मलेसियाको आजियाटा समूहले एनसेलको सेयर बिक्रीमा दूरसञ्चार प्राधिकरणबाट अनुमति नलिएको पाइएको छ।
शुक्रबार बिहान मात्रै अनुमति लिएर कारोबार गर्न प्राधिकरणले सचेत गराएको थियो।
'बुधबार बिक्रीको घोषणा गरिएपछि हामीले यस विषयमा एनसेललाई अनुमति लिएर कारोबार गर्न पत्र पठाएका थियौं, अहिले कारोबार नै भयो भन्ने सूचना आयो' दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले सेतोपाटीसँग भने।
शुक्रबार प्राधिकरणले पठाएको पत्रमा भनिएको छ, ‘आजियाटाको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको सार्वजनिक सञ्चार माध्यमबाट भएको छ। प्रकाशित समाचारको विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ।’
दूरसञ्चार नियमावली २०५४ को नियम १४ मा यस्तो स्वीकृति लिनुपर्ने व्यवस्था छ।
आजियाटा समूहले बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई शुक्रबार एनसेलको ८० प्रतिशत सेयर बेचेको छ। स्पेक्ट्रलाइटले यस्तो सेयर खरिद गरेको घोषणा गर्न पाउनु खुसीको कुरा भएको जनाएको छ।
‘एनसेलको सेयर प्राप्तिको लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्पेक्ट्रलाइट खुसी छ,’ कम्पनीका सञ्चालक सतिशलाल आचार्यले भनेका छन्, ‘दूरसञ्चार क्षेत्रमा रहेको मेरो अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्नेछु।’
व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको थियो। बाहिरिएसँगै आजियाटाले कम्पनी बिक्रीमा राखेको थियो।
यो पनि:
आजियाटा बाहिरिएसँगै एनसेलमा भित्रियो स्पेक्ट्रलाइट