नेपाली सर्ट भिडिओ सेयरिङ प्लेटफर्म 'रमाइलो' मोबाइल एप अब आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ।
आइफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट डाउनलोड गरी चलाउन सकिने रमाइलो एपका सह-संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सिइओ) गृहेन्द्र घिमिरेले जानकारी दिए। यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउने गरेकोमा अब भने आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको हो।
टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडिओहरू सेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप एन्ड्रोइड भर्सनमा करिब दुई सातामै एक लाखभन्दा बढीपटक डाउनलोड भएको छ।
आइफोन प्रयोगकर्ताहरूले पनि यो एप रूचाउने विश्वास लिइएको सिइओ घिमिरे बताउँछन्।
'आइफोन प्रयोगकर्ताहरूले रमाइलोबारे धेरै नै चासो देखाउनुभएको छ। उहाँहरूका लागि पनि अब एप उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं,' उनले भने।
रमाइलो एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता रहेको उनले जानकारी दिए।
पछिल्ला दिनमा निकै रूचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ।
एपमा अहिले डार्क मोड, सर्ट्स लगायत अन्य फिचर थपिएको घिमिरेले जानकारी दिए। यसबाहेक आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आइडी भेरिफाइड गर्ने जस्ता फिचरहरू सार्वजनिक गरिएको छ।
कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ।
रमाइलो एप http://bit.ly/3RyjaOs लिंकमा क्लिक गरी गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ।