इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले 'डिजिटल ट्रान्सफर्मेसन अवार्ड' पाएको छ। एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले गत मंगलबार दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो।
एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए। कर्णाली लगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन महत्त्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो।
एसोसिओमा न्युजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिंगापुर, चीन, नेपाल लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका संघ-संस्था सदस्य छन्।
यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरूलाई प्रदान गरिँदै आएको छ। वर्ल्डलिंक यसअघि सन् २०१८ मा एसोसिओको 'इन्टर्नेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन' अवार्डबाट सम्मानित भइसकेको छ।
सन् १९९५ तिर नेपालमा भर्खंरै इन्टरनेट सुरू भएको बेला 'डिजिटल डिभाइड' अर्थात् डिजिटल विभेदलाई कम गर्ने स्पष्ट उद्देश्यका साथ वर्ल्डलिंक बजार प्रवेश गरेको थियो।
शैक्षिक संस्था, व्यवसाय र आम सर्वसाधारणका लागि कनेक्टिभिटीको टुल उपलब्ध गराउँदै आएको कम्पनीले हाल इन्टरनेटको पहुँचबाट वञ्चित अति विकट तथा दुर्गम क्षेत्रमा समेत आफ्नो सेवा पुर्याएको छ।
देशका आठ लाखभन्दा बढी घरधुरीलाई इन्टरनेट सेवामा जोड्न सफल वर्ल्डलिंकको सेवा देशका हिमाली, पहाडी र तराईं क्षेत्रसम्म फैलिएको छ। नेपालको इन्टरनेट सेवामा मेरुण्डको रूपमा स्थापित भएको वर्ल्डलिंकले नेपालको डिजिटल रूपान्तरणमा आफूलाई अग्रस्थानमा उभ्याउन समेत सफल भएको कम्पनीको दाबी छ।