निर्वाचन आयोगले असार १४ का लागि तोकिएको दोस्रो चरणको निर्वाचन सार्न नमिल्ने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निम्तो पाएपछि आज बिहानै सिंहदरबा पुगेको आयोगको टोलीले चुनाव सार्न नसकिने प्रष्ट पारेको हो।
आयोगले आफ्नो तयारी अगाडि बढाइसकेको हुनाले अब चुनाव सार्न नसकिने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको आयुक्त इला शर्माले सेतोपाटीलाई बताइन्। उनले भनिन्, 'बैठकमा निर्वाचनको मितिको विषयमा छलफल भयो। अब चुनाव सार्न सकिन्न भनेर हामीले भनेका छौं।'
माघ ७ भित्र प्रदेश र संघीय संसदको समेत निर्वाचन गर्नु पर्ने भएकाले स्थानीय चुनाव अब धेरै लम्ब्याउन नसकिने प्रमुख आयुक्त अयोधिप्रसाद यादवले प्रधानमन्त्री देउवालाई बताएका थिए। 'माघ ७ भित्र तीनवटा चुनाव गर्नु छ,' आयुक्त शर्माले भनिन्, 'अब चुनाव सार्ने हो भने यो समयसीमामा संवैधानिक जिम्मेवारी पुरा गर्न कठीन हुन्छ भनेर प्रमुख आयुक्तले भन्नुभयो।'
सरकारले राष्ट्रिय जनता पार्टीलाई मनाउन केही दिन दुई र पाँच नम्बर प्रदेशमा चुनाव सार्ने प्रयास गरिरहेको छ।