लामो रस्साकस्सीपछि झापाको बिर्तामोड र मेचीनगर नगरपालिकामा नेकपा एमालेले मेयर पदको उम्मेदवार टुंगो लगाएको छ। पार्टी उच्च स्रोतका अनुसार मेचीनगरको मेयरमा प्रभावशाली नेता विष्णु प्रसार्इं र बिर्तामोडको मेयरमा ध्रुव शिवाकोटीलाई नगर प्रमुखको उम्मेद्वार बनाउने निधो भएको हो।
आकांक्षीहरुबीचको तानातान मिलाउन नसकेर जिल्ला हुँदै प्रदेश कमिटिमा अल्झिरहेको यी दुई नगरको उम्मेद्वार विवाद अन्ततः केन्द्रीय समितिको संलग्नतामा टुङ्गिएको छ।
१५ स्थानीय तह रहेको झापामा यसअघि १३ वटा तहमा एमालेले उम्मेद्धारको टुंगो लगाएको थियो। उपप्रमुखको सम्बन्धमा पनि बिहीवार (आज) मात्र अन्तिम छिनोफानो हुने भएको पार्टीका एक नेताले बताए।
मेचीनगरमा मेयरको टिकट पाएका नेता विष्णु प्रसार्इं पुराना, त्यागी, जुझारू र जनपक्षीय नेता मानिन्छन्। उनी पञ्चायतकालमै जनपक्षीय उम्मेद्वार बनेर तत्कालीन धाइजन गाउँ पञ्चायतको वडाध्यक्ष र प्रधानपञ्च भइसकेका थिए।
बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएपछि झापा जिल्ला विकास समितिको उपसभापति पद जितेका उनी पार्टी विभाजनपछि उपसभापति पद त्यागेर क्षेत्र नम्बर १ बाट सांसद पदमा चुनाव लडेका थिए। सांसद चुनावमा भने उनी पराजित भए। पार्टीभित्र पदमा नरहँदा समेत प्रभावशाली हैसियतमा रहँदै आएका कडा र प्रस्ट स्वभावका उनी केपी ओली लाइनका हुन्।
मेयरको टिकटका लागि उनलाई माधव नेपाल लाइनका गोपाल बुढाथोकीले कडा टक्कर दिएका थिए।
बिर्तामोडमा मेयर पदका टिकट पाएका शिवाकोटी अनारमनी गाविसका पूर्वअध्यक्ष हुन्। उनले पछिल्लो समय अग्र्यानिक माछा पालन सुरु गरेर नगरलाई नै विषादिमुक्त बनाउने अभियान चलाउँदै आएका छन्। उनलाई ओलीनिकट एकराज कार्की र हरिचरण शिवाकाटीले टक्कर दिएका थिए। प्रसाईं झापा आन्दोलनमा प्रत्यक्ष सहभागी नभएका, पार्टीका नेताहरुको प्रमुख सेल्टरदाता र सहयोगी थिए।