नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशकसमेत हुन्। सक्रिय राजनीतिमा नदेखिए पनि पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग उनको राम्रो सम्बन्ध थियो। अहिले पनि पैसा र पहुँचकै भरमा उनले मेयरको टिकट पाएको चर्चा कांग्रेसी नेता/कार्यकर्ताबीच छ।
नेपालगन्जको मधेसी समुदायका कनोडियाले मधेसी समुदायको सद्भाव पाउने देखिन्छ। मधेसी समुदाय र सामाजिक सेवामा पनि सक्रिय उनी आफूलाई नेपालगन्जको पूरै मधेसी समुदायले भोट दिने दाबी गर्छन्। नेपालगन्जमा करिब १८ हजार मधेशी समुदायका मतदाता छन्।
'सुशासन, स्वच्छ, सफा हराभरा र डुबानमुक्त सहर निर्माण मेरो प्रमुख एजेन्डा हो,' उनले सेतोपाटीसँग भने।
एमालेका मेयर उम्मेदवार समसुद्दिन सिद्दिकी २०५४ सालमा एमालेबाट उपमेयरमा निर्वाचित भएका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी बाँके ३ बाट पराजित भए। नेपालगन्जको रैथाने मुस्लिम परिवारका सिद्दिकी भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। उनले दक्षिण एसियाली खेलकुदमा सन् १९८३ देखि १९९५ सम्ममा नेपालका लागि ६ वटा रजत र ९ वटा कास्य गरी १५ वटा पदक जितेका थिए।
२०४२ र २०४५ मा उनले नेपालकै सबैभन्दा बलशाली व्यक्ति ‘योङगेष्ट म्यान अफ नेपाल’ को उपाधि जितेका थिए। दुई दशकभन्दा लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय सिद्दिकी नेपालगन्जको मुस्लिम समुदायका प्रभावशाली नेता हुन। नेपालगन्जमा करिब १९ हजार मुस्लिम मतदाता छन्। प्रमुख पार्टीबाट मेयरमा टिकट पाउने एक मात्र मुस्लिम उम्मेदवार भएका कारण आफूले नेपालगन्जको मेयर जित्ने उनको दाबी छ।
‘उपमेयर भएर काम गर्दा अधुरा रहेका योजना पूरा गर्न नेपालगन्जलाई सफा, डुबानमुक्त र पश्चिम नेपालकै नमूना सहर निर्माण गर्ने मेरो एजेन्डा छ,’ सिद्दिकीले भने।
राप्रपाबाट उम्मेदबार बनेका धवलशमशेर राणा ०५४ मा एमाले तर्फबाट मेयरमा निर्वाचित भएका थिए। बहुमतको टिमसहित नेपालगन्ज नगरपालिकामा एक कार्यकाल चलाएका राणा नेपालगन्जमा विकासप्रेमी नेताका रूपमा चिनिन्छिन्। अहिले उनी राप्रपाका केन्द्रीय महामन्त्री हुन्।
राणा २०७० को संविधानसभा निर्वाचनमा उनी बाँके ३ बाट कांग्रेस उम्मेदवार सुशील कोइरालासँग झिनो मतले पराजित भएका थिए। पहिलो चरणको चुनावमा एउटा पनि नगरपालिकामा जित्न नसकेको राप्रपाले राणालाई ठूलो आशाका रूपमा लिएको छ।
राणा पनि २० वर्ष पहिला मेयर हुँदा सुरु गरेर पनि सक्न नपाएका योजना पूरा गर्न आफू मेयरको दौडमा रहेको बताउँछन्। ‘मेयरमा निर्वाचित भएँ भने २० वर्ष पहिले सुरु गरेका योजनाहरूलाई पूरा गर्न, नेपालगन्जलाई भ्रष्टाचारमुक्त, सफा, हराभरा र औद्योगिक सहर बनाउँछु,’ राणाले भने।
माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन। आचार्य पनि २०७० को संविधानसभामा बाँके ३ बाट कोइरालासँग पराजित भएका थिए। लामो समय सक्रिय राजनीति नगरे पनि नेपालगन्जका उद्योगी व्यवसायीसँग उनको राम्रो प्रभाव छ।
जातीय र धार्मिक सन्तुलन
जनप्रतिनिधि छान्दा नेपालगन्ज जहिले पनि नयाँ नयाँ नेता प्रयोग गर्न रुचाउँछ।
२०४८ सालयता भएका संसद तथा स्थानीय निर्वाचनमा लगातार दुईपटक कुनै नेताले निर्वाचन जितेका छैनन्। त्यसका धेरै कारण छन्। तीमध्ये एउटा कारणको यहाँको जातीय र धार्मिक सन्तुलन हो। नेपालगञ्जमा पहाडी, मधेसी, मुस्लिम समुदाय बराबरीको हाराहारीमा छन्। बाँके थारु बहुल जिल्ला भए पनि उपमहानगरमा थारु बस्ती एकदमै कम छ। त्यो सन्तुलनलाई यसपालिको चुनावमा पनि प्रमुख दलले मेयर र उपमेयरको उम्मेदवारीमा हेक्का राखेका छन्।
नेपालगन्जमा सबै दलले मेयरमा पुरुषलाई र उपमेयरमा महिलालाई उम्मेदवार बनाएका छन्। कांग्रेसले पत्रकार उमा थापा मगरलाई उपमेयरमा उठाएको छ भने एमालेले शान्ति ढकाललाई खडा गरेको छ। राप्रपाले रमारानी वैश्यलाई उपमेयरकी उम्मेदवार बनाएको छ भने माओवादीले कलामुन अन्सारीलाई।
यसरी हेर्दा प्रमुख पार्टीहरुले मेयर र उपमेयरमा जातीय र धार्मिक सन्तुलन मिलाउन खोजेका छन्। मधेसी समुदायबाट मेयर उठाएको काग्रेसले उपमेयरमा आदिवासी जनजातिलाई उम्मेदवार बनाएको छ।
मुस्लिम समुदायबाट मेयर उठाएको एमालेले पहाडी हिन्दु समुदायबाट उपमेयर उठाएको छ। पहाडी समुदायबाट मेयर उठाएको माओवादीले मुस्लिम महिलालाई उपमेयर दिएको छ। त्यसैगरी पहाडी समुदायबाट मेयर उठाएको राप्रपाले मधेसी समुदायबाट उपमेयर उठाएको छ।