एनसेल आजियटा लिमिटेडले एनसेलमा रहेको सेयर बिक्री गरेको तथा बेलायतको स्पेक्ट्रलाइट युकेले खरिद गरेको सेयर खरिदबिक्री सम्झौताको कागजपत्र सरकारलाई उपलब्ध गराएको छ।
बुधबार नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई कागजपत्र बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
आजियटाले आफ्नो नाममा रहेको ८० प्रतिशत नै सेयर स्पेक्ट्रलाइटलाई बिक्री गरेको जानकारी मंसिर १३ गते सार्वजनिक गरेको थियो।
'आज मात्रै सेयर खरिदबिक्रीसम्बन्धी कागजपत्र उपलब्ध गराएको छ, अध्ययन गर्न भने बाँकी छ,' प्रवक्ता पौडेलले भने।
दूरसञ्चार प्राधिकरणबाट स्वीकृति लिएर खरिद बिक्री गर्नु पर्नेमा आजियटाले जानकारी नै नगराई सेयर बिक्री गरेको थियो। सेयर खरिदबिक्रीको सूचना बाहिरिएसँगै प्राधिकरणले कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको थियो।
यसअघि प्राधिकरणले पठाएको पत्रको जवाफ फर्काउँदै समझदारीका कागजपत्रहरू संकलनको क्रममा रहेको एनसेलले जनाएको थियो। त्यसको १५ दिनपछि एनसेलले कागजपत्र उपलब्ध गराएको प्राधिकरणले जानकारी गराएको हो।
संसदीय समितिहरूले सेयर खरिदबिक्री यथास्थितिमा अघि नबढाउन निर्देशन दिएका छन्। यस्तै सर्वोच्चले एनसेलसँग लिखित जवाफ मागेको छ। पुस १६ गते दुवै पक्षलाई छलफलका लागि सर्वोच्चले डाकेको छ।