नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन–२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ।
यस साझेदारीमार्फत एनपिएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
सम्झौता अनुसार बोर्डले एनपिएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्नेछ।
बोर्डका अधिकारीका अनुसार क्रिकेटलाई नेपालमा अन्तर्राष्ट्रियस्तरका इभेन्ट आयोजना गर्न सक्ने प्रमुख खेलका रूपमा लिइएको छ।
एनपिएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा गरिएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक राज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि (विशेषगरी एनपिएल–२) ले खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताएका छन्।
‘एनपिएल–२ नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठूलो अवसर हो, जोशीले भने, ‘यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाईअन्तर्राष्ट्रिय दर्शक समक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने हाम्रो विश्वास छ।’
उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूको आकर्षक गन्तव्य बन्दै गएको पनि उल्लेख गरे।
त्यसैगरी क्यानका महासचिव पारसले यस सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, ‘खेलकुद र पर्यटन दुबैलाईसँगै अघि बढाउन नेपाल पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं।’
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुदमार्फत् पर्यटनका अवसर विस्तार गर्न, विविधता थप्न र आकर्षक स्पोर्ट्स टुरिजम डेस्टिनेशन’ का रूपमा स्थापित गर्न मद्दत गर्नेछ।