सुरक्षाको दृष्टिकोणले निकै उपयोगी मानिएको इम्वोस्ड नम्बर प्लेट नेपालमा लागू हुन सकेको छैन। यद्यपी नेपालमा पनि कार्यान्वयन गर्ने उद्देश्यले इम्वोस्ड नम्बर प्लेटको मूल्य निर्धारण गर्न गठित कमिटीले मूल्य सिफारीस गरेर पठाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराइले जानकारी दिए।
सो प्लेट राख्दा सेवाग्राहीले सवारी साधन अनुसार २५ सय रुपैयाँदेखि ३६ सयसम्म तिर्नुपर्ने उनले बताए। मूल्य सिफारिसअनुसार मोटरसाइकल र स्कुटरका लागि २५ सय तथा ठूला सवारीसाधनका लागि ३६ सयसम्म पर्नेे उनको भनाइ छ।
विभिन्न कानुनी अड्चनका कारण नम्वर प्लेट लागू गर्न ढिलो भएको यातायात व्यवस्था विभागले जनाएको छ। लागू गर्न यातायात व्यवस्था विभाग पुर्ण रुपमा तयार भए पनि केही कानुनी अड्चनको कारण अनुसुचिहरु परिर्वतन गर्नुपर्ने भएकोले ढिलाई भएको महानिर्देशक भट्टराइले जानकारी दिए। कानुन र अर्थ मन्त्रालयबाट निर्णय भएपछि मात्र इम्वोस्ड नम्बर प्लेट लागू हुने भट्टराइले बताए।
इम्वोस्ड नम्बर प्लेट लागू भएपछि अनलाइन फारम भरेर नम्बर प्लेट लिन सकिन्छ। विभागले फारम भरेकाहरुको सम्पुर्ण विवरण लिएर प्रकृया पुर्याई नम्बर प्लेट बितरण गर्ने जनाएको छ। कानुन र अर्थ मन्त्रालयले सहमत जनाई क्याबिनेटबाट पास भएको १ हप्तामै विभागले नम्बर प्लेट सुरु गर्ने विभागका महानिर्देशक भट्टराइले बताए।