हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटाले सम्मान गरेको छ।
पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन्।
यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो। यस बाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।
एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौं। यो जित नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो। पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो।'
पलेशाले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशको लागि कास्य पदक ल्याउन सफल भएकी थिइन्।
यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरि विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरुले आफ्नो देशको प्रतिनिधित्व गरेका थिए।
देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरू पार गदै आफ्नो सपनाप्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरूकोे खेल प्रतिको लगनशिलता र इच्छा शक्तिको एनसेलले सम्मान गर्ने बताएको छ।