एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ।
१८ औं वार्षिकोत्सव मनाउँदै एनसेलले 'हामी तपाईंकै लागि' नारा समेत सार्वजनिक गरेको छ।
यस नाराअन्तर्गत एनसेलले सामाजिक कार्यहरूलाई अगाडि बढाउन र नेपालमा समुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरूको घोषणा गरेको छ।
एनसेलले आफ्नो वार्षिकउत्सव विशेष ग्राहकहरूको लागि आकर्षक अफरहरू पनि ल्याएको छ। कम्पनीले प्रत्येक ग्राहक विजेता बन्ने 'हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज' अफर ल्याएको हो। यसमा सहभागी ग्राहकले २८ दिनसम्म केही न केही सेवा सर्प्राइज लोयल्टी गिफ्ट पाउनेछन्।
अफरमा सहभागी हुन एनसेल सिम प्रयोगकर्ताले *१७११७# डायल गर्नुपर्ने हुन्छ। डायल गरेपछि ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ। दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन्।
साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ र एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनु पर्नेछ।
यसबाहेक आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) र 'हामी तपाईंकै लागि' नारा अन्तर्गत एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा गरेको छ। यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्ने जनाएको छ।
यस सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरूको समग्र तालिम र विकासका लागि उनीहरूलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
यसका साथै एनसेलले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागु हुने सामाजिक पहल 'एटिन फर एटिन' अर्थात १८ का लागि १८ कार्यक्रम सुरू गरेको पनि घोषणा गरेको छ। यस अन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ। ईच्छुक संस्थाहरूले एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्।
निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना १० लाख रुपैयाँ प्रदान गर्ने बताएको छ।
दीगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ।
विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरूका सामाजिक परियोजनाहरुमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ।
सबैभन्दा ठूलो करदातामध्ये एकका रूपमा समेत एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको छ।
कम्पनीले आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर र शुल्कहरू बापत दुई खर्ब ८३ अर्बभन्दा बढी कर तिरिसकेको छ।
वार्षिकोउत्सवकै अवसरमा 'हामी तपाईंकै लागि' नारा अनुरुप एनसेलले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभको इन्स्टाग्राम खाता @ncellceo खोलेको र सो खातामार्फत सर्वसाधारणले सिइओसँग सिधै सम्पर्क गर्न सक्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार 'हामी तपाईंकै लागि' योजना अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरूको पनि आयोजना गरिनेछन्। मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरूसँग अन्तर्क्रिया गर्न सेलिब्रेटीहरूको एनसेल सेन्टरहरूमा भ्रमण लगायतका कार्यक्रमहरू आयोजना गरिने बताइएको छ।
सन् २००५ को सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरू गरेको हो। त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा परिवर्तन ल्याएको छ। अहिले देशभर एनसेलको एक करोड ६० लाखभन्दा बढी ग्राहकहरू छन्।