विराटनगर विमानस्थलमा आन्तरिक उडान हुने सबैभन्दा ठूलो टर्मिनलमा निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगरमा देशकै ठूलो टर्मिनल भवन बनाउनेछ।
विमानस्थलमा यात्रु चाप बढ्दै गए पनि साँघुरो टर्मिनलका कारण सेवा राम्रो नभएको भन्दै प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्ने भएको हो।
पछिल्लो समय उडान संख्या बढ्दै गएका तराईका विमानस्थलमा आधुनिक र सुविधासम्पन्न टर्मिनल निर्माण गर्ने योजनाअनुसार विराटनगरमा टर्मिनल बनाउन लागिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
विराटनगर विमानस्थलमा टर्मिनल भवनका लागि डिजाइनको काम सकिएको र खरिद प्रक्रिया अघि बढाउन थालिएको प्राधिकरण अन्तर्गतको विमानस्थल पूर्वाधार निर्माण हेर्ने एरोडोम निर्देशनालयका इञ्जिनियर नलबिक्रम थापाले जानकारी दिए।
थापाका अनुसार विराटनगर विमानस्थलमा अहिलेको टर्मिनल क्षेत्रफल ८२५ वर्गमिटर छ। अब नयाँ बन्ने टर्मिनल ८ हजार ९ सय ७७ वर्गमिटरको हुनेछ। यो अहिले नेपालका डोमेस्टिक (आन्तरिक उडान) टर्मिनलमा सबभन्दा ठूलो हुने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। काठमाडौं विमानस्थलको डोमेस्टिक टर्मिनलको क्षेत्रफल ६ हजार वर्गमिटर छ। यसलाई विस्तार गरेर ८ हजार वर्गमिटर बनाउने पनि काम भइरहेको प्रवक्ता क्षेेत्रीले बताए।
विराटनगरमा टर्मिनल बनाउन ३ अर्ब १५ करोड रूपैयाँ लगानी आवश्यक हुने प्राधिकरणको अनुमान छ। ठेक्का प्रतिस्पर्धामा जाँदा अनुमानभन्दा लागत कम पनि हुन सक्नेछ।
'अहिलेको टर्मिनलको अवस्था विजोग छ। यस्तोमा हामीले आधुनिक सेवा सुविधा भएको टर्मिनल बनाउन खोजेका हौं,' थापाले भने, 'नयाँ टर्मिलनमा सपिङदेखि प्लेइङ स्पेससम्मका सुविधा हुने छन्।'
प्रतिघन्टा नौ सय यात्रुलाई सेवा दिनसक्ने नयाँ टर्मिनलले आगामी ३० वर्षसम्मको ट्राफिक थेग्ने प्राधिकरणको प्रक्षेपण छ।
'पछिल्लो समय आन्तरिक उडानको संख्या बढिरहेको छ, त्यसमा पनि विराटनगरमा धेरै नै बढेको छ। त्यो हिसाबले हेर्दा आगामी तीन दशकसम्म पनि यो साँघुरो हुने छैन,' थापाले भने।
गएको दुई दशकको ट्राफिक वृद्धिदर ८ प्रतिशत रहेको र पछिल्लो पाँच वर्षमा यस्तो वृद्धिदर अझै उच्च भएकाले नयाँ टर्मिनल बनाउनुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको उनको भनाइ छ। यो टर्मिनल भवन निर्माण भएपछि आवश्यकता परे अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन गर्न सकिने थापाले जानकारी दिए।
विमानस्थलका लागि १२६ विघा जमिन अधिग्रहण गरिँदैः
टर्मिनलसँगै विमानस्थलमा धावनमार्ग विस्तार तथा ट्याक्सी-वे निर्माण गर्न भन्दै प्राधिकरणले १२६ विघा निजी जमिन अधिग्रहण गर्ने भएको छ।
अधिग्रहण गरिने क्षेत्रमा जग्गा रहेका जग्गा धनीलाई मुआब्जा दाबी गर्न आज सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले सार्वजनिक सूचना जारी गरेका छन्। यो जग्गा अधिग्रहणका लागि कम्तीमा दस अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ।
मुआब्जा दाबी आएपछि यसको वास्तविक आँकडा आउने विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।
टर्मिनलसँगै भविष्यमा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने अवस्था आएमा धावनमार्ग विस्तार गर्न अहिलेको जग्गा पर्याप्त नहुने र भविष्यमा जग्गा महँगो हुने भएकाले अहिले नै अधिग्रहण गर्न खोजिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।
बि.स. २०१५ सालमा बनेको यो विमानस्थलको हाल १२० बिघामा फैलिएको छ। १५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा हाल एटिआर–७२, बम्मार्डियरको क्यू ४०० सिरिजका जहाज अवतरण हुन्छन्।
अहिलेकै धावनमार्गको स्ट्रिप्स (धावनमार्गको केन्द्रदेखि आवश्यक खाली ठाउँ) को मापदण्ड पूरा गर्न पनि जग्गा आवश्यक भएको इञ्जिनियर थापाले जानकारी दिए।
'धावनमार्गदेखि स्ट्रिपको दुरी १६५ मिटर चाहिन्छ। तर अहिले जम्मा १४० मिटर छ। यो मापदण्ड पूरा गर्न विमानस्थलको एक भागमा मात्र पर्याप्त छ, अर्कोतिर छैन। त्यस्तै आवश्यक पेरिफेरि रोडका लागि पनि जमिन आवश्यक छ,' थापाले भने।
त्यस्तै समानान्तर ट्याक्सी र धावनमार्गबीचको दुरी पनि अहिले साँघुरो भएकाले फराकिलो पार्नुपर्ने जस्ता कामका लागि जमिन आवश्यक भएको थापाले बताए।