राकुटेन भाइबरले आन्तरिक यात्रालाई सहयोग गर्ने उद्देश्यले सस्तो टिकट्स कम्पनीसँग सहकार्य गरेको छ।
दुई कम्पनीले सहकार्यमा 'सस्तो टिकट्स्' च्याटबट सुरू गर्ने भएका हुन्।
च्याटबटमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराउने भाइबरले जनाएको छ।
भाइबरका अनुसार यो प्लेटफर्मले सुलभ दरमा टिकट उपलब्ध गराउने छ। त्यस्तै यसमा थुप्रै अफरहरू पनि छन्।
बम्पर अफरअन्तर्गत उडान र आवासको पूर्ण सुविधासहित दुई जनाका लागि थाइल्यान्ड यात्रा छ। त्यस्तै दुई-तर्फी आन्तरिक उडान टिकटहरूमा १५ जोडी यात्रुलाई राउन्ड-ट्रिप टिकट दिने विशेष अफर छ।
पोखराका होटल र रिसोर्टमा बस्दा १५ प्रतिशत छुट, पाँच जनालाई माउन्टेन फ्लाइट र हरेकका एक/एक साथीले चार्टर्ड उडानमार्फत् हिमालको दृश्यावलोकन गर्न पाउने भाइबरले जनाएको छ।
त्यस्तै यो च्याटबटमा भएको 'क्विज' र अन्तर्क्रियात्मक गतिविधिहरूमा संलग्न हुन पनि सकिनेछ।
सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सिइओ सम्राट दाहालले भाइबरसँगको नयाँ सहकार्यबाट प्रयोगकर्ताका लागि आकर्षक यात्रा अवसरहरू ल्याएको बताए।
त्यस्तै राकुटेन भाइबरका लागि एसिया प्यासिफिकका सिनियर डाइरेक्टर डेभिड चेलेले सस्तो टिकट्ससँगको नयाँ साझेदारीले स्थानीय पर्यटनलाई बढावा दिने विश्वास रहेको बताए।
सस्तो टिकट्स च्याटबट अगस्ट २९, २०२३ मा सार्वजनिक हुने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरू भाइबरमा सस्तो टिकट्स सर्च गरी च्याटबटमा जोडिन सक्नेछन्।