एप्पलले आज आइफोन १५ सिरिज सार्वजनिक गर्दैछ। कम्पनीले मंगलबार एप्पल इभेन्टमा आइफोन १५ सिरिज सार्वजनिक गर्ने भएको हो।
एप्पलको आइफोन १५ विश्व बजारको निकै प्रतिक्षित सिरिज हो। 'वन्डरलस्ट' ट्यागलाइनसहित हुन गइरहेको एप्पल इभेन्ट नेपाली समय अनुसार बेलुकी १० बजेर ४५ मिनेटमा सुरू हुनेछ।
एप्पल इभेन्टको लाइभ कम्पनीको आधिकारिक वेबसाइट अथवा युट्युबबाट हेर्न सकिनेछ। एप्पल इभेन्ट २०२३ क्यालिफोर्नियास्थित स्टिभ जब्स थ्रियटरमा हुनेछ।
कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गर्ने अपेक्षा छ। यससँगै एप्पल वाच अल्ट्रा २, एप्पल वाच सिरिज ९, युएसबी-सी चार्जर समर्थन गर्ने एयरपड्स र आइओएस १७ अपडेटहरू पनि सार्वजनिक हुने अनुमान छ।
सार्वजनिक हुने नयाँ आइफोन १५ ले युएसबी-सी चार्जिङ पोर्ट समर्थन गर्ने बताइएको छ। यसभन्दा अघिसम्म आइफोन सिरिजले लाइटनिङ पोर्ट समर्थन गर्थ्यो। त्यस्तै आइफोन १५ र आइफोन १५ प्रोमा मा ६.१ इन्चको ओएलइडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट पाउन सकिने अनुमान छ।
यसबाहेक आइफोन १५ प्लस र आइफोन १५ प्रो म्याक्समा ६.७ इन्चको ओएलइडी डिस्प्ले हुने अनुमान छ। आइफोन १५ र आइफोन १५ प्लसमा ए-१६ वायोनिक प्रोसेसर र, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्समा ए१७ प्रोसेसर हुने अनुमान छ।
आइफोन १५ १२८ जिबी र २५६ जिबी स्टोरेज विकल्पमा उपलब्ध हुने बताइएको छ भने आइफोन १५ प्लस यीबाहेक ५१२ जिबी स्टोरेज भएको मोडलमा समेत उपलब्ध हुने अनुमान छ। यसबाहेक आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स १ टिबी क्षमतासम्ममा उपलब्ध हुने अनुमान छ।
आइफोन १५ र आइफोन १५ प्लसमा ४८ मेगापिक्सलको डुअल क्यामेरा हुने बताइएको छ। आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्समा भने ४८ मेगापिक्सलको त्रिपल क्यामेरा हुने अनुमान छ।
भारतीय सञ्चार माध्यमहरूले आइफोन १५ को मूल्य ७४९ अमेरिकी डलर (भारु ६२ हजार), आइफोन १५ प्लसको मूल्य ८४९ अमेरिकी डलर (भारु ७० हजार), आइफोन १५ प्रोको मूल्य १,०९९ अमेरिकी डलर (भारु ९१ हजार) र आइफोन प्रो म्याक्सको मूल्य १,२९९ (भारु १ लाख ७ हजार) अनुमान गरिएको छ।