एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।
कात्तिक १७ गतेको विनाशकारी भूकम्पपछि एक जिम्मेबार अत्यावश्यक सेवा प्रदायकका रूपमा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रूकुम (पश्चिम) र रूकुम (पूर्व)मा रहेका ग्राहकहरूलाई ४० लाख रूपैयाँ ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराएको थियो।
एनसेलले बिहीबार आफ्नो प्रतिवद्धता अनुरूप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलय सुर्खेत पुगेर ५० लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ।
चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्री कृष्ण बहादुर बिसीलाई एक कार्यक्रम माझ हस्तान्तरण गरेका थिए।
'विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद। यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत, पुनर्स्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठूलो अर्थ राख्दछ,' पर्यटन मन्त्री कृष्ण बहादुर बिसीले भने।