भारतले नेपालको बागमती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागि १८ करोड ७४ लाख आर्थिक सहायता उपलब्ध गराएको छ।
नेपालका लागि भारतीय राजदूत मंजिवसिंह पुरीले मंगलबार एक कार्यक्रमकाबीच उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनलाई १८ करोड ७४ लाखको चेक हस्तान्तरण गरेका हुन्।
तराई, मधेशमा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माणको काममा भारत सरकारले थप आर्थिक सहायता उपलब्ध गराएको मन्त्री पुनले जानकारी दिए।
उनले नदी तालिमसहितको तटबन्ध निर्माण कार्यले नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौं सर्वसाधारणलाई लाभ पुर्याउने विश्वास पनि व्यक्त गरे।
भारत सरकारले नेपाललाई हालसम्म नदी तालिम र तटबन्ध निर्माणका लागि किस्ताबन्दीमा ४ अर्ब ६८ करोड रकम उपलब्ध गराइसकेको छ। नेपालका लागि भारतीय राजदूत पुरीले भारत सरकार नेपालसँग नदी नियन्त्रण, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनमा निकट रहेर काम गर्न प्रतिबद्ध रहेको बताए।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव सञ्जय शर्मासहितको उपस्थिति रहेको थियो।