राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच विद्युतीय माध्यमबाट भुक्तानी प्रणाली व्यवस्थापन गर्न एनसीएचएलका सम्झौता भएको छ।
सामाजिक सुरक्षा भत्ता वितरण लगायत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरू प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको हो।
यसका लागि विभागका निर्देशक दिल कुमार तामाङ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले दुवै संस्थाका विभिन्न पदाधिकारीहरूको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
हाल इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको (इएफटी)मार्फत सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी वितरण गर्ने कार्यको थालनी भइसकेको छ।
विभागमा ३७ लाख भन्दा बढी लाभग्राहीहरू आबद्ध छन्। जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ।
सम्झौता पश्चात लाभग्राहीहरूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको साथै अन्य विभिन्न गैर वित्तीय जानकारीहरू समेत प्राप्त हुने व्यवस्थाको परिकल्पना अनुरूप लाभग्राहीको खाता सम्बन्धी विवरण रुजु गर्ने, लाभग्राहीको नयाँ बैंक खाता खोल्ने, बैंक खातामा रकम जम्मा गर्ने, बैंक खाताबाट रकम निकालेको विवरण, लाभग्राहीको ग्राहक पहिचान विवरणको अवस्था, लगतकट्टा र हिसाब मिलान गर्ने लगायतका सेवाहरू एनसीएचएलमार्फत उपलब्ध हुनेछन्।
यस कार्यका लागि एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेश अन्तर्गतका विभिन्न उपकरणहरूको प्रयोग हुने र कारोबार सोझै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआइमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन्। पिएसपी, पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरू लगायतका सयभन्दा बढी गैरबैंकिङ संस्थाहरू अप्रत्यक्ष प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।
मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरूमा भुक्तानी कारोबारहरूलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरू सञ्चालनमा छन्।
विभागले नागरिकहरूको पहिचान र हितका लागि सामाजिक सुरक्षा अन्तर्गत नगद प्रवाह र व्यक्तिहरूको डिजिटल पहिचान स्थापना गर्न राष्ट्रिय परिचयपत्र वितरण गर्नुका साथै व्यक्तिगत घटना दर्ता लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ।