पछिल्लो समय इ–सेवाको नाम लिएर विभिन्न किसिमका ठगीका घटना बढ्दै गएका छन्। ठगी गर्नेहरूले आधिकारिक जस्तो देखिने मोबाइल वा फोन नम्बर, ट्रूकलरमा 'eSewa' लेखिएको नम्बर वा आकर्षक अफर देखाएर प्रयोगकर्ताबाट व्यक्तिगत विवरण, ओटीपी वा सिधै पैसा लिन खोजिरहेका छन्।
यस्ता ठगीबाट बच्ने उपायबारे हामीले इ–सेवाका सिइओ जगदीश खड्कालाई सोधेका छौं।
उनका अनुसार प्रयोगकर्ताहरू ठगीमा पर्नुका तीन मुख्य कारण छन्— लोभ, असावधानी र डर।
लोभ
ठगी गर्नेले प्रयोगकर्तालाई थोरै पैसा पठाएपछि त्यो दोब्बर वा तेब्बर हुने भन्दै विश्वासमा पार्न खोज्छन्। कति ठगहरूले यसरी प्रलोभनमा पारेर सुरूमा थोरै थोरै पैसा लिन्छन् र बढाएर पठाइदिन्छन्। अनि पछि ठूलो पैसा माग्छन्। ठूलो पैसा पाएपछि ती ठग बेपत्ता हुन्छन्।
उदाहरणका लागि, ठगले प्रयोगकर्तालाई भन्छ— पाँच हजार रूपैयाँ पठाइदिनू, बदलामा आठ हजार रूपैयाँ फिर्ता पाइनेछ।
पछिका चरणमा भन्छ— दस हजार पठाउनुभयो भने बाह्र हजार रूपैयाँ फिर्ता पाइन्छ।
र, सुरूमा यसरी पैसा बढाएर पठाइदिन्छ पनि।
'यो विश्वासमा पार्ने तरिका हो। सुरूमा थोरै पैसा माग्ने र पठाउने क्रम चल्छ। अनि पछि ठगले ठूलो रकम माग्छ। प्रयोगकर्ताले पैसा गुमाउँछ,' सिइओ खड्काले भने।
पहिले पैसा बढेर फिर्ता आएको छ भन्ने विश्वासमा मानिसहरूले ठूलो रकम सहजै पठाउँछन्। ठगले पनि सजिलै पैसा पाउँछ।
त्यस्तै तपाईंलाई चिठ्ठा परेको छ, मोबाइल वा अरू महँगा सामान जित्नुभएको छ, यो लिन केही रकम चाहिन्छ भन्दै फोन गर्नेहरू पनि हुन्छन्। ठगहरूले नक्कली भिडिओ वा फोटाहरू देखाएर विश्वासमा पार्न खोज्छन्। प्रयोगकर्ताहरू सामानको लोभमा परेर ठगिन्छन्।
असावधानी
प्रयोगकर्ताले केही आधारभूत सावधानी नअपनाउँदा ठगीको शिकार हुन्छन्।
सिइओ खड्काका अनुसार इ–सेवा वा अन्य कुनै पनि वित्तीय संस्थाले कहिल्यै पनि प्रयोगकर्तालाई फोन गरेर, इमेल गरेर, म्यासेज पठाएर वा कुनै पनि माध्यमबाट नागरिकता नम्बर, फोन नम्बर वा ओटीपी माग्दैन।
'कुनै एसएमएस, फोन कल वा इमेलमा यस्तो माग आएमा त्यो नखोल्नुहोस्, नहेर्नुहोस्, जबाफ नदिनुहोस्,' खड्काले भने।
उदाहरणका लागि, इ–सेवा वा कुनै वित्तीय संस्थाको नामबाट फोन आयो र भन्यो — तपाईंको ई–सेवा अकाउन्टमा समस्या छ। लिंकमा क्लिक गर्नुहोस्।
'इ–सेवाले कहिल्यै पनि यसरी जानकारी वा विवरण माग्दैन। अकाउन्टमा समस्या छ वा अरू केही कुरा भन्दै अनजान लिंक पठाउँदैन। यस्तो लिंक खोल्नुभयो वा आफ्नो जानकारी दिनुभयो भने ठगी हुने जोखिम बढ्छ। इ–सेवालाई आधिकारिक वेबसाइट वा नम्बरमा मात्र सम्पर्क गर्नुहोस्। कसैले इ–सेवाबाट भन्दै फोन गरेमा उसलाई केही जानकारी नदिनुहोस्। केही नभन्नुहोस्। आफूले आधिकारिक फोन नम्बरमा फोन गरेर सोध्नुहोस्।'
ट्रुकलर वा यस्तै अन्य एपमा देखिने इ–सेवा वा आधिकारिक व्यक्ति/संस्थाको नाम देखिए पनि भरोसा नगर्नुहोस्। किनभने ट्रुकलरहरूमा नाम जोकोहीले आफै, जे पनि राख्न मिल्छ।
त्यस्तै असावधानी भावनात्मक कारणले पनि हुन्छ।
प्रेम वा अन्य सम्बन्ध गाँसेर पनि ठगी गर्नेहरू बढिरहेका छन्।
उदाहरणका लागि, एक पुरूषले एक महिलासँग अनलाइनबाट प्रेम सम्बन्ध गाँसे। माया देखाएर विश्वास जिते। उपहार पठाए।
पछि फोन गरेर मलाई तत्काल पैसाको आवश्यकता छ, नभए समस्या हुन्छ भने। विश्वासमा परेकी महिलाले यहाँबाट पैसा पठाइदिइन्। पैसा ठगेपछि पुरूष बेपत्ता भए।
'अर्को घटनामा वृद्ध महिलालाई आमा भन्दै धर्मपुत्र बनेको युवकले भावनामा खेलेर पैसा माग्यो। वृद्ध महिलाले दुई लाख रूपैयाँ पठाइन्। पछि ठग सम्पर्कबिहीन भयो,' खड्काले उदाहरण दिँदै भने, 'प्रेम, भरोसा, सम्बन्ध विस्तार गरेर ठगी गर्नेहरू पनि बढेका छन्।'
डर
ठगहरूले डर देखाएर पनि प्रयोगकर्तालाई पैसा पठाउन बाध्य पार्छन्।
उदाहरणका लागि, फोन गरेर भन्छ — तपाईंको अकाउन्टमा ठूलो समस्या छ। तुरून्त पैसा हाल्नुहोस्, नभए खाता ब्लक हुन्छ।
'यस्तो डर देखाएर पैसा माग्ने तरिकाले प्रयोगकर्तालाई सजिलै ठगीमा पार्छ,' खड्काले भने, 'याद राख्नुहोस् इ–सेवा यस्तो कहिल्यै पनि गर्दैन। धम्की, डर वा निःशुल्क पैसा भन्दै पैसा पठाउन भन्दैन। कुनै पनि प्रयोगकर्तासँग केही बहानामा पैसा माग्दैन।'
यसरी ठगीबाट बच्ने उपाय भनेको लोभमा नपर्नु, सावधानी अपनाउनु र डरमा नपर्नु नै हो।
साथै, लिंक, फोन कल वा एसएमएसमार्फत आएका अनुरोधमा क्लिक गर्नु हुँदैन। उनीहरूले भने अनुसार गरिहाल्न हुँदैन। पहिले आधिकारिक वेबसाइट वा प्रमाणित नम्बरमा सम्पर्क गर्नुपर्छ।
त्यस्तै, भावनात्मक रूपमा फसाएर वा डर देखाएर पैसा माग्नेहरूमाथि विश्वास गर्नु हुँदैन।
'कुनै पनि अफर, पैसा वा आकर्षक अवसर छ भन्नेहरूको विश्वास नगर्नु, डर र लोभमा नपर्नु नै बच्ने उपाय हो,' सिइओ खड्काले भने, 'यति गर्दा तपाईंको पैसा सुरक्षित हुन्छ।'