- २३ वैशाख २०७३, प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले संसदमा मेधेसी मोर्चाका मागबारे भने-'कुनै समय २२ बुँदे र ८ बुँदे सहमति भएको थियो रे। म हेर्छु त्यो कहाँ छ। तर पानी तैंले धमिल्याएको होइन, तेरो बाउले धमिल्याएको थियो भनेर निहुँ नखोज्न म आग्रह गर्छु।
- १२ मङ्सिर २०७३, संविधान संशोधनमा कडा अडान राख्दै आएका ओलीले अडानबाट पछाडि नहट्ने बताए। संशोधन प्रस्तावलाई राष्ट्रघाती र असंवैधानिक भन्दै आएका अोलीले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी गरेपछि विरोध भैरहेको सन्दर्भमा भारतलाई समेत व्यङ्ग गर्ने गर्दै भने - मेरो बोली अप्ठेरो पर्दा बदर हुने भारु जस्तो हैन।'
- १७ पुस २०७३ मा संसदमा संिवधान संशोधन विधेयक दता भएपछि अोलीले अपिल जारी गरे। उनको अपिलमा भनिएको थियो- संशोधन प्रस्तावमा मिलेर बसेको नेपाली समाजमा विभिन्न नाममा विद्वेष ल्याउने र किस्ता–किस्तामा तराई र पहाड–हिमाललाई विभाजित गरेर तथाकथित ‘दुई राष्ट्रियता’ को मान्यता स्थापित गर्ने दुरासय लुकेको छ।
- २२ पुस २०७३, संविधान संशोधनको विरोधमा एमालेले आयोजना गरेको विरोध सभामा अोलीले भने - जुवाडेले कौडा खेलाउँछ, पछार्छ। तर कौडा जित्ने हार्ने होइन, सम्पत्तिको हारजित हुन्छ। जुवाडेले तासको पत्ती फ्याल्छ, पछार्छ। तर तासका पत्ती हारजित हुने होइन। जित्नेले तासका पत्ती जितेर घर लैजाने होइन। सम्पत्तिको हारजित हुन्छ। संविधान संशोधनको नाममा प्रस्ताव अगाडि आएको छ। संविधान संशोधनको नाममा यो तासको पत्ती पछारे जस्तै हो।
- १० वैशाख २०७४, संविधान संशोधनको औचित्य नभएको बताइरहेका ओलीले एमाले संसदीय दलको बैठकमा भने - जालोमा माकुरो र झिङ्गामात्र अड्कन्छ। गाई भैँसी अड्कदैँन, त्यसकारण एमालेलाई जालोमा फसाउने कोशिश नगर्नुस्। एमाले झिङ्गा होइन कि जालोमा फसोस्। अहिले संशोधनको आवश्यकता नै छैन, औचित्य नै छैन।
अाफ्ना प्रतिद्वन्द्वी र विशेषगरी मधेशी पार्टीप्रति लामो समयसम्म जारी एमालेको रुखो बोलीवचन र 'घोचपेच' पछिल्लो समय कम हुन थालेको छ। राष्ट्रियता र संविधान संशोधनका विषयलाई लिएर कांग्रेस, माअोवादी केन्द्र र मधेसवादी दलका विरुद्ध कटाक्षमा पनि एमालेले पछिल्ला दिनमा धेरै कटौती गरेको छ। केही समयअघिसम्म लगभग प्रत्येक नेताका बोलीमा दिनहुँ सुनिने 'राष्ट्रघाती’ र ‘लम्पसारवादी’ जस्ता शब्द पनि पातला हुँदै हराउन थालेका छन्।
लोकतन्त्रमा पार्टीहरूबीच सहमति/असहमतिको श्रृखंला चलिरहन्छ। एउटा पार्टीको एजेण्डामा अर्को सहमत हुनैपर्छ भन्ने छैन। समाजमा विचार, मुल्य र मान्यताको असहमति हुन्छ भनेर नै लोकतन्त्रमा धेरै पार्टी चाहिने हो।
तर दलहरूले अाफूबीचका असहमतिलाई कसरी प्रकट गर्छन् भन्नेले लोकतन्त्रको गुणस्तर निर्धारण गर्छ। एउटा समय थियो, चर्को बोली र गालीगलौजमा अहिलेको माअोवादी केन्द्र अग्रपङ्तिमा थियो। कांग्रेस र एमाले त्यसका तारो हुने गर्थे। लगभग पछिल्लो एक वर्षदेखि माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बोलीमा पुरापर संयम देखिन्छ।
पछिल्लो पटक एमालेको बोलीमा अाएको यो स्वागतयोग्य बदलावको कारण के होला?
