नेप्से सोमबार १६ सय २ अंकमा उक्लिएको छ। अघिल्लो दिनको तुलनामा ८ दशमलव ८ अंकले नेप्से उक्लिएको हो। कारोबार खुलेपछि बढ्दै गएको नेप्से मध्यान्ह १ बजे १६ सय १० अंकसम्म पुग्यो।
त्यसपछि आएको सुधार कारोबार बन्द हुँदासम्म मन्द गतिमा रह्यो। १ सय ४९ कम्पनीको ६२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन फाइनान्स समूह ०. ९ अंकमा रातो रह्यो भने अरु सबै समूह उक्लिएका छन्।
बैंकिङ १०, होटल ६, विकास बैंक १०, जलविद्युत ७, बिमा १५, उत्पादन २१ र अन्य समूह ४ अंकले बढे। कारोबारका आधारमा सबैभन्दा अगाडि स्टाण्डर्ड चार्टड बैंक रह्यो। कम्पनीको ६ करोडको सेयर खरिदबिक्री हुँदा मूल्य प्रतिकित्ता २ हजार १ सय ९५ कायम भएको छ।
चुक्ता पुँजी पुर्याउन शत प्रतिशत बोनस दिने भएकाले खरिदकर्ता बढेका छन् भने एफपिओ जारी भएर किनबेच सुरु भइसकेकाले बेच्नेको संख्या पनि कम छैन। जसले गर्दा केही दिनयता सो कम्पनीको सबैभन्दा बढी रकमको कारोबार हुँदै आएको छ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापकतर्फको ४ करोड ८० लाखको सेयर कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक, प्रिमियर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।
आरएसडिसी लघुवित्तको मूल्य ९ दशलमव ९ अंकले बढेको छ। नाफा कमाउने अन्य कम्पनीका लगानीकर्ताले ६ प्रतिशतमुनि नै चित्त बुझाए। सिनर्जी, गुडविल र युनाइटेड फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ।