लक्ष्यअनुसारको राजश्व संकलन नहुने भएपछि सरकारी ढुकुटी अझै दबाबमा जाने भएको छ। चालु वर्षको १० महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन भएपछि यसअघि नै कार्यान्वयनमा गइसकेका कार्यक्रम संचालन गर्न सरकारलाई दबाब हुनेछ।
बैशाख मसान्तसम्म लक्ष्यभन्दा १३ अर्ब कम राजश्व उठाएको सरकारले आगामी दिनमा राजश्व प्रशासन दबाबमा पर्ने भएको छ।
अर्थम मन्त्रालयका अनुसार जेठ ५ गतेसम्म सरकारको राजश्व खातामा ५ खर्ब ७५ अर्ब रुपैयाँ जम्मा भएको छ। जुन बैशाख मसान्तको लक्ष्यभन्दा कम हो। बैशाख मसान्तसम्म सरकारले ५ खर्ब ७८ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो।
यो वर्ष कूल ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको सरकारका लागि अबका ४७ दिनमा १ खर्ब ५४ अर्ब रुपैयाँ संकलन हुनुपर्ने छ। जुन प्रत्येक दिन ३ अर्ब भन्दा बढी उठ्नुपर्ने छ।
एकातिर बैदेशिक सहयोगपनि लक्ष्यअनुसार प्राप्त नभएको र अर्कोतिर राजश्व पनि लक्ष्यअनुसार नउठ्ने भएको छ।
राजश्व लक्ष्यअनुसार नउठ्ने भएपनि खर्च नभएर थन्किएका कतिपय सरकारी कोषको रकम राजश्व खातामा ल्याउने तयारीमा अर्थ मन्त्रालय रहेको अधिकारीहरुको भनाइ छ।
अनुगमन र परीक्षणको प्रणाली विकास नहुँदा व्यवासयीहरुले आयकर लगायतका कर छली गरिरहेको र अर्कोतिर गाडीको आयात कम हुँदा भन्सार राजश्व नै प्रभावित भएको अर्थ मन्त्रालयका अधिकारीहरुको भनाइ छ।