समय, सन्दर्भ र विषयहरू विस्तारै बदलिँदै गएका छन्, त्यसको पनि प्रभाव एमाले नेताहरूमा परेको देखिन्छ। तर सबैभन्दा ठूलो कारण एमाले नेताहरूले नै 'हाम्रो बोली अलि चर्को भयो कि’ भन्ने महशुस गरेको देखिन्छ।
यस्तो महशुस हुनुका पछि एमाले नेताहरूको शैलीको सार्वजनिक रूपमा भएको अालोचना र अाफ्नै कार्यकर्ताहरूको सुझावले प्रमुख भुमिका खेलेको छ।
धनुषा-७ बाट निर्वाचित एमाले सांसद शत्रुधन महतो आफ्ना नेताहरूले दलीय अडान कायम राखेपनि पछिल्लो समय 'टोन चेञ्ज’ गरेको बताउँछन्।
मधेसको सन्दर्भमा बोलीमा संयम अपनाउन अाफूहरूले पनि नेतृत्वलाई सुझाव दिएको उनले बताए।
‘हामीले नेताहरूलाई भन्यौं, हामीलाई मधेस विरोधी भन्ने आरोप छ, बोल्दा संयम अपनाएर बोल्नुस्,’ उनले भने 'अाफ्नो एजेण्डामा त बोल्नै पर्यो तर भावनासँग जोडिएको विषयमा हाम्रो विरोधमा खेल्न खोजियो। त्यसैले संयमित भएर बोल्दा राम्रो हुन्छ भनेकै हौं।'
नेताहरूको बोलीले जिल्लामा काम गर्ने अाफूहरूलाई फरक पर्ने एमालेको सिराहाकी सांसद आशा यादवले बताइन्। उनी भन्छिन्, 'मधेशवादी गलत, एमाले ठीक भनेर आक्रामक हिसाबले गएर मात्र हुन्न, कन्भिन्स गर्ने हिसाबले जानुपर्छ।’
दोस्रो चरणको स्थानीय चुनावका कारण पनि एमाले बोलीमा बढी सचेत भएको देखिन्छ। सांसद महतोले भने,‘अहिले परिस्थिति बदलिएको छ। पहाडमा चुनाव भैसक्यो। मधेशका जिल्लामा चुनाव हुन बाँकी छ। स्वभाविक रूपमा नेताहरू अलिक संयमित भएका छन्।'
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पहाडी जिल्लाहरूबाट पहिलो भएपछि अहिले एमालेको ध्यान तराई/मधेसका जिल्लामा केन्द्रीत छ। यसले पनि उसको बोलीको भाकामा स्वभाविक परिवर्तन ल्याएको छ।
समयका हिसाबले राजविराज घटनाको केही दिनपछि नै एमालेको बोली नरम हुँदै गएको देखिन्छ।
२०७३ फागुन २१ गते एमालेले सुरू गरेको मेची-महाकाली अभियानका क्रममा फागुन २३ गते एमाको सभालाई लक्षित मधेसी दलका कार्यकर्ताले आक्रमण गरे। प्रहरीले गोली चलाउँदा सो घटनामा ४ जनाको मृत्यु भयो।
सो घटनापछि २७ फागुनमा एमाले सांसद तथा प्रदेश नं २ का इन्चार्ज सत्यनारायण मण्डलको घरमा आक्रमण भयो। आफ्ना कार्यकर्ता र नेतामाथि भौतिक रूपमै आक्रमण भएपछि एमाले थप सचेत भयो।
यी सारा घटनाक्रमसँगै संविधान संशोधनको विषयमा एमाले सुरूमा जुन रूपमा विरोधमा थियो, त्यो विरोध केही मत्थर भएको देखिन्छ।
'राष्ट्रघाती र असंवैधािनक’ संशोधन प्रवेश नै गर्न नदिने अडानबाट विस्तारै एमाले संशोधनका लागि छलफल गर्न तयार देखिन्छ।
३० जेठमा प्रमुख दलहरूको बैठकपछि सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारले सोधे- राजपाको माग पुरा गर्न तपाईँहरू तयार हो?
राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)ले संविधान संशोधन र स्थानीय तहको संख्या थप हुनुपर्ने अन्यथा निर्वाचनमा भाग नलिने बताइरहँदा दलहरू छलफलमा जुटेका थिए।
बैठकबाट बाहिरिएका ओलीले जवाफ फर्काए – 'हामी संविधान संशोधन हुनै सक्दैन भन्दैनौँ। कुराकानी गरौँ, छलफल गरौँ, हुनसक्छ। के विषयमा गर्ने, के गर्ने त्यसमा हामी खुल्ला छौँ।'
एमाले नेताहरूको बोलीमा मात्र होइन पछिल्लो समय निर्वाचनका लागि सामाग्री तयार गर्दा समेत मधेसको ‘सेन्टिमेन्ट'को ख्याल राखेको देखिन्छ।
पहाडमा 'मैँ पनि एमाले सही पनि एमाले' गीत बजाएको एमालेले भोजपुरीमा 'तोहनी वा एमाले हमनी वा एमाले', गीत बनाएको छ। अनि पार्टीका प्रचार सामाग्री समेत भोजपुरी र मैथिलीमा छापेको छ।
पछिल्लो पटक एमालेको बोलीमा देखिएको संयमलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। एमाले नेताहरू भने समय र सन्दर्भ अनुसार बोली र शैली फेरिएको तर्क गर्छन्।
एमाले सचिव प्रदिप ज्ञवाली पार्टीको बोल्ने 'शैली सन्दर्भ अनुसार फरक पर्ने' स्वीकार्छन्।
उनले नाकाबन्दीका बेला मधेस केन्द्रीत दलहरूले गरेको व्यवहारको आलोचना एमालेले गरेको तर एमाालेलाई मधेसी समुदाय विरोधीको रूपमा चित्रित गरिएको गुनासो गरे।
एमालेले पछिल्लो समय मधेस केन्द्रीत दलहरूसँग औपचारिक/अनौपचारिक छलफल बढाएकाले पनि उनीहरूसँगको उसको सम्बन्ध सहज बन्दै गएको ज्ञवाली बताउँछन्। 'मधेस केन्द्रीत दलहरूलाई पनि एमालेसँगको सम्बन्धका बारे 'रियलाइजेशन' भएको छ,’ उनले भने।
प्रधानमन्त्री रहँदा केपी ओलीले वार्तामा बोलाउँदा समेत नजाने मधेस केन्द्रीत दलहरूसँग एमालेका नेताहरूले विस्तारै सम्पर्क बढाउँदैछन्। ज्ञवाली भन्छन् – 'संविधानको पहिलो संशोधन एमालेले गरेको हो। कांग्रेसले एउटा कार्ड फालेको थियो तर नेतृत्व एमालेले गरेको हो। हामी संशोधन विरोधी होइन। साँच्ची नै संशोधन गर्ने विषय रहेनछन् भने बाधक हुदैनौँ। हाम्रा केही सरोकार राष्ट्रियताका विषयहरू हुन्।'
तर कतिपय एमाले नेताहरू एमालेले कटुता बढाउने गरी बोलेको नै स्वीकार गर्न तयार छैनन्।
एमाले महासचिव ईश्वर पोखरेल प्रश्न गर्छन् - 'मधेसका मुद्दामा हामीले अपमानक ढंगले के बोलेका छौँ र? हामीले त संशोधनको मुद्दा औचित्यपूर्ण छैन भन्दै आएका छौँ।'