राष्ट्रिय परिचयपत्र प्राप्त गर्नेको संख्या १५ लाख नाघेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म नेपालको विभिन्न जिल्लाका १५ लाख ६४ हजार पाँच सयभन्दा बढी मानिसले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका छन्।
विभागकी शाखा अधिकृत प्रमिला रिजालका अनुसार हालसम्म विभागबाट २३ लाख ८४ हजार सात सय ७४ वटा परिचयपत्र छापिएको छ।
'विभागबाट १५ लाख बढी परिचयपत्र जिल्ला प्रशासन कार्यालय पठाइसकेका छौं। अहिले ७७ जिल्ला प्रशासन कार्यालयहरूबाट कार्ड वितरण भइरहेको छ,' शाखा अधिकृत रिजालले भनिन्, 'केही जिल्लाहरूमा दर्तासम्बन्धी तालिम पनि सञ्चालन हुँदैछ।'
उनका अनुसार परिचयपत्रको लागि भने एक करोड ३४ लाख १२ हजार सेवाग्राहीले विवरण दर्ता गराएका छन्।
राष्ट्रिय परिचयपत्र व्यक्तिको परिचय प्रमाणीकरणको डिजिटल समाधान हो। नागरिकको फोटो सहितको स्मार्ट कार्डमा व्यक्तिगत विवरण तथा बायोमेट्रिक विवरण (आँखाको नानीको फोटो, १० औंलाको छाप र विद्युतीय हस्ताक्षर) समावेश हुन्छ।
परिचयपत्रको लागि विवरण बुझाएको २४ घण्टा भित्र व्यक्तिले राष्ट्रिय परिचयपत्र नम्बर (एनआइएन) प्राप्त गर्न गर्छन्। कार्ड उपलब्ध नभएसम्म आवश्यक परेका ठाउँमा सोही एनआइएन भए पुग्छ।
एनआइएन विभागबाट प्रदान गरिने १० अंकको नदोहोरिने पृथक नम्बर हो। परिचयपत्र आवश्यक पर्ने स्थानहरूमा यही एनआइएन नम्बर बुझाए पुग्छ।
राज्यबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा जस्तै राहदानी लिन, सामाजिक सुरक्षा भत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न, सम्पत्ति खरिद-बिक्री गर्न, व्यक्तिगत घटना दर्ता गर्न र बैंकमा खाता खोल्न तथा कारोबार गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भनिएको छ। साथै मोबाइलको सिमकार्ड लिनको लागि समेत भविष्यमा राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने हुन्छ।
यी क्षेत्रमध्ये हाल राहदानी लिनुपर्दा भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।