बझाङको साईपालमा तीन दिने ‘होमस्टे व्यवस्थापन तालिम’ सम्पन्न भएको छ।
ग्रामीण पर्यटनलाई व्यावसायिक र दिगो बनाउन आयोजित तालिमले स्थानीयमा नयाँ ऊर्जा सञ्चार गरेको छ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को दिगो पर्यटन परियोजना (एसटीपी), साईपाल गाउँपालिका र साहरा नेपाल बझाङको सहकार्यमा कात्तिक २७ गतेदेखि तालिम सुरु गरिएको हो।
तालिममा वडा–१ देखि ४ सम्मका २१ जना (११ महिला, १० पुरुष) सहभागी भए।
सहभागीलाई पाहुना स्वागत, स्थानीय खाद्य परिकारको प्रस्तुतिकरण, मूल्य निर्धारण, पर्यटक–मैत्री सेवा, दर्ता मापदण्ड, सुशासन, होमस्टेको दिगोपना र बजार व्यवस्थापनका विषयमा प्रशिक्षण दिइयो।
गाउँपालिका अध्यक्ष मानवीर बोहराले साईपाललाई भविष्यको प्रमुख ग्रामीण गन्तव्य बनाउन दिगो होमस्टे मोडेल महत्वपूर्ण हुने बताए।
महिला सहभागिता उल्लेख्य देखिएको तालिमले गाउँमा दिगो र आत्मनिर्भर पर्यटन विकास हुने विश्वास व्यक्त गरिएको छ।
नेपालमा हाल करिब ७ हजार दर्ता र ५ हजार दर्ता नभएका होमस्टे सञ्चालनमा छन्, जसले वार्षिक २५०–३०० पाहुना स्वागत गर्छन्।
साईपालमा सम्पन्न यो तालिमले स्थानीय पहिचान र आतिथ्यलाई पर्यटनसँग जोड्दै ग्रामीण पर्यटनको सम्भावना अझ उजागर गरेको छ।