पहिलो संविधानसभादेखि नै सुदूर पश्चिमको तराईमा परस्पर विरोधी दुई आन्दोलन उठेका थिए— कैलाली कञ्चनपुर सहितको अखण्ड सुदर पश्चिम बनाउनु पर्ने र कैलाली कञ्चनपुर सहित मधेसका अरु जिल्लालाई समटेर थरुहट प्रदेश बनाउनु पर्ने।
पहिलो र दोस्रो संविधान सभा भरि पनि यो एउटा मुख्य विवादको विषय रह्यो। त्यो बिवाद बढ्दै गएर २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा हिंसा भड्कियो।
आन्दोलन हिंस्रक बन्दा थरुहट समर्थकको हातबाट नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गयो।
त्यसपछि भड्किएको प्रतिहिंसा र तोडफोडमा धेरै टिकापुरको थारु समुदायमाथि छानिछानी आक्रमण भयो। आगजनी र तोडफोडमा निजी सम्पती माथि क्षति भयो।
थरुहट आन्दोलनमा लागेका टिकापुरका संचारकर्मी तथा होटल व्यवसायी रेशम चौधरीले सबैभन्दा धेरै क्षति बेहोरे।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार चौधरीको क्षति भएको सम्पतीको मुल्याङ्कन मात्र २ करोड ९० लाख छ।
टिकापुरमा ७ गते भड्किएको हिंसामा चौधरीको फुलबारी एफएममा अखण्ड सुदुर पश्चिम पक्षधरबाट आक्रमण भयो। फूलबारी एफएमको बोर्ड फ्याँकियो, स्टुडियो जलाइयो। केवल एफएमको टावर बाँकी रह्यो। एफ एम परिसरमा रहेको कलाकार गोपाल भुटानीको सालिक समेत तोडफोड भयो।
एफएम पछि चौधरीले सञ्चालन गरेको फूलबारी रिसोर्टमा पनि आक्रमण भयो। कर्फ्यु लागेको समयमा ८ गते अखण्ड सुदुर पश्चिमका आन्दोलनकारीले चौधरीको फुलबारी रिसोर्टमा तोडफोड भयो। पार्किङ्मा रहेको कारको प्रारुप मात्र बाँकी रह्यो, अरु सब खरानी भयो।
आन्दोलनमा भएको क्षतिबापत रेशम चौधरीको तर्फबाट उनका बुवा लालबीर चौधरीले शुक्रबार घटना भएको झण्डै २ वर्षपछि १ करोड ७४ लाख क्षतिपूर्ती बुझे।
टिकापुर घटनामा मुछिएका रेशम चौधरी अझै ‘फरार' छन्। भारतका विभिन्न स्थानमा बस्दै आएका चौधरीले २०७३ असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणमा रहेका बेला भेटेर आफूलाई नेपालमा आउने वातावरण मिलाइदिन आग्रह गरे। उनी अझै टिकापुर फर्किएका छैनन्।
पूर्व प्रधानमन्त्री दाहालले त्यतिबेला उक्त भेट पहिले नै तय नभएको र चौधरीले आफूलाई अकस्मात आएर भेटेको बताएका थिए।
टिकापुर घटनाका मुख्य दोषी मध्येका फरार अभियुक्तलाई १ करोड ७४ लाख दिएर पुरस्कृत गरिएको भन्दै भन्दै सरकारको आलोचना भएको छ।
सेतोपाटीसँग कुरा गर्दै मुख्य सचिव सोमलाल सुवेदीले आक्रमणमा परेरे क्षति भएको उनको सम्पतिको क्षतिपुर्ति दिइको बताए।
टिकापुर घटनामा चौधरीको भुमिकाको अझै निरर्क्योल भएको छैन। त्यसैले सरकारले नष्ट भएको उनको सम्पतिको क्षतिपुर्ती दिने निर्णय गरेपनि मुद्दा भने फिर्ता निलिएको मुख्य सचिव सुवेदीले पुष्टी गरे।
'उनको मुद्दा फिर्ता भएको होइन। उनको क्षति भएको सम्पत्तीको क्षतिपूर्ती दिइएको हो,’ उनले भने।
चौधरीको क्षति भएको सम्पतिको कसरी मुल्यांकल भयो?
कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाल रेशम चौधरीको परिवारलाई हचुवाका भरमा क्षतिपूर्तीँ मुल्याङ्कन गरेर नदिइएको बताउँछन्।
'घटना लगत्तैको प्रहरी मुचुल्का, टिकापुर नगरपालिकाका कार्यकारी अधिकृत सहितको टोलीले गरेको क्षतिको स्थलगत रिपोर्ट तथा प्रमुख जिल्ला अधिकारी नेतृत्वको क्षति मुल्याङ्कन समितिको सिफारिसका आधारमा दिइएको हो', रिजालले भने, 'म कैलाली आएको १ वर्ष भयो। त्यो भन्दा अगाडि नै गृहमा रिपोर्ट पठाइएको थियो।'
रिजालले टिकापुर घटनामा सम्पती क्षति भएकाहरुलाई जम्मा १० करोड ७३ लाख क्षतिपूर्ती उपलब्ध गराउने काम भैरहेको छ। 'थारु बाहुल्य क्षेत्रमा धेरै क्षति भएकाले धेरै क्षतिपूर्ती पाएका छन् र पहाडी समुदायकाहरुले पनि पाएका छन्', रिजालले भने, 'सम्पतिको मुल्याङ्कन समेत १८ महिना अगाडि गरिएको हो। त्यहि आधारमा क्षतिपूर्ती दिइएको हो।
हाल काठमाडौँका प्रजिअ र यसअघि गृह मन्त्रालयमा प्रवक्ता रहेका सहसचिव बालकृष्ण पन्थीका अनुसार टिकापुर घटनामा भएको क्षतिपूर्तीका लागि तीन किसिमको मापदण्ड तय भएको थियो।
'ठ्याक्कै प्रतिशतबारे त रिपोर्ट हेर्नुपर्छ, तर एक करोडसम्मको सम्पति नष्ट हुनेलाई ८० प्रतिशत सम्मको क्षतिपुर्ती दिने, १ करोड देखि २ करोड क्षति हुनेलाई ७० प्रतिशत र २ करोड माथि क्षति हुनेलाई ६० प्रतिशत क्षतिपूर्ती दिने तय गरिएको थियो,' पन्थीले भने, 'यो मन्त्रिपरिषद्ले गरेको निर्णय हो।'
रेशम चौधरीले मात्र होइन टिकापुर घटनामा सम्पती क्षति भएका अधिकाशंलाई क्षतिपूर्ती दिने निर्णय सरकारले गरेको छ र उनीहरुले सम्पति बुझ्ने क्रम जारी छ।