नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडिओहरूका लागि सार्वजनिक भई केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन:सञ्चालनमा आएको छ।
गुगल प्ले स्टोरका केही शर्त पूरा हुन बाँकी भएकाले केही दिन रोकिएको सो एप शर्त पूरा गरी फेरि सञ्चालनमा ल्याइएको कम्पनीले प्रेस नोट जारी गरी जानकारी दिएको छ।
नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एप केही समयमै लोकप्रिय बन्न पुगेको छ।
कम्पनीका अनुसार एप सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी पटक डाउनलोड भएको थियो। जसकारण नेपालको इतिहासमै यो एप सबैभन्दा छिटो धेरै डाउनलोड भएको समेत कम्पनीको दाबी छ।
यस एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत कम्पनीले दिएको छ।
कम्पनीले केही दिनमै एपस्टोरमा पनि रमाइलो एपलाई उपलब्ध गराने जनाएको छ। साथै, प्रयोगकर्ताको सुझावअनुसार निरन्तर एपको विकास गर्दै लैजाने कम्पनीको भनाइ छ। कम्पनीले एपमा केही समस्या देखा परेमा कम्पनीलाई खबर गर्न समेत आग्रह गरेको छ।
आफ्नो मोबाइलमा रमाइलो एप चलाउन https://bit.ly/ramailoshortvideosapp लिंकमार्फत् इन्स्टल गर्न सकिन्छ।