एनसेल आजियाटाले १८औं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण गरेको छ।
एनसेलले काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं. १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको हो।
यो पहलले समग्र समुदायका लागि स्वास्थ्य वातावरण निर्माणमा योगदान पुर्याउने छ र कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू पूरा गर्न सहयोग गर्नुका साथै सरकार तथा सहरलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न योगदान तथा मद्दत पुर्याउने कम्पनीको भनाइ छ।
बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन्।
कम्पनीको ब्रान्ड वाचा 'आज, भोलि, सधैं सँगै' अन्तर्गत रही वार्षिकोत्सवको थिम 'हामी तपाईंकै लागि'मा
ललितपुर महानगरपालिका, वडा नम्बर १ स्थित बागमती करिडोर रोडको दायाँ बायाँ २०० भन्दा बढी रुख रोपिएका छन्।
एनसेलले आफ्नो नयाँ यात्रा सुरू गर्दै गर्दा 'हामी तपाईंकै लागि' थिमले एनसेल नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्छ।
वृक्षारोपण कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'मलाई लाग्छ हाम्रो जीवनमा तीन वटा कुरा महत्वपूर्ण छन्-घर बनाउने, बच्चा हुर्काउने र रुख रोप्ने। सहरमा हरियाली प्रवर्द्घन र विकासका लागि यस पहलमा ललितपुर महानगरपाललिकासँग हातेमालो गर्न पाएकोमा म आज निकै गौरवान्वित छु।'
'दिगो विकासका लक्ष्य, आजियाटा समूहको इएसजी फ्रेमवर्क तथा नेट जिरो कार्बन कमिटमेन्ट अन्तर्गत वातावरण संरक्षण र जलवायु परिवर्तन एनसेलको सामाजिक पहलको प्राथकितामा पर्छ,' उनले थपे।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि विगत दुई वर्षदेखि एनसेलसँग सहकार्य गर्दै आएको बताए।
'यस वृक्षारोपणको लागि महानगरपालिका र वडा १ को तर्फबाट म एनसेललाई धन्यवाद दिन चाहन्छु। हाम्रो सहकार्यलाई निरन्तरता दिँदै बागमती करिडोरमा यो वृक्षारोपण गर्न पाउँदा हामी धेरै खुसी छौं र यस्ता असल कार्यका लागि अन्य आवश्यक सहयोग गर्न पनि हामी प्रतिबद्ध छौं,' उनले भने।
एनसेलले वन तथा भू–संरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण र मर्मत सम्भार गर्ने कार्य गर्दै आइरहेको छ।
'हामी तपाईंकै लागि' थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरूको पनि आयोजना गरिने एनसेलको भनाइ छ।
त्यस्ता कार्यक्रमहरूमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरूसँग अन्तर्क्रिया गर्न सेलिब्रेटीहरूको एनसेल सेन्टरहरूमा भ्रमणलगायत रहेका छन्।
एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडिजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरू गर्दै आएको छ।
औद्योगिक व्यावसायिक नियमावलीले पनि व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ।