ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरेर गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्कमार्फत् सूचना महामार्ग निर्माण गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको अध्यक्षतामा प्राधिकरणका अध्यक्ष पुरेन्द्र भण्डारी र टेलिकमका महाप्रबन्धक प्रज्वल निश्चलले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
मिडहिल परियोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र समग्रतर्फका प्रमुख लोकमार्ग हुँदै करिब एक हजार ९ सय किलोमिटर लामो अप्टिकल फाइबर नेटवर्क बिछ्याइने छ।
नेपाल टेलिकमले प्राधिकरणमा विस्तृत परियोजना प्रतिवेदन तीन महिनाभित्र बुझाउने र १२० दिनभित्र आयोजना कार्यान्वयन सम्पन्न गर्नुपर्ने उल्लेख छ।
मन्त्री गुरूङले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार सरकारको प्राथमिकतामा रहेको भन्दै तोकिएको समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएका छन्।
यस परियोजनाबाट गण्डकी र लुम्बिनीका १९४ स्थानीय पालिकामा उच्च गतिका सूचना सेवाहरू उपलब्ध हुने, डिजिटल खाडल कम हुने तथा सर्वसुलभ र भरपर्दो रूपमा दूरसञ्चार तथा सूचना सेवा विस्तार हुने अपेक्षा गरिएको छ।