नेपाल टेलिकम रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटिटिएच (फाइबर टु द होम) प्रविधिमार्फत् एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेको छ।
आइतबारदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ। अब अन्तिम प्राविधिक परीक्षणपछि छिट्टै ग्राहकहरूमा समेत सेवाको सुरुवात गरिने टेलिकमको भनाइ छ।
यसका लागि रुकुमकोटमा दुई वटा एफडिसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ। अब रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आइपिटिभी सेवा उपलब्ध गराउन सकिनेछ।
रुकुमकोटमा रहेका करिब दुई सय सेवाग्राहीलाई पनि एफटिटिएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने टेलिकमले बताएको छ।
यससँगै एफटिटिएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ। अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ। यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ।
एफटिटिएच प्रविधिमार्फत् परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याइ ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र आइपिटिभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी छ।
कम्पनीले यो सेवालाई 'एनटी फाइबर' को नाममा ब्रान्डिङ गरेको छ।
नेपाल टेलिकमले एनटी फाइबर अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराइरहेको छ